कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

खानेपानीमा वितरणमा स्मार्ट सिस्टम

यो प्रविधिले बाढीपहिरोको उच्च जोखिम क्षेत्रमा रहेको खानेपानीको मुख्य र वितरण लाइनमा त्रुटि आउनासाथ सञ्चालकको मोबाइलमा साइरन बजाएर संकेत गर्छ ।
घनश्याम खडका,

म्याग्दी — जिल्ला सदरमुकाम बेनीको खानेपानी वितरण प्रणालीमा स्मार्ट वाटरगि्रड सिस्टम लागू गरिने भएको छ । बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अनुसार उक्त परियोजना मुलुकमै नमुना हुनेछ । दक्षिण कोरियाको इन्च्योन विश्वविद्यालय मातहतको 'दी सोसाइटी अफ कोरियन स्मार्ट वाटरगि्रड' संस्थाले नमुना परियोजनाका रूपमा बेनी साना सहरी खानेपानी आयोजनामा उक्त प्रविधि प्रयोग गर्न लागेको हो । 

'यो एक अर्ब डलरको प्रोजेक्ट हो । सम्झौता भए पनि केही प्रक्रिया अझै बाँकी छन्,' बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष सुवास श्रेष्ठले भने, '८० प्रतिशत कोरिया सरकार मातहतको कोइका र २० प्रतिशत नेपाल सरकारका तर्फबाट बेनी नगरपालिका र खानेपानी संस्थानको लगानी रहने सम्झौता छ ।' उक्त प्रविधि कोरियामा सञ्चालनमा रहे पनि दक्षिण एसियाका विकासोन्मुख मुलुकमा आउन बाँकी रहेको उनले बताए ।


यो प्रविधिमा मुहानदेखि उपभोक्ताको घरसम्म सेन्सर सिस्टम जडान हुनेछ । उक्त प्रविधिले बाढीपहिरोको उच्च जोखिम क्षेत्रमा रहेको खानेपानीको मुख्य र वितरण लाइनमा त्रुटि आउनासाथ सञ्चालकको मोबाइलमा साइरन बजाएर संकेत गर्छ । वाटर टि्रटमेन्ट प्लान्ट थप व्यवस्थित गर्ने, मुहानदेखि टयांकीसम्मको मुख्य लाइन पहिरोको जोखिम क्षेत्रमा रहेकाले व्यवस्थापन गर्ने, पानी परीक्षण गर्न प्रयोगशाला बनाउने र उपभोक्ताका घरमा आधुनिक मिटर जडान गरी एपबाट मिटर रिडिङ गर्ने र महसुल भुक्तानी गर्ने व्यवस्था रहने खानेपानी संस्थान बेनीले जनाएको छ ।


१२ वर्षअघि एसियाली विकास बैंकको करिब ५ करोड ऋणमा निर्माण गरिएको बेनी खानेपानी सदरमुकामदेखि उत्तर म्याग्दी र पर्वतको सिमानामा पर्ने पुम्दीखोला र कोप्रेखोलाको मूलबाट उपभोक्ताका घरमा पुर्‍याइएको छ ।


बेनीका एक हजार ३३ घरधुरीका १८ हजार ५ सय ९७ जनालाई खानेपानी वितरण गरेको बेनी खानेपानी उपभोक्ता संस्था एक करोड ६० लाख ऋणमा छ । आयोजनाले प्रतिसेकेन्ड ३२ लिटर पानी ल्याई ४ लाख ७५ हजार लिटर क्षमताको ट्यांकीमा जम्मा गरी नेपाली मापदण्डको गुणस्तरीय खानेपानी वितरण गर्दै आएको छ ।


पछिल्ला वर्ष बेनीको जनसंख्या घटेकाले खानेपानी आयाजनाको क्षमताभन्दा थोरै मात्र पानी प्रयोग भएको छ । '३२ लिटर प्रतिसेकेण्ड पानी आए पनि जम्मा २२ लिटर प्रतिसेकेण्ड मात्र उपभोग भइरहेको छ । बाँकी पानी ओभरफ्लो गरी फालेका छौं' संस्थाका अध्यक्ष सुवास श्रेष्ठले भने, 'खानेपानी गुणस्तर प्रयोगशालाले नेपाल स्ट्यान्डरको खानेपानी भने पनि बेनीको खानेपानी त्यो भन्दा गुणस्तरीय छ ।'

प्रकाशित : फाल्गुन ९, २०७५ १९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?