उँभौलीका दिन कुर्दै ढोरवासी

कान्तिपुर संवाददाता

बागलुङ — बितेका वर्षहरू फागुनको दोस्रो सातासम्म बोबाङकी दिलु विक ढोरपाटन फर्किसकेकी हुन्थिन् । पशुचौपाया लिएर पाटन पुगेपछि उनीहरू खेतीपातीमा लाग्थे । बालबालिकाको विद्यालय आउजाउको दैनिकी हुन्थ्यो । यसपटक हिउँदमा धेरै हिमपात भयो । हिउँ अझैसम्म पग्लेको छैन ।

चिसो घटना अझै केही साता लाग्ने अनुमान छ । बुर्तिवाङदेखि बोबाङ हुँदै ढोरपाटन पुग्ने सडक खुलाउन नसकेपछि अधिकांश ढोरबासी अझै बेंसीमै छन् । सामुदायिक होटल सञ्चालन गरेका कमल भण्डारीले पनि व्यवसाय गर्न नपाएको बताए । ‘योपल्ट हिउँ ढिला पग्लिने भयो,’ उनले भने, ‘त्यसैले सबैलाई अझै माथि उक्लन दिएको छैन ।’


ढोरपाटन जनवादी आधारभूत र ज्योति विकास मावि लगायतका बिद्यालय पनि बन्द छन् । कक्षा सञ्चालन गर्न नसक्दा बालबालिकाको पढाइमा असर परेको ज्योतिविकासका प्रधानाध्यापक चकबहादुर अदैले बताए । ढोरपाटनमा ७ वटा विद्यालय र २ बाल विकास केन्द्र छन् । ती विद्यालय आउजाउ गर्ने बाटो हिउँले बन्द छ ।


बोबाङदेखि माथि फलियाघरसम्म आउजाउ सहजै भएपनि त्यसभन्दा माथि बाटो ठप्प छ । बाटो बन्द भएकाले बालबालिका र अभिभावक हिँड्न सक्ने अवस्था छैन । जाडोयाममा यहाँका केही बालबालिकाहरू बोबाङ झर्दा नजिकैको ज्ञानोदय माविमा पढ्न जान्छन् । केहीलाई बोबाङमै जनवादी आधारभूतको कक्षा पनि सञ्चालन गरिन्छ ।


तर, अस्थायी रुपमा संचालन भएको विद्यालयमा अनिवार्य आउने कम हुन्छन् । ज्ञानोदयमा विद्यार्थी धेरै भएर कतिपयलाई बस्ने ठाउँ पुग्दैन । ‘आएकालाई पढाउन त बाध्य छौं तर असजिलो छ,’ प्रधानाध्यापक यामबहादुर कायतले भने । फागुन दोस्रो सातासम्म केल उक्लने लर्को सुरु भएपछि बोबाङमा धेरै घर खाली भइसकेका हुन्थे । माथि चिसो नघटेकाले अझै कोही फर्कन नसकेको उनले बताए ।


ढोरपाटन–सालझण्डी सडकको ट्र्याकमा सवारी चल्नै नसक्ने अवस्था छ । पैदलयात्रीले पनि हिउँ छिचोलेर जान असजिलो छ । यो वर्ष पटकपटक गरी माघ र फागुनको पहिलो साता हिउँ परेको थियो । हिउँले ढोरपाटनका सबै बस्ती ढाकेको थियो । चिसो बढेपछि बेंसी झरेका ढोरवासीको उँभौली सडक खुलेपछि मात्र हुनेछ । ‘हिउँ नपग्लेकाले जानै पाइएन,’ विकले भनिन्, ‘बेंसीमा बस्तुभाउलाई घाँस पनि छैन, ढोर जान पाए चरन र घाँसपात पनि हुने थियो ।’ ढोरपाटनमा आलु लगाउने बेला पनि बित्न लागेको उनले बताइन । गत शुक्रबारदेखि दिनभर घाम लाग्न सुरु भएको छ । मौसममा सुधार आए एक सातामै हिउँ पग्लनेछ ।


सडक नखुलेकै कारण ढोरपाटनमै बस्नेहरूले खाद्यान्न ढुवानी पनि गर्न पाएका छैनन् । नेपाली सेनाको ब्यारेक र तिब्बती शरणार्थीहरू चिसोमा पनि ढोरपाटनमै बसेका छन् । उनीहरूका लागि बुर्तिवाङदेखि खाद्यान्न लैजानुपर्छ । अत्यधिक चिसो र हिउँ नपग्लेकै कारण साताअघि यहाँ हिउँचितुवा र डाँफे लगायतका पशुपक्षी मृत अवस्थामा फेला परेका थिए ।


सिकार आरक्ष कार्यालयका कर्मचारी समेत बस्न नसकेका कारण कति पशुपक्षीको क्षति भएको छ भन्ने यकिन छैन । ‘मृत भेटिएका जनावरलाई खाडल खनेर पुर्ने काम भयो,’ प्रमुख संरक्षण अधिकृत सरस्वती सापकोटाले भनिन्, ‘चिसो मौसमका कारण नियमित काम गर्न भने सकिएको छैन ।’ विभाग र मन्त्रालय तथा स्थानीय तहको सहकार्यका काम भने सम्पर्क कार्यालयबाट गरिएको उनले बताइन् ।


ढोरपाटनमा चिसो बढेपछि कात्तिकको अन्तिम सातादेखि मंसिर पहिलो साता सम्ममा अधिकांश बेंसी झर्छन् । हिउँ पग्लेपछि फर्कने उनीहरूले ढोरपाटनमा आलु खेती थाल्ने चलन छ । असारमा भित्र्याइने आलुबाटै धेरैको जीविकोपार्जन हुने गरेको । धेरै किसानले आलु बिक्रीबाटै वर्षेनी २ देखि ५ लाख रुपैयाँसम्म कमाइ गर्छन् ।

प्रकाशित : फाल्गुन १२, २०७५ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?