गण्डकी मेडिकल कलेज : ताला खुल्यो, रिले अनशन जारी

विना थापा

कास्की — गण्डकी मेडिकल कलेजमा विद्यार्थीले लगाएको ताल सोमबार प्रहरीले खोलेको छ । नियमविपरीत असुल गरेको शुल्क फिर्तासहितका चार सूत्रीय माग राखेर २६ दिनअघिदेखि विद्यार्थी आन्दोलनमा छन् ।

गण्डकी मेडिकल कलेज : ताला खुल्यो, रिले अनशन जारी

पोखरा नयाँबजारस्थित मेडिकल कलेजका विद्यार्थी अस्पतालका आकस्मिकबाहेकका अन्य कक्षमा तालाबन्दी गरेर रिले अनशनमा बसेका थिए । प्रशासनको आदेशमा प्रहरीले बल प्रयोग गर्दै ताला खोले पनि विद्यार्थीले अनशन जारी राखेका छन् ।


वडा प्रहरी बैदामका प्रहरी नायव उपरीक्षक कोमल शाह नेतृत्वको प्रहरी टोलीले ताला खोल्ने क्रममा आफूहरूमाथि बल प्रयोग गरेको विद्यार्थीहरूले बताएका छन् । प्रहरीले लाठीचार्ज गर्दा विद्यार्थीहरू रविना मिश्र, प्रेमदेव जोसी, अपिल भण्डारी, निशान केसी, विप्लव खत्री, आशीर्वाद शर्मा भट्टराई, रविन साह, जीवन विक र सन्ध्या महर्जन घाइते भएका छन् । मिश्रलाई अस्पतालकै आकस्मिक कक्षमा भर्ना गरिएको छ ।


बिनासहमति ताला खोल्न नपाइने भन्दै विद्यार्थीले अवरोध गर्दा प्रहरीले बल प्रयोग गरेको हो । ताला खोल्दा कलेज व्यवस्थापनका पदाधिकारी भने उपस्थित थिएनन् । त्रिभुवन विश्वविद्यालयबाट अनुगमन टोली आउने सूचना पाएपछि व्यवस्थापनले प्रशासनलाई प्रभावमा पारेर सहमतिबिनै ताला खुलाएको विद्यार्थीहरूको आरोप छ ।


जिल्ला प्रशासनले सोमबार बिहान कलेजको नयाँ कार्यसमिति गठन भएको जानकारी विद्यार्थी प्रतिनिधिलाई दिएको परिवर्तन भाटले बताए । गण्डकीलाई सम्बन्धन दिने त्रिविले हालको गतिरोध अध्ययनका लागि कुसुम शाक्यको संयोजकत्वमा रोहित पोखरल, राजकुमार पोखरेल, अनुपकुमार श्रेष्ठ र राजेन्द्र खनाल सम्मिलत समिति गठन गरेको जानकारी जिल्ला प्रशासनले विद्यार्थीहरूलाई दिएको हो । टोली अध्ययनका लागि आउने भएकाले तालाबन्दी नगर्नुस् भन्दै प्रहरीले बल प्रयोग गरेको भाटले बताए । आन्दोलनका नाममा अस्पताललाई बन्द गरेर राख्नु राम्रो नभएको कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले बताए ।


‘सम्बन्धित निकायले छानबिन गर्छ । विद्यार्थीको दाबीअनुसार कलेजले बढी शुल्क लिएको पाइएको खण्डमा नियम कानुनअनुसार कारबाही हुन्छ,’ उनले भने, ‘आन्दोलनका नाममा कलेजको अस्पताल प्रभावित भएको छ । बिरामीहरूले दु:ख पाउनु भएन ।’ आन्दोलनरत विद्यार्थीका प्रतिनिधिसँग मेडिकल काउन्सिलका सदस्य डा. विश्व दवाडी, सुनील शाह र कालुसिंह खत्रीलगायतले गत शुक्रबार छलफल गरी काठमाडौं फर्किएका थिए ।


व्यवस्थापन पक्ष विद्यार्थीको माग मान्न तयार नभएपछि छलफल निष्कर्षमा भने पुगेको थिएन । विद्यार्थीको आन्दोलन जारी रहँदा त्रिविअन्तर्गतको अनुगमन निर्देशनलयले डा. ओमप्रसाद बरालको संयोजकत्वमा बाबुराम दाहाल र पुष्कर सिंहलगायतको टोली कलेजमा अनुगमनका लागि पठाएको थियो । उक्त टोली फर्किसकेको छ ।

प्रकाशित : फाल्गुन १४, २०७५ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?