कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्यार्थी आए, पाठ्यपुस्तक आएन

आश गुरुङ

लमजुङ — हिमाली जिल्ला मनाङमा यही महिनादेखि नयाँ शैक्षिक सत्र सुरु भए पनि पाठ्यपुस्तक आइपुगेको छैन । विद्यार्थीहरू हिउँ छिचोल्दै विद्यालय आउन थाले पनि नयाँ पाठ्यपुस्तकबिनै पढ्न बाध्य रहेको शिक्षकहरूले बताएका छन् । 

विद्यार्थी आए, पाठ्यपुस्तक आएन

विद्यार्थी भर्ना अभियान सुरु भइसके पनि पाठ्यपुस्तक कहिले आउने भनेर टुंगो लागिसकेको छैन । चामे गाउँपालिका–१ तिमाङस्थित गौरीशंकर आधारभूत विद्यालयका प्रधानाध्यापक कमलजंग गुरुङले भने, ‘विद्यार्थी भर्ना हुन आइसके, पाठ्यपुस्तक ल्याउने पसलसँग सम्पर्क गरेको छु । ल्याउँछु–ल्याउँछु भन्छन्, ल्याएका छैनन् ।


नासों गाउँपालिका–५ थोंचेस्थित प्रकाशज्योति माविका प्रधानाध्यापक पद्मराज पन्थीका अनुसार फागुन १ बाटै भर्ना अभियान सुरु गरेपछि विद्यार्थी आउने क्रम जारी रहे पनि पाठ्यपुस्तक भने आएको छैन । नासों गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख शिवप्रसाद ढुंगानाले बिल भरपाईका आधारमा गाउँपालिकाले विद्यालयलाई रकम उपलब्ध गराउने उल्लेख गर्दै पाठ्यपुस्तक भने आइनसकेको बताए ।


उनका अनुसार शिक्षा विकास तथा समन्वय इकाइको अनुमतिमा स्टेसनरीले सीधै विद्यालयलाई पाठ्यपुस्तक दिन्छ । ४ गाउँपालिका रहेको मनाङमा मनाङ ङिस्याङ र नार्पाभूमिका विद्यालयमा पठनपाठन सुरु भएको छैन । चामे गाउँपालिकाका ४ र नासों गाउँपालिकाका ११ गरी १५ विद्यालयमा पठनपाठन सुरु भइसकेको छ ।


शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख खुलानाथ गौतमले पठनपाठन सुरु भइसकेको स्कुलमा छिटो पुस्तक ल्याउन भोटेओडारस्थित सापकोटा स्टेशनरीलाई ताकेता गरिरहेको बताए । ‘आफूलाई चाहिने डाटा पुस्तक पसललाई टिपाउन सबै स्कुललाई भनिसकेको छु । कति भर्ना हुन्छन् भनेर यकिन नभएर पनि हेडसरहरूले डाटा नटिपाएको हुनसक्छ’ उनले भने । पुस्तक पसलले मनाङमा २ पटक पुर्‍याउन गाह्रो हुने भएकाले एकैपटक लैजाने र सबै भेगमा पुर्‍याउने भन्दै आएको उनले बताए ।


चामेस्थित लोकप्रिय माविले अन्य जिल्लासरह वैशाखबाट शैक्षिकसत्र थालेको छ । चैतमा परीक्षा लिने र वैशाखबाट नयाँ शैक्षिक सत्र सञ्चालन गरिने विद्यालयका प्रधानाध्यापक सुरेश थापाले बताए । ‘हामीले अन्य जिल्लासरह शैक्षिक सत्र चलाउन थालेका छौं । सबै स्कुलमा फागुनबाट शैक्षिकसत्र सुरु भए पनि हाम्रोमा वैशाखबाट हुन्छ,’ उनले भने । आवासीय व्यवस्थापनबाट स्कुल चलाउन थालेपछि शैक्षिकसत्र, पठनपाठन व्यवस्थापन फेरिएको उनले बताए ।

सापकोटा स्टेनरीका सञ्चालक ज्ञानहरि सापकोटाका अनुसार माथिल्लो मनाङका स्कुल नखुल्दा पुस्तक पटक–पटक गरी लैजानुपर्ने अवस्था छ । माथिल्लो मनाङ, आवासीय र तल्लो क्षेत्र गरी ३ पटक छुट्टाछुट्टै लानुपर्ने र अहिले बाटो पनि पूर्ण रूपमा नखुलेको खबर आएकाले समस्या भएको उनले बताए ।


‘चामे र नासोंका विद्यालयका लागि प्याक गरेर राखेको छु । माघ २० गते नै पोखराबाट पाठ्यपुस्तक आएको हो’ उनले भने । उनका अनुसार कक्षा १० को अर्थशास्क्र र अतिरित्त गणित विषयको पाठ्यक्रम परिमार्जन भएर आउने भएकाले पनि समस्या भएको उनले बताए । उनका अनुसार माथिल्लो क्षेत्रका विद्यार्थीको तथ्यांक अझै आएको छैन ।

प्रकाशित : फाल्गुन १०, २०७५ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?