कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

हिउँले छोपियो लोमान्थाङ

घनश्याम खडका,

म्याग्दी — सेताम्मे हिउँले ढाकेका बालुवाका पहाड, बाटो, खेत र घरहरू । माटोको सहर भनिने मुस्ताङको उपल्लो भेग लोमन्थाङ अहिले हिउँले छोपिएको छ । मध्यफागुनमा परेको भारी हिमपातले उपल्लो भेगका मुस्ताङीको जीवन कष्टकर बनेको छ ।

हिउँले छोपियो लोमान्थाङ

मुस्ताङका प्रदेशसभा सदस्य इन्द्रधारा विष्टका अनुसार बाक्लो हिमपातपछि चरनबाट गोठ फर्कन नसक्दा उपल्लो मुस्ताङमा केही चौंरी र भेडा मरेका छन् । हिमपातले लोमान्थाङको जनजीवन प्रभावित छ । लोमान्थाङ, छोसेर, छोनुप, चराङ र घमीसमेत सबै स्थल मार्ग विच्छेद छन् । परम्परागत माटोका मुण्डे घरहरू चुहिन थालेका छन् ।


घरगोठमा एकाध कुरुवा राखेर जाडो छल्न बेंसी झरेका मुस्ताङी फागुन दोस्रो सातादेखि आफ्ना थातथलोमा फर्कन्थे । पुसमा परेको हिउँ पग्लन नपाउँदै पटक–पटक बाक्लो हिमपात भएपछि मुस्ताङीलाई घर फर्कन सकस भएको छ । चरन क्षेत्र लामो समयदेखि हिउँले पुरेपछि खान नपाएर भेडाच्यांग्रा, चौंरी र घोडाहरू मर्न थालेका छन् । बाँचेका चौपायालाई पनि चरन समस्या छ । घर कुर्न बसेका स्थानीयले गत असोजमा खेतमा गाडेका आलु झिकेर खानाको रूपमा प्रयोग गरिरहेका छन् । ‘मौसम सफा हुन थालेपछि डोजर चलाएर सडक सफा सुरु भएको थियो । फेरि बाक्लो हिमपातले सबै बिथोल्यो,’ विष्टले भने, ‘मौसममा सुधार आउने भयो भन्ठानेर माथि उक्लेकाहरू पनि हिउँमा फसे । घर कुरुवा र पशु चौपायालाई खानाको समस्या छ ।’


हिउँ पर्न कम भएको मौका छोपेर यसै साता डोजर र मान्छे लागिपरेर बाटो खुलाइएको थियो । त्यसबेला खाद्यान्न बोकेका दुईवटा ट्रक लोमान्थाङ पुगेर फर्केका थिए । जोमसोम–कोरला सडकमा बाक्लो हिउँ छिचोल्न नसकेपछि कालीगण्डकी नदीमाथि ट्रक गुडाएर माथि पुर्‍याइएको थियो । मौसम बिग्रेपछि अहिले फेरि आवागमन बन्द छ । जोमसोम विमानस्थलमा पनि बाक्लो हिउँ जमेकाले उडान अवतरण प्रभावित छ । हिमपातपछि हुरी पनि चलिरहेको छ । मुस्ताङका सांसद, जनप्रतिनिधि र प्रशासनले सूचना जारी गर्दै अत्यावश्यक काममा बाहेक घरबाहिर ननिक्लन र लामो यात्रा नगर्न जिल्लावासीलाई सचेत गराएका छन् ।


‘बेनी–जोमसोम–कोरला सडकको मुस्ताङ खण्डमा तीन फिटसम्म बाक्लो हिउँ जमेको छ,’ प्रहरी प्रमुख डीएसपी महेन्द्र खड्काले भने, ‘तल्लो मुस्ताङभन्दा बढी लोमन्थाङ क्षेत्रको जनजीवन कष्टकर भएको छ । तीन दिनपछि आज (बिहीबार) केहीबेर सञ्चार सम्पर्क भयो । घरबाहिर निक्लन नसक्ने अवस्था रहेकाले पशुचौपाया क्षतिको विवरण पूरै संकलन हुन सकेको छैन ।’

प्रकाशित : फाल्गुन १७, २०७५ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?