१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

राष्ट्रपतिको सवारीले भक्तजनलाई सास्ती

हरिराम उप्रेती

गोरखा — राष्ट्रपति विद्यादेवी भण्डारी आउने कार्यक्रम तय भएसँगै बिहीबार बिहानबाट मनकामना मन्दिर परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको थियो । मन्दिर आसपासका घरका छतदेखि पैदलमार्गसम्म सुरक्षाकर्मीले ढाकेका थिए । 

राष्ट्रपतिको सवारीले भक्तजनलाई सास्ती

सेना, सशस्त्र र नेपाल प्रहरीको तीन घेरा बनाएर बसेका सुरक्षाकर्मीको लहर परबाट हेर्न रोचक रहे पनि यहाँ भक्तजनले भने निकै सास्ती व्योहोर्नुपरेको छ । दिउँसो १ बजे राष्ट्रपति हेलिकप्टरबाट आइपुग्ने सूचना पाएका सुरक्षाकर्मीले १२ बजेबाटै भक्तजनलाई मन्दिर प्रवेश गर्न रोके ।

घण्टौं लाइन बसेर मन्दिर प्रवेश गर्नै लाग्दा रोकिएपछि भक्तजन र सुरक्षकर्मीबीच केहीबेर भनाभन र धकेलाधकेल पनि भयो । राष्ट्रपति सवारी हुँदाको १ घण्टा मन्दिर प्रवेशमा रोक लगाइएपछि झण्डै दुई सयको संख्याका भक्तजन लाइनमै ‘मनकामना माताकी जय’ भन्दै नारा लगाएर फर्किए ।

केही भक्तजन पूजा सामग्री फालेर फर्किए भने केहीले सुरक्षाकर्मी र कर्मचारीलाई बुझाएर मन्दिरमा चढाइदिन आग्रह गरे । ‘केबुलकार चढ्न लाइन बस्यौं । केबुलकारबाट झरेपछि पूजा गर्न अर्को लाइन तीन घण्टा जति बसियो,’ काठमाडौंको चन्द्रागिरी–१५ की ७५ वर्षीया कान्छी कार्कीले भनिन्, ‘लाइन छोट्टिँदै मन्दिर आइपुग्नै लाग्दा भित्र जान पाइँदैन भनेपछि भोको पेट दिनभर बस्न सकिनँ । पूजा सामग्री पुलिसलाई मन्दिरमा चढाइदिनु भनेर फर्किएँ ।’

पहिलोपटक मनकामना आएको बताउने कार्की मन्दिर प्रवेश गर्न नपाएको भन्दै सुरक्षाकर्मीफ्रति आक्रोश व्यत्त गर्दै थिइन् । भक्तजनको भीड थाम्न सुरक्षाकर्मीलाई केहीबेर हम्मेहम्मे परेको थियो ।

दिनभर मन्दिरमा बस्दा फर्कन ढिला हुने केही भक्तजनको गुनासो थियो । ‘एक दिनलाई गाडी रिजर्भ गरेर ल्याएको, यहाँ दिनभर बसे गाडी चालकलाई मनाउनुपर्‍यो,’ चितवनका कृष्ण केसीले भने, ‘भक्तजनले चन्दा दिएर बनेको मन्दिरभित्र पस्न त यति गाह्रो छ, गणतन्त्र आएर के गर्नु ?’ राष्ट्रपतिकै सुरक्षाका लागि एक घण्टासम्म मन्दिर प्रवेश गर्न रोक्न नहुने भन्दै अधिकांश झक्तजनले आत्रोश व्यक्त गरे । ‘पूजा सामग्री मन्दिरमा छुवाएर मात्र लिएर आउँछु भन्दा पनि दिएनन्, देउता उत्पत्ति भएको भन्दा पनि चर्को भयो,’ उनले भने, ‘राष्ट्रपतिले १५ मिनेट पूजाआजा गर्ने रहेछ, त्यति समयभित्र जान पाइँदैन भनेको भए हामीलाई गाह्रो हुन्थेन ।’

