१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

सर्पदंसको उपचारमा समस्या

कान्तिपुर संवाददाता

नवलपुर — सघन उपचार कक्षको नहुँदा पूर्वी नवलपरासीमा सर्पदंसका घाइतेले अकालमा ज्यान गुमाउनु पर्ने अवस्था छ । विषालु सर्पको बासस्थानका रूपमा परिचित भए पनि उपचारका लागि बाहिरी जिल्लाको भर पर्दा अधिकांशले उपचार अभावमा ज्यान गुमाउनु पर्दछ ।

गर्मी मौसम र वर्षायाम सुरु हुन लागेपछि यस क्षेत्रमा सर्पदंसका बिरामी बढ्ने गर्दछन् । वर्षा लागेसँगै खोलानालामा बाढी आउने र प्वालहरूमा पानी भरिएपछि सर्प बाहिर निस्कने गर्दछन् । खेती लगाउने मौसम हुनाले अधिकांश किसान खेतबारीमा नै हुने र घर वरपरसमेत झाडी मौलाएपछि सर्पको डसाइबाट बर्सेनि सयौं प्रभावित हुने गरेका छन् ।


उपचारका लागि सघन (आइसियु) सेवा भएको अस्पताल आवश्यक परेपनि सो सेवा जिल्लामा उपलब्ध नहुँदा सर्पदंसका बिरामीले दु:ख पाएका छन् । आईसीयूमा उपचार गर्ने बिरामी जिल्लाबाहिर पठाउँदा बाटोमै ज्यान जाने जोखिम रहेको छ । चैतदेखि असोजसम्म नवलपरासीमा विषालु सर्पको टोकाइका बिरामी अत्यधिक हुने गर्दछन् । करेत र गोमन प्रजातिमा सर्पको टोकाइले यहाँका बासिन्दाको ज्यान लिने गरेको सर्पदंस विशेषज्ञ डा. छविलाल थापाले बताए ।


‘जिल्लाको सर्दी, अरुणखोला, चोरमारालगायतका क्षेत्रमा बढी विषालु सर्प भेटिने हुँदा अधिकांश बिरामी सोही क्षेत्रबाट आउँछन् । ’ डा थापाले भने, ‘योबाहेक परासी क्षेत्रको त्रिवेणीमा अझ विषालु रसयल भाइपर प्रजातिको सर्पको टोकाइबाट सर्वसाधारण प्रभावित हुने गरेका छन् ।’


मानिसलाई डस्ने सर्पको पहिचान नहुँदासम्म उपचार सम्भव नहुने र पत्ता लगाउने किटको अभावमा उपचार सम्भव नभएको विशेषज्ञहरूको भनाइ छ । सर्पले टोकेका बिरामीमध्ये १० प्रतिशत मात्र विषालु हुने गर्दछन् । बाँकी ९० प्रतिशत विषालु नभए पनि जिल्लामा उपचार छैन भनेपछि बिरामी र आफन्त आत्तिनाले कतिपय बिरामीलाई ह्दयघातसमेत हुने गरेको छ । बच्चा र बूढाबूढीलाई टोक्दा पहिचानमा समस्या हुँदा उनीहरूको उपचार जटिल हुने चिकित्सकहरू बताउँछन् ।


कालीगण्डकी सामुदायिक अस्पताल कावासोतीमा सर्पदंसको उपचार हुने गरेको छ तर आईसीयू नहुँदा अधिकांश बिरामीलाई भरतपुर पठाउनुपर्ने बाध्यता छ । उपचार सेवा भए पनि विषालु सर्पले डसेका बिरामीलाई सघन उपचार कक्ष आवश्यक पर्दा चितवन र बुटवलका अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता छ । उपचार नभएपछि सीधै बाहिरी जिल्लामा बिरामी जाने हुँदा प्रभावित र मृत्यु हुनेको एकिन तथ्यांकसमेत जिल्लामा उपलब्ध छैन ।


स्थानीयले जिल्लामै उपचार हुने व्यवस्था मिलाउन माग गरेका छन् । उपचारका लागि जाँदाजाँदै अधिकांश बिरामीको मृत्यु हुँदासमेत सम्बन्धित निकाएले चासो नदिएको कावासोतीका निमेश पौडेलले गुनासो गरे । ‘सर्पले टोकेपछि आधा–एक घण्टामा विष फैलिसक्ने भए पनि उपचारका लागि चितवन पुग्नै एक घण्टा लाग्छ ।’


भुषालले भनिन्, ‘यो वर्षामा सबैलाई यसैको त्रास हुने गर्दछ ।’ वर्षौंदेखि जिल्लावासीले यस विषयमा आवाज उठाए पनि निजी अस्पतालमा समेत सघन उपचार सेवा उपलब्ध हुन सकेको छैन । पछिल्लो समय कालीगण्डकी अस्पतालले सघन उपचारका कक्षका लागि आवश्यक जनशक्ति र उपकरण तयारी अवस्थामा राखेको जनाएको छ । तर, तत्काल सेवा सुचारु नहुँदा यो वर्षातमा समेत उपचारका लागि बाहिरी जिल्लामा नै जानुपर्ने बाध्यता छ ।

प्रकाशित : फाल्गुन १४, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?