१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

स्याङ्जामा स्वास्थ्य बिमा

प्रतीक्षा काफ्ले

स्याङ्जा — विपन्न परिवारलाई न्यून शुल्कमा स्वास्थ्योपचार सेवा उपलब्ध गराउन स्याङ्जामा पनि स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले सुरुमा आफैंले स्वास्थ्य बिमाको सदस्यता लिँदै कार्यक्रम शुभारम्भ भएको घोषणा गरिन् । 

स्वास्थ बिमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले ३९ औं जिल्लाका रूफमा स्याङ्जामा कार्यक्रम लागू गरिएको बताए । यो कार्यत्रम कैलाली जिल्लाबाट सुरु भएको हो ।


यहाँका ११ वटा स्थानीय तहका ९७ वटै वडामा दर्ता कार्यक्रम सुरु भएको स्वास्थ्य बिमा बोर्ड गण्डकी प्रदेश संयोजक जीवलाल खरेलले बताए । गत असारमा स्वास्थ्य बिमाबारे जिल्लाका सरोकारवालासँग छलफल गरिएको बताउँदै उनले आवश्यकताअनुसार कर्मचारी छनोट गरिएको जानकारी दिए ।


छनोट भएका ९७ जनालाई तालिम दिएर वडा–वडामा खटाइएको छ । प्रत्येक स्थानीय तहमा प्रमुख वा अध्यक्षलाई स्वास्थ्य बिमाका लागि संयोजक तोकिएको छ । प्रमुख प्रशासकीय अधिकृत, उपप्रमुख, स्वास्थ्य, शिक्षा शाखाका प्रमुख र दर्ता अधिकारी समितिको सदस्य रहने प्रावधान छ ।


वडास्तर समितिमा वडाध्यक्षलाई संयोजक र वडासचिव तथा स्वास्थ्यचौकी प्रमुखलाई सदस्य तोकिएको छ । उनीहरूको समिति नै दर्ता सहयोगी छनोट समिति हुन्छ । यो समितिले आ–आफ्नो वडाबाट कर्मचारी छनोट गर्ने र छनोटमा परेकालाई फिल्डमा खटाइने प्रमुख खरेलले बताए ।


उनका अनुसार बिमा गराउँदा ५ जनासम्म सदस्य भएको परिवारले २५ सय रुपैयाँ योगदान रकमबापत तिर्नुपर्ने हुन्छ । उक्त परिवारले एक वर्षसम्म ५० हजारसम्मको स्वास्थ्य उपचार सुविधा पाउँछ ।


‘५ जनाभन्दा बढी सदस्य भएमा प्रत्येक सदस्य संख्या अनुसार ४ सय २५ रुपैयाँका दरले थप्दै जानुपर्छ’ उनले भने, ‘६ सदस्य भएमा ६० हजार बराबरको स्वास्थ्य सुविधा लिन पाइन्छ । ७ जना भए ७० हजार र १० जना भए एक लाख रुपैयाँ बराबरको सुविधा लिनेछन् ।’ नेपालको संविधानमा उल्लेख भएअनुसार गुणस्तरीय सेवा दिने सरकारको उद्देश्यले लागू गरिएको बिमा कार्यक्रमअन्तर्गत स्याङ्जा गण्डकी प्रदेशमा छैठौं जिल्लामा पर्छ ।


पहिलोपटक स्वास्थ्य बिमा गरेपछि प्रत्येक वर्ष आफ्नो सेवा अवधि सकिनुभन्दा एक महिनाअगाडि नै नवीकरण गर्नुपर्छ । समयमा नै नवीकरण गरे सरकारी सेवाबाट वञ्चित हुनुनपर्ने खरेलले बताए । उनका अनुसार नवीकरण नगर्नेहरू पुनः सुरुवातको प्रकृयाबाट नै चल्नुपर्ने हुन्छ । स्वास्थ्य उपचारको बिमा ऐनअनुसार बिमा गरेका व्यक्ति बिरामी भए आफूलाई पायक पर्ने स्वास्थ्य संस्था एवं जिल्ला अस्पताल र स्वास्थ्यकेन्द्रबाट प्रथम सेवा लिन सक्छन् ।


त्यहाँ उपचार सम्भव नभएमा बिरामीको अवस्था, रोगको प्रकृतिअनुसार सेवा गर्न सकिने अस्पतालमा रिफर हुनेछन् ।

माघ, फागुन र चैतमा बिमा गर्ने व्यक्तिले जेठ १ देखि सरकारी स्वास्थ्य सेवा पाउने प्रावधान छ । यसैगरी वैशाख, जेठ र असारसम्म दर्ता गर्नेले भदौ १ गतेबाट सेवा पाउनेछन् भने साउन, भदौ र असोजमा दर्ता गराउनेले मंसिर १ बाट सेवा पाउनेछन् । यसरी नै क्रमशः बिमा दर्ताको प्रकृया चक्र घुमिरहने बताइएको छ ।


‘एक नेपालीले अर्को नेपालीलाई, धनीले गरिबलाई, निरोगीले बिरामीलाई, युवाले बालबालिका र वृद्धवृद्धालाई सहयोग गर्ने कार्यक्रम हो’ खरेलले भने, ‘स्वास्थ्य बिमा भर्खर जन्मिएको शिशुदेखि जेष्ठ नागरिकसम्मले गर्न पाउनेछन् । बिमाका लागि कुनै उमेर हेरिँदैन । जातजाति र लिंगको आधारमा विभेद हुने छैन ।’ बिमा कार्यक्रमले नागरिकमा उत्साह छाएको उनले बताए ।

प्रकाशित : फाल्गुन १०, २०७५ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?