२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

धमाधम बन्दै नगरमा सडक

प्रतीक्षा काफ्ले

स्याङ्जा — जिल्लाकै पुरानो अर्थात् सदरमुकामको नगरपालिका पुतलीबजारले सडक निर्माणको कामलाई प्राथमिकता दिएको छ । नगरभित्रका मुख्य तथा भित्री सडकको स्तरोन्नति र कालोपत्रको कामलाई तीव्रता दिइएको हो ।

जिल्ला सदरमुकामस्थित नगरभित्रका सम्पूर्ण सडकलाई विशेष योजना अनुरूप तीव्रता दिइएको बताइएको छ । विगतका दिनमा बारम्बार सडक मर्मत गरे तापनि टिकाउ नहुने र महिना दिनमै पुरानै अवस्थामा हुने भएकाले पनि भित्री सडक चौडासँगै कालोपत्रे गरिने भएको हो ।


नगरभित्रका १३ सय मिटर भित्री सडकखण्डमा रहेका घर, भवन, चौतारा, सरकारी कार्यालयलगायतका पेटी भत्काइएको छ भने, नाली बनाउने कार्य भइरहेको छ । नाली बनाएर सकेपश्चात् सडक कालोपत्रे गरिने नगरप्रमुख सीमा क्षत्री बताउँछिन् । यसअघि नगरपालिकाकै बजेटमा प्रगतिनगर बजार क्षेत्रका भित्री सडकखण्ड फराकिलोसँगै पिच गर्ने कार्य गरेको थियो ।


सदरमुकाममा रहेको सहिदचोकबाट बैंकरोड हुँदै जिल्ला प्रशासन, टुँडिखेल, जिल्ला अदालत हुँदै ठाडो लाइन, कारागारदेखी आँधीखोलासम्म र अभियानपथ, विष्णुपँधेरा हुँदै खेलमैदान– मालेबगरसम्म सडक फराकिलो बनाउने र पिच गर्ने योजना रहेको पुतलीबजार १ नम्बरका वडाध्यक्ष निर्मलकुमार शेरचनले बताए । ‘बजारका सबै सडकको न्यूनतम मापदण्डअनुसार चौडा पार्ने काम थालिएको छ’ उनले भने, ‘सडकमा नै घर तथा भवन छुनेगरी निर्माण गरिएकाले समस्या देखिएको छ । पेटी हुनेको पेटीसम्म भत्काएका छौं भने घर तथा भवनले छुने ठाउँमा छाड्नुपरेको छ ।’


वर्ष दिनभित्र नगरवासीलाई चिल्लो सडक उपहार दिने लक्ष्यले काम धमाधम भइरहेको उनले बताए । विगतदेखि सडक चक्लाउने योजना साकार भएको बताउँदै उनले सहरी विकास मन्त्रालयअन्तर्गत गतवर्ष नै टेन्डर निकालेर कामअगाडि बढाइएको बताए । सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास कार्यालय पोखराले सडक निर्माणको प्रत्यक्ष रेखदेख गरेको छ । सडक मर्मतको लागि मन्त्रालयले ६ करोड रुपैयाँ टेन्डर गरेको हो । यसको निर्माण कार्यको जिम्मा गजेन्द्र निर्माण सेवाले लिइएको हो ।


सडक निर्माणको कार्य एक वर्षभित्र सक्नुपर्ने सम्झौता रहेको नगरप्रमुख क्षत्रीले बताइन् । सडक निर्माणसँगै नाली, फुटपाथ, ढल निर्माण हुनेछ । सहिद चोकदेखि बैंकरोड र जिल्ला प्रशासन कार्यालय आउने सडक नालीबाहेक ७ मिटरको कायम हुने वडाध्यक्ष शेरचन बताउँछन् । उनका अनुसार ठाडोलाइन, अदालत, कारागार चोक हुँदै आँधीखोलासम्म जोड्ने सडक नालासहति ६ मिटर कायम रहनेछ भने अभियानपथ हुँदै कांग्रेस पार्टी कार्यालयसम्म पुग्ने सडक ५ मिटर कायम रहनेछ ।


त्यस्तैगरी विष्णुपँधेरादेखि मालेबगर जाने बाटो पनि यही रकमबाट पिच गरिने उनले बताए । ‘सडकमा ६७ वटा सोलार बत्ती राखिनेछ’ उनले दोहोर्‍याए, ‘एक पटक बनाइएका भित्री सडकहरू बारम्बार बनाइँदैन । राजमार्ग आसपासका घरपेटी भत्काइने भए तापनि भित्री सडकमा रहेका घरपेटी बारम्बार भत्काइँदैन । यसकारण टिकाउ हुनेगरी राम्रोसँग मर्मत गर्ने योजना छ ।’


पुतलीबजारअन्तर्गत पर्ने सबै सडक कालोपत्रे गर्ने लक्ष्य नगरपालिकाको छ । यसको लागी केन्द्रीय र प्रदेश सरकारलेसमेत बजेट हालेका छन् ।

प्रकाशित : फाल्गुन १६, २०७५ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?