३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

गाउँभरि सुन्तला बगैंचा

प्रतीक्षा काफ्ले

स्याङ्जा — भीरकोट नगरपालिका–७ लोलुंगाका प्रकाश कोइराला बैंकमा जागिरे हुन् । काठमाडौंमा कार्यरत उनले गाउँमा व्यावसायिक तवरले सुन्तला लगाएका छन् । यतिबेला उनको व्यस्तता सुन्तलाका बोट काँटछाँटमा छ । 

गाउँभरि सुन्तला बगैंचा

अर्का सुन्तला कृषक मीनप्रसाद कोइराला अनावश्यक रुख र झाडी फँडानीमा व्यस्त छन् । मोडल भिलेज बनाउने लक्ष्यअनुरुप भीरकोट नगरपालिका–७ का स्थानीय यतिबेला रुख फँडानी गर्न थालेका छन् । गाउँमा सुन्तलाको मात्र बगैचा बनाउने लक्ष्यले लोलुंगाका १२ घरपरिवारले गाउँभरीका अनावश्यक रूख बुट्यान फाँड्न थालेका हुन् ।


स्थानीयले २ लाख रुपैयाँ संकलन गरेर गाउँमा रहेको सबै प्रकारका बोट तथा रूख काट्न सुरु गरेको मीनप्रसादको भनाइ छ । लोलुङ्गा व्यवसायी कृषक समूहको नेतृत्वमा सुन्तलाको बगैंचालाई असर गर्ने सबै जातका बोटबिरुवा चार दिनदेखि काट्न थालिएको समूहका अध्यक्ष भुवानी कोइराला बताउँछन् । उनले आफ्नो गाउँलाई सुन्तलाको पहिचान दिनका लागि नयाँ अवधारण अनुरूप विभिन्न कार्यक्रम थालिएको बताए ।


अहिले यो गाउँमा सुन्तलाबाहेक अन्य रूख देख्न पाइँदैन । यो मौसमको सुन्तला बिक्रीवितरण सकिएपछि सुन्तलाका बिरुवा, हाँगा काटछाँट गर्ने, मल तथा पानी राख्ने, बोर्डो पेस्ट लगाउने, बोर्डो मिक्चर स्प्रे गर्ने काम सकिएको छ । गाउँलाई सुन्तला बगैंचाका रूपमा विकास गर्ने लक्ष्य रहेको सचिव मीनप्रसादको दाबी छ ।


उनका अनुसार अभियानपश्चात आगामी वर्ष बगैंचामा ४० प्रतिशत सुन्तला उत्पादन वृद्धि गर्ने लक्ष्य हो । ‘हाम्रो गाउँ पुर्खादेखि नै सुन्तलामय छ’ सचिव कोइरालाले भने, ‘पहिले हामीले व्यवस्थापन गर्न जानेनौं । प्रविधि पनि जानकारी भएन । सुन्तलालाई व्यवसायमा भन्दा पनि आफूले नै खाने र आफन्तलाई दिने भनेर बुझ्यौं । यसकारण हामीले सुन्तला भएर पनि सदुपयोग गर्न सकेनौं ।’ उनले सुन्तला व्यवसाय गरेर मनग्य आम्दानी गर्न सकिन्छ भन्ने बुझेसँगै सुन्तलाको संरक्षण गर्ने, मलजल गर्ने, काटछाँट गर्न थालेको बताए । उनका अनुसार बगैंचाका सबै सुन्तलाका बोटमा नीलो रङ्ग लगाइएको छ ।


यसो गर्दा गुणस्तरीय फल दिने, उत्पादन वृद्धि हुने, छोटो समयमा नै बोट नसुक्ने–नठिम्रने हुने सचिव कोइरालाको भनाइ छ । यहाँका स्थानीयले यस वर्ष मात्रै दुई करोडभन्दा बढी मूल्य बराबरको सुन्तला विक्री गरेको बताउँछन् । व्यवसायमा सबै कृषक एकजुट छन् । मिलेर नै सामूहिक बगैंचा निर्माण गरेका छन् भने, स्थानीय आफूहरूले नै समूह बनाई, समूहमा जिम्मेवारी लिई मिलेर काम गर्छन् । ‘एकजनाले एउटा काम गरेका छौं भने अर्काले अर्कै काम गरेका हुन्छौं,’ अध्यक्ष भवानी दोहोर्‍याउँछन्, ‘एउटा व्यक्तिले मात्र गरेको छ भन्दैमा उसले उसको मात्रै गरेको हुँदैन । एक प्रकारको एउटा व्यक्तिले जिम्मा लिएको काम गाउँभरिको हुन्छ ।’


यहाँका कृषकले सामूहिक रूपमा कसरी काम गर्न सकिन्छ भन्ने उदाहरण दिन खोजेको बताउँछन् । सुन्तला व्यवसायमा बढदो प्रतिस्पर्धा भए पनि ग्राहक ल्याउने, ठेक्का दिने र मूल्य गर्ने काम समूहले नै गर्छ । गाउँमा पुरुष मान्छे नभएका र महिला मात्र भए पनि उनीहरूको काम समूहले नै मिलेर गरिदिने बताउँछन् सचिव कोइराला ।


उनका अनुसार गाउँमा रहेका पुरुष मान्छेले नै काम गरिदिन्छन् । यसो त रोजगारीका लागि जिल्लाबाहिर भएका पुरुष मान्छे समय–समयमा काम गर्न गाउँ आउने गर्छन् । पछिल्लो समय बसाइँसराइ गरेर गएका मानिस पनि पुनः सुन्तला व्यवसायका लागि गाउँ फर्किने क्रम बढ्दो रहेको स्थानीय बताउँछन् । स्थानीयका अनुसार नियमित बसोबास गर्न नआए तापनि बेलाबेलामा काम गर्न भने आउने–जाने गर्छन् ।

प्रकाशित : फाल्गुन २१, २०७५ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?