राष्ट्रपतिका लागि सुरक्षा व्यवस्था कडा पार्नु जायज भए पनी भक्तजनलाई वैकल्पिक व्यवस्था गर्नेतर्फ आयोजक र सुरक्षाकर्मीको ध्यान नपुगेको चितवनबाट आएका सुमन बरालले तर्क गरे । ‘पूजा गर्नै नपाइने भन्ने त हुँदैन नि, एउटाका लागि यति धेरै मान्छेलाई किन दुःख दिनु ?,’ उनले भने, ‘राष्ट्रपति मन्दिर प्रवेश गर्दा मात्र हामीलाई जान नदिएको भए पनि हुने ।’ भोको पेट घण्टौं लाइनमा बस्दा बालबच्चा र वृद्घवृद्घालाई समस्या परेको उनले बताए ।

मन्दिर छिर्न ज्येष्ठ नागरिकलाई लाइन बस्नु नपर्ने व्यवस्था गरेको दाबी यहाँका स्थानीयले गरे पनि बिहीबार लामबद्घ हुनेमा अधिकांश ज्येष्ठ नागरिक थिए । केबलकारबाट झरेका भक्तजनले बिहीबार साबिकको बाटो पनि प्रयोग गर्न पाएनन् । साबिकको भन्दा अतिरिक्त पाँच मिनेट बढी समय लाग्ने घुमाउरो वैकल्पिक बाटोको व्यवस्था गरिएको थियो । राष्ट्रपति भण्डारीले पूजाआजा गरेपछि सवा १ बजेबाट पुनः भक्तजनलाई मन्दिर छिर्न खुला गरिएको थियो ।

उता कास्की संवाददाताका अनुसार पोखरामा विन्ध्यवासिनी मन्दिरमा निर्मित लिफ्ट उद्घाटनका लागि राष्ट्रपति भण्डारी बिहान १० बजे आइपुग्ने पूर्वनिर्धारित तालिका थियो । राष्ट्रपतिको सवारी व्यवस्थापनका लागि भन्दै विन्ध्यवासिनी धार्मिक क्षेत्र व्यवस्थापन समितिले गत मंगलबार नै बिहीबार बिहान ८ देखि ३ बजेसम्मका लागि सर्वसाधारणलाई प्रवेश निषेध गरिएको सूचना जारी गरेको थियो ।

त्यो थाहा नपाएका श्रद्धालुलाई सुरक्षाकर्मीले उक्त समयमा मन्दिर परिसरमा प्रवेश गर्न दिएनन् । फूलबारी ब्यारेकबाट मन्दिर सवारी परिसर आउँदा–जाँदा सुरक्षाकर्मी सर्वसाधारणलाई सडकमा आउजाउमा रोकेका थिए । स्थानीयका तुलनामा पोखरा घुम्न आएकाहरूको निकै चाप रहने मन्दिर परिसरमा राष्ट्रपतिको सवारी नफर्केसम्म सुरक्षाकर्मीले कडा पहरा दिएका थिए । साढे ११ बजे आइपुगेकी राष्ट्रपति भण्डारी औचारिक कार्यक्रम र पूजाका लागि मन्दिर परिसरमा पौने २ घण्टा रोकिएकी थिइन ।

विश्व सम्पदा सूचीमा सूचीकृत गर्न माग

नेपालकै प्रसिद्घ धार्मिक स्थल मनकामना मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न यहाँका स्थानीयले माग गरेका छन् । मनकामना मन्दिर जीर्णोद्घार सु–सम्पन्न तथा दशकर्म पूजा कार्यक्रममा सहभागीले वार्षिक १८ देखि २० लाख धार्मिक पर्यटक आउने मन्दिरलाई विश्वभर परिचित गराउन पहल गरिदिन माग गरेका हुन् । ‘मनकामनासँगै वक्रेश्वरी, लखन गुफादेखि त्रिवेणीसम्मको क्षेत्रलाई समेटेर समग्र विकास गर्न सके अझै यहाँ आउने पर्यटक बढ्छन्,’ स्थानीय होमप्रसाद जोशीले भने ।

