१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

भूकम्पपीडित निजी आवास अनुदान : तेस्राे किस्ता पाउने लाभग्राही न्यून

कास्कीमा ६ हजार २६ जना लाभग्राहीमध्ये १ सय ७४ जनाले लिए अन्तिम किस्ता
लालप्रसाद शर्मा

पोखरा — कास्कीमा निकै कम मात्रामा भूकम्पपीडितले तेस्रो किस्ताको निजी आवास पुनर्निर्माण अनुदानको रकम लगेका छन् । भूकम्पले घर पूर्ण क्षति भएर ३ लाख रुपैयाँ अनुदान पाउने ६ हजार २६ लाभग्राही भए पनि अहिलेसम्म जम्मा १ सय ७४ ले मात्रै अन्तिम निकासा लगेको जिल्ला आयोजना कार्यान्वयन इकाइले जनाएको छ ।

भूकम्पपीडित निजी आवास अनुदान : तेस्राे किस्ता पाउने लाभग्राही न्यून

४६ जना लाभग्राहीको अन्तिम किस्ता निकासाका लागि कोष तथा लेखा नियन्त्रण कार्यालयमा फाइल गए पनि पैसा भने लगेका छैनन् ।

पीडितको तथ्यांक संकलनमा ढिलाइ, पुनर्निर्माण प्राधिकरणले समयमै प्राविधि नखटाएको, कतिपयले घर बनाए पनि मापदण्ड पूरा नगरेको जस्ता कारणले तेस्रो किस्ताको रकम निकासा हुन नसकेको कम लाभग्राहीले अन्तिम निकासा लैजान नपाएको जिल्ला आयोजना कार्यान्वयन इकाइका फोकल पर्सन अर्जुन नेउपानेले बताए ।

‘कतिपय घर निर्माण सम्पन्न हुँदैछन्’ उनले भने, ‘जुन गतिमा घर बन्नुपर्थ्यो बन्न सकेका छैनन् ।’ लाभग्राहीमध्ये ५ हजार ६ सय ४ जनाले पहिलो किस्ता मात्रै लगेका छन । त्यसैगरी २ हजार १ सय ४४ ले दोस्रो किस्ता लगेका नेउपानेले बताए । घर आंशिक क्षति भएर एक लाख रुपैयाँ अनुदान (प्रवलीकरण लाभग्राही) पाउने २ सय ४२ जना रहेकामा त्यसको आधाले अर्थात् १ सय २१ जनाले पहिलो किस्ता लगेका छन् । अझै पनि आफ्नो घर भूकम्पका कारण क्षतिग्रस्त भएको भन्दै ३ हजार ३ सय ८८ जनाले गुनासो दर्ता गराएको नेउपानेले बताए ।

भूकम्पबाट कम प्रभावित १७ जिल्लामध्ये कास्की एक हो । कम प्रभावित जिल्लाका लाभग्राहीलाई अनुदान दिने सुरुवात यहींबाट भएको थियो । महानगर र ४ वटा गाउँपालिकामा अहिले ८७ प्राविधिक खटिएका छन् । जिल्ला आयोजना कार्यान्वयन इकाइ भवनका निमित्त प्रमुख उमेशकुमार चौधरीले २०७४ पुसबाट मात्र प्राविधिक खटाइएको बताए । त्यसअघि थुप्रै पीडितले आफूखुसी घर बनाएकाले मापदण्डविपरीत भएर अनुदान रकम रोकिएको उनको भनाइ छ ।

‘एक त प्राविधिकहरू ढिलो खटाइयो’ उनले भने, ‘त्यसअघि नै बनेका घर प्राविधिक हिसाबले अनुपयुक्त भएपछि अनुदान दिन नमिलेर अन्तिम किस्ता कम गएको हो ।’ दोस्रो किस्ता पुस मसान्तभित्र लैजान भनिए पनि चालु आवको अन्तिमसम्ममा म्याद बढाइएको छ । कास्कीमा विभिन्न १२ वटा बैंक तथा वित्तीय संस्थाका विभिन्न शाखाहरूबाट अनुदान भुक्तानी दिने व्यवस्था मिलाइएको छ ।

महानगर र ४ गाउँपालिकामध्ये रूपा गाउँपालिकामा घर पुनर्निर्माण कार्यक्रम प्रभावकारी देखिएको छ । उक्त गाउँपालिकाका अधिकांश घर बनेका छन । भूकम्प अनुदानबाट १ सय १५ घर बनेपछि गाउँपालिकाले घर निर्माण सम्पन्न प्रमाणपत्र वितरण गरेको छ । रूपामा १ सय २१ ले घर बनाइसकेका छन् ।

गाउँपालिकामा १ हजार १ सय ९४ ले पहिलो किस्ता र ४ सय २५ जनाले दोस्रो किस्ता लगेका छन् । गाउँपालिका अध्यक्ष नवराज ओझाले घर बनाउन सरकारले दिएको ३ लाखले नपुगे पनि सुरक्षित बनाउनुपर्छ भन्ने चेतनाका कारण ऋण काढेरै पीडितले घर बनाएको बताए । सरकारले भूकम्पपीडितलाई सस्तो ब्याजमा ऋणको व्यवस्थासमेत गरेको छ ।

निजी आवासबाहेक कास्कीमा प्राधिकरणमार्फत दुईवटा सडक र विभिन्न विद्यालय पनि बनिरहेका छन् । हेम्जा खानेपानी मुहान–लुम्रे–सिदिङ र शिशुवा–पोल्याङटार सडक अहिले बनिरेहका छन् । हेम्जाको मेलबोटबाट सुरु हुने १५ दशमलव ९ किलोमिटर लम्बाइको हेम्जा खानेपानी मुहान–लुम्रे–सिदिङ सडक २६ करोड १ लाख ९७ हजार २ सय ३९ रुपैयाँमा सम्झौता भएर निर्माणाधीन छ ।

यसैगरी १६ दशमलव २ किलोमिटर लामो शिशुवा–पोल्याङटार सडक २१ करोड ३२ लाख ९९ हजार ५ सय ५० रुपैयाँमा सम्झौता भएर बनिरहेको छ । दुवै सडकको १३ प्रतिशत भौतिक प्रगति भएको छ । त्यस्तै विद्यालयतर्फ ४ कोठे आरसीसी भवनअन्तर्गत १६, ३ कोठे ट्रसअन्तर्गत ४ र २ कोठे ट्रसअन्तर्गत १४ भवन पनि निर्माण भइरहेको नेउपानेले बताए ।

प्रकाशित : फाल्गुन २०, २०७५ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?