कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बूढीगण्डकी जलविद्युत् : चालु वर्षमै मुआब्जा बाँडिने

हरिराम उप्रेती

गोरखा — बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने घर, गोठ, फलफूल र बोटबिरुवाको लगत संकलन दुई महिनाभित्रै सक्नेगरी प्रक्रिया अघि बढाइएको छ । लगत संकलन गरेर चालु आर्थिक वर्षभित्रै मुआब्जा वितरण गर्ने घ्याल्चोकको सिउरेनटारमा रहेको आयोजनाको वातावरण मुआब्जा तथा पुनःस्थापना इकाइको लक्ष्य छ । 

बूढीगण्डकी जलविद्युत् : चालु वर्षमै मुआब्जा बाँडिने

प्रभावित क्षेत्रका संरचना, फलफूल र बोटबिरुवाको तथ्यांक संकलनमा खटिने गोरखातर्फका प्राविधिक तथा कर्मचारीलाई बुधबार मोबाइल एप्लिकेसन चलाउने तालिम दिइएको छ । भवन, वन र कृषि कार्यालयका ४/४ प्राविधिकलाई तालिम दिइएको हो ।


मुआब्जा निर्धारण छिटो र विश्वसनीय तवरले गर्नका लागि उक्त क्षेत्रको लगत मोबाइल एप्लिकेसनको प्रयोगबाट गर्न लागिएको इकाइले जनाएको छ । ‘घर–घरमै पुगेर उहाँहरूले तथ्यांक संकलन गर्नुहुन्छ,’ इकाइका प्रमुख कृष्ण कार्कीले भने, ‘आज हामीले मोबाइल एप्लिकेसनको प्रयोगको तरिका बारेमा सिकाउँदैछौं ।’


आरूघाट, भीमसेन थापा, सहिद लखन र गण्डकी गाउँपालिकामा फागुन अन्तिम साताबाट छुट्टाछुट्टै टोली खटाएर लगत संकलनको काम थालिने उनले बताए । ‘आरूघाट गाउँपालिकाको डुबान क्षेत्रमा जग्गाको मुआब्जा निर्धारण नभए पनि घर, गोठ र फलफूलको लगत संकलन गर्छौं,’ उनले भने ।


आरूघाटबाहेकका बाँकी तीन गाउँपालिकाको डुबान क्षेत्रमा भने धेरैजसो जग्गाको मुआब्जा वितरण भइसकेको छ । ‘यो वर्ष मुआब्जा वितरण सक्न कामलाई तीव्रता दिएका छौं, दुई महिनाभित्र लगत संकलन गर्न नसक्ने अवस्था आए आवश्यकताअनुसार टोली पनि थप गर्छौं,’ कार्कीले भने ।


धादिङतर्फका प्राविधिक र कर्मचारीलाई पनि तालिम दिइसको र उनीहरूलाई आगामी हप्ताबाट ‘फिल्ड’ मा खटाइने उनले बताए । डुबान क्षेत्रमा पर्ने प्रत्येक घर ,गोठ, फलफूल, निजी जग्गाका रूखको तस्बिरसहित तथ्यांक संकलन हुने उनले बताए । ‘२०७२ चैत २१ बाट डुबान क्षेत्रमा जग्गा रोक्का भएको हो, त्यस यता बनेका संरचना, रोपिएका रूख र फलफूलको लगत संकलन भने हुँदैन,’ उनले भने ।


कार्यक्षेत्रमा खटिने प्राविधिकले मोबाइल एप्लिकेसनको प्रयोगबाट एक दिनमा ८ घरको लगत संकलन गर्न सक्ने सहरी विकास तथा भवन कार्यालयका प्रमुख झपटबहादुर थापाले बताए । ‘टहरा, भवन, कम्पाउन्ड वाल, जग्गाको स्ट्रक्चर, घरको गारो, छाना, भुइँ, लम्बाइ–चौडाइ सबैको अध्ययन हुन्छ,’ उनले भने । बोटबिरुवाको भने १.३ मिटर उचाइमा व्यास (डायमिटर) नापेर ‘भोलुम’ सहित उचाइ नापिने डिभिजन वन कार्यालयका सहायक वन अधिकृत विष्णुप्रसाद न्यौपानेले बताए । ‘फिल्डमा खटिने प्राविधिकले रूखको फस्ट, सेकेन्ड र थर्ड गरी तीन दर्जा छुट्टाउँछन्,’ उनले भने, ‘व्याक्तिगत जग्गामा भएको मात्र लगत लिने हो ।’


सरकारी मापदण्डअनुसार नै लगत संकलन हुने प्राविधिकहरूले बताए । फलफूलको लगत संकलनको क्रममा एक वर्षभित्रको उत्पादन लागत निकालिन्छ । ‘प्रतिरोपनी कति बिरुवा संख्या अटाउँछ, प्रतिबोट कति फल्छ पत्ता लगाएर किलोमा रूपान्तरण गरी बजार मूल्यअनुसार मुआब्जा निर्धारण हुन्छ,’ कृषि ज्ञानकेन्द्रका प्रमुख दुर्गा पण्डितले भने, ‘एक बोटले कति फल दिन्छ र वार्षिक कति उत्पादन हुन्छ भन्ने हिसाब निकाल्छौं ।’ सामान्यतया केरा र भुइँकटहरबाहेक अन्य फलफूलले पाँच वर्षदेखि ३० वर्षसम्म उत्पादन दिने उनको भनाइ छ ।


बूढीगण्डकी डुबानले धादिङ र गोरखातर्फका ३५ सय ६० परिवार प्रभावित हुनेछन् । गोरखातर्फ ३० र धादिङ तर्फको २८ हजार रोपनी क्षेत्रफल डुबानमा पर्नेछ । हालसम्म दुवैतर्फ गरी झन्डै साडे २३ अर्ब जग्गाको मुआब्जा वितरण भइसकेको छ । ‘सुरुमा डुब्ने तल्लो क्षेत्रबाट जग्गाको मुआब्जा दिन थालेका थियौं, अहिले माथिल्लो अन्तिम विन्दुको सीमा क्षेत्रमा पुगेका छौं,’ इकाइका प्रमुख कार्कीले भने, ‘मूल्य निर्धारण भइसकेका क्षेत्रको जग्गामा मुअब्जा वितरण चैत महिनाभित्र सक्छौं ।’


चालु आवमा मुआब्जा वितरणका लागि १७ अर्ब ६९ करोड निकासा भएको थियो । उक्त बजेटमा १० अर्ब अर्थ मन्त्रालयले रोक्का गरेको र चालु वर्ष ७ अर्ब वितरण भइसकेको उनले बताए । जग्गाको किसिमअनुसार मुआब्जा नआएको, मूल सडक र सहायक मोटरबाटोमा पर्ने जग्गाको पनि मूल्य घटेर आएको जस्ता गुनासा गर्दै इकाइमा एक हजारको हाराहारीमा डुबान प्रभावितले निवेदन पनि दिएका छन् ।


ती निवेदनको सुनुवाइ लामो समयसम्म नभएको प्रभावित क्षेत्रका बासिन्दाको गुनासो छ । ‘सबै ठाउँमा जग्गाको मुआब्जा वितरण भइसकेपछि एकैचोटी निवेदन फरफारक गरौं भन्ने हिसाबले अघि बढेका छौं,’ इकाइ प्रमुख कार्कीले भने । गोरखातर्फ आरूघाट र आर्खेत बजार तथा धादिङको विशालनगर र खहरे क्षेत्रको जग्गाको मुआब्जा निर्धारण भइसकेको छैन ।

प्रकाशित : फाल्गुन २३, २०७५ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?