प्रदेश र संघीय सरकारलाई मनकामना मन्दिर क्षेत्रलाइ विश्व सम्पदा सूचीमा सूचीकृतका लागि पहल गर्न अनुरोध गर्ने सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापाले बताए । ‘मनकामनामा अझै पर्यटक बढाउन के–के गर्न सकिन्छ, योजनाबद्घ तवरले अघि बढ्छौं,’ उनले भने । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले प्रदेशको मन्त्रिपरिषद् बैठकबाटै निर्णय गराएर विश्व सम्पदा सूचीमा सूचीकृतका लागि प्रक्रिया अगाडि बढाउन पहल गर्ने बताइन् । ‘धार्मिक पर्यटनको रूपमा अघि बढाउन बजेटिङको व्यवस्था पनि हुन्छ,’ उनले भनिन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्दिरको सरसफाइ र वातावरणीय स्वच्छतामा ध्यान दिन आग्रह गरिन् । सरकारी र जनसहभागितामा छिटो पुनर्निर्माण सकेको भन्दै उनले खुसी व्यक्त गरिन् । ‘पर्यटकीय गन्तव्यको सम्भावना बोकेको छ, धार्मिक पर्यटनको गन्तव्य बनाउन सके रोजगारीको अवसर सिर्जना हुन्छ,’ उनले भनिन् ।

मनकामनाको मूल मन्दिर जीर्णोद्घार सम्पन्न

औपचारिक रूपमा मनकामना मन्दिरको जीर्णोद्घार कार्य सम्पन्न भएको छ । पुनर्निर्माण सकिएसँगै गत काक्तिक १२ गतेबाट मन्दिर सर्वसाधारणका लागि खुला गरिएको थियो । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जीर्णोद्घार समितिले मन्दिर पुनर्निर्माणका लागि लागेको खर्च सार्वजनिक गरेको छ ।

मन्दिर पुनर्निर्माण गर्न १४ करोड ६४ लाख ८८ हजार खर्च लागेको जीर्णोद्घार समितिका कोषाध्यक्ष कृष्ण श्रेष्ठले बताए । ‘नेपाल सरकारको पुरातत्त्व विभागबाट चार करोड बराबरको सुन तथा काठ जिन्सी अनुदान प्राप्त भएको छ,’ उनले भने, ‘अन्य रकम भक्तजन र सहयोगी संघ संस्थाबाट प्राप्त भएको छ ।’

मन्दिरमा सुनको जलप लगाउन मात्र १८ केजी सात सय ६० ग्राम सुन खर्च भएको उनले बताए । रसिद तथा दानबाट ११ करोड ५० लाख २७ हजार र चन्दा बाकसबाट १ राड ४५ लाख ८८ हजार रुपैयाँ प्राप्त भएको उनले बताए । २०६८ सालमा लागत स्टिमेट तयार पार्दा ८ करोड ८४ लाखमा मन्दिर जीर्णोद्घार सक्ने लक्ष्य राखिए पनि पछिल्लो समय भएको मूल्यवृद्घिले लागत बढेको उनले बताए ।

दशकर्म पूजा

मन्दिर जीर्णोद्घार औपचारिक रूपमा समापन गरेसँगै यहाँ दशकर्म पूजा भएको छ । फागुन २१ बाट २६ सम्म हुने दशकर्म पूजाअन्तर्गत वैदिक र तान्त्रिक विधिपूर्वक पूजा हुनेछ । ‘नौ जना ब्राह्मणहरूले वैदिक र ११ जना काठमाडौं झ्यावालबाट आएका गुरुज्यूहरूले तान्त्रिक विधिपूर्वक पूजा गरिरहनुभएको छ,’ स्थानीय दिनेश जोशीले भने, ‘भगवतीको मन्दिर भत्काउँदा क्षमा पूजा गरेका थियौं, अहिले मन्दिर बनाइसकेपछि दशकर्म पूजा गरेका हौं, मन्दिर निर्माणपछि दशकर्म पूजा गर्नैपर्छ ।’ उक्त पूजा सँगै विधिवत् रूपमा मन्दिर जीर्णोद्घार सकिने उनले बताए ।

प्रकाशित : फाल्गुन २४, २०७५ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?