श्रम तथा रोजगारमा बिचौलियाको बिगबिगी

लालप्रसाद शर्मा

पोखरा — हालैको एक दिन कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी राजेश पन्थी क्वार्टरबाट पैदलै कार्यालयतर्फ जाँदै थिए । जिल्ला प्रशासनसँगैको जिल्ला समन्वय समिति भवनमा रहेको श्रम तथा रोजगार कार्यालयको गेटअघि चहलपहल बढेको थियो ।

श्रम तथा रोजगारमा बिचौलियाको बिगबिगी

यक्तिकैमा केही व्यत्ति श्रम हो, श्रम हो भन्दै अन्य व्यक्तिलाई तानतान र हारालुछ गरेका थिए । के रहेछ भनेर बुझदै जाँदा बिचौलिया भन्ने थाहा भयो । ‘आफैंले देखेपछि बिचौलियाको बिगबिगी बढेछ भन्ने लाग्यो’, सहायक प्रजिअ पन्थीले भने, ‘त्यसपछि श्रम तथा रोजगार कार्यालयका प्रमुखलाई बोलाएर बुझ्ने र बिचौलिया हटाउने काम गर्न निर्देशन दिएका छौं । अब अनुगमनको तयारीमा छौं ।’


यो एउटा दृश्य मात्र हो । श्रम तथा रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई पुनः श्रम स्वीकृति पोखराबाट पनि दिन थालेसँगै बिचौलियाको बिगबिगी पनि बढेको छ । काठमाडौं केन्द्रित पुनः श्रम स्वीकृतिलाई प्रदेशबाटै दिने सरकारको नीतिअनुसार गण्डकी प्रदेशको राजधानी पोखराबाट पुस २६ देखि सेवा सुरु गरिएको थियो ।


कार्यालयमा अहिले दैनिक ६५ देखि ८० सेवाग्राही आउने गरेका छन् । कुनै दिन १ सय ४ जनासम्म पनि पुगेका कार्यालयले जनाएको छ । छिटो सेवा दिने भन्दै बिचौलियाले जबर्जस्ती तान्ने र रकम असुल्ने गरेको सेवाग्राहीको पनि गुनासो छ । ‘कार्यालयको गेटभित्र छिर्न नपाउँदै बिचौलियाको हारालुछ चल्छ’ एक सेवाग्राहीले भनिन्, ‘के भाको हो यस्तो ? जहाँ गए पनि त्यस्तै ।’


यसैबीच बिचौलियाका कारण आफूहरूको व्यवसायमा धक्का लागेको भन्दै जिल्ला समन्वय समितिको भवनको सटरमा रहेका व्यवसायीले बिचौलिया व्यवस्थापन गर्न भन्दै श्रम तथा रोजगार कार्यालयदेखि समन्वय समितिमा पनि बुधबार निवेदन दिएका छन् ।


‘वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिन आउने सेवाग्राहीको सहजताका लागि अनलाइन फारम भर्दै आएकोमा १०/१५ जना बिचौलियाका कारण व्यवसायमा असर गरेको छ,’ निवेदनमा छ, ‘हामीले स्वतन्त्ररूपमा व्यवसाय गर्न पाएनौं र सेवाग्राहीले पनि सहजरूपमा सेवा लिन पाएनन् ।’


व्यवसायी राजु बराललगायत तीन व्यवसायीले बिचौलियाले बाटोमा बसेर सेवाग्राहीलाई समात्ने काम गरेको र यस्तो कार्यमा १० देखि १५ जनासम्म संलग्न रहेको निवेदनमा उल्लेख गरेका छन् ।


श्रम तथा रोजगार कार्यालयका प्रमुख गणेश श्रेष्ठले बिचौलिया व्यवस्थापनका लागि भन्दै निवेदन आएको बताए । कार्यालयभित्र कुनै पनि बिचौलियालाई छिर्न नदिएको तर बाहिरको कुरा भने आफूलाई थाहा नभएको उनको भनाइ छ । ‘भित्र कोही आउन पाउँदैन । बाहिरको मलाई थाहा हुने कुरा भएन’ उनले भने, ‘कतिपय सेवाग्राहीले फारम भर्न नजान्दा पनि समस्या आएको छ । म काम गरिदिन्छु, मकहाँ आउनुस् भन्नु स्वाभाविक होला ।’


प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले यस विषयमा कुनै लिखित निवेदन परेमा वा श्रम तथा रोजगार कार्यालयले आवश्यक सहयोग गरिदिनु भनेमा बिचौलिया हटाउने बताए । प्रदेशबाटै सेवा पाउँदा खर्च र समयको बचत भएको भन्दै खुसी सेवाग्राही बिचौलियाबाट ठगिन सक्नेतर्फ प्रशासनलगायत सरोकारवालाले ध्यान दिनुपर्ने एक व्यवसायीले बताए ।

प्रकाशित : फाल्गुन ९, २०७५ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?