गोरेटो बाटो बनाउँदै भुजुङवासी

आश गुरुङ

लमजुङ — गाउँबाट मेलापात या घाँसदाउरा गर्न जाने बाटो, सिँढी बिछ्याएकै छन् । स्कुलसम्म आउजाउ गर्ने बाटोमा पनि सिँढी हालिएको छ ।
धारा, पँधेरो, चौतारो निर्माण कार्य बर्सेनि भइरहेको हुन्छ भुजुङ गाउँमा । क्व्होलासोंथर गाउँपालिका ४, भुजुङका बासिन्दा विकास र सामाजिक कार्यका लागि सरकारको मुख ताक्दैनन् ।

गोरेटो बाटो बनाउँदै भुजुङवासी

गाउँमा हुने विभिन्न मेला, सांस्कृतिक कार्यक्रम, बिदेसिएका आफन्त आउँदा, जेठो छोरासँग नाच्ने पुटपुटे, वैशाख पूर्णिमा, घाँटु, अन्य कार्यक्रममा देखाइने सांस्कृतिक प्रस्तुतिबाट संकलित पैसा उनीहरू विकास निर्माणमा खर्चिन्छन् । मानिससँग जोडिने प्रत्यक्ष विकास गरेमा ‘धर्म’ कमाउन सकिने उनीहरूको विश्वास छ । यसमा विभिन्न सांस्कृतिक समूह समेत लागिपरेका छन् ।


पछिल्लो समय गाउँमा रहेको कृष्ण चरित्र समूहले ‘पुण्य’ कमाउन भन्दै गोरेटो बाटो निर्माण गरेको छ । धर्मशाला, चौतारालगायत निर्माण गर्दै आएको उक्त समूहले यस वर्ष बाटो निर्माण गरेको भुजुङ कृष्ण चरित्र समूहका अध्यक्ष समेत रहेका वडा सदस्य दिलबहादुर गुरुङले बताए । उनका अनुसार त्रिभुवन विद्याश्रम नजिकै विद्यार्थी हिँड्ने करिब ५० मिटर बाटो निर्माण गरिएको छ ।


गाउँ प्रवेश गर्ने गेटैमा निर्माण गरिएको बाटोले गाउँ आउने पर्यटकलाई समेत सहज हुने उनले बताए । ‘पहिलेको बाटो बिग्रिएको थियो । अहिले नयाँ बनाएका छौं,’ उनले भने । श्रमदान नगरी डेढलाख रुपैयाँ खर्च गरेर बाटोमा ढुंगाको नयाँ छपनी लगाएको उनले बताए । उनका अनुसार बाटोमा हिँड्न सक्ने उमेरका बालबालिका सजिलै हिँड्न सक्छन् ।


कसैले जेठो छोरासँग पुटपुटे गर्दा कृष्ण चरित्र समूहले नाच देखाउने गर्छ । नाचगानलाई मन पराएर गाउँलेले सहयोग गर्छन् । पुटपुटे नाचेका घरधनीले उनीहरूलाई गच्छेअनुसार रकम दिने गर्छौं । ‘हामीलाई दिएको रकम किन खेर फाल्ने ? बरु गाउँकै विकासमा लगाउने हो । पैसा खेर फाल्नु हुँदैन,’ अध्यक्ष गुरुङले भने ।


लालीगुराँस युवा क्लबका सचिव यमबहादुर गुरुङले एउटाको नामबाट विकासका काम गरिए पनि गाउँले सबै एकजुट भएर काम सम्पन्न गर्ने गरिएको छ । स्थानीयले श्रमदान दिने गर्छन् । उनका अनुसार कात्तिक, मंसिर, पुस, माघ र फागुनमा कृष्ण चरित्र नाच्ने गरिन्छ । उक्त रकमबाट सामूहिक रूपमा खाजा खाने गर्छन् । बचेको रकमले धर्म वा पुण्य कमाउन बाटो, धर्मशाला, चौतारो, पँधेरो निर्माण गर्ने गरेको उनले बताए ।


गाउँमा घाँटु समूह, युवायुवतीको समूह, युवा क्लब, आमा समूह लगायतले समेत बाटोघाटो, धारापँधेरो, पाटीपौवा, धर्मशाला निर्माण गरेका छन् । वडाअध्यक्ष खिमबहादुर गुरुङका अनुसार जुनसुकै समूह भए पनि समाजिक कार्य र विकासकै लागि काम गरिरहेका छन् । उनीहरूले नाचगान गरी रकम संकलन गर्छन् र सामाजिक कार्य तथा विकासमा खर्च गर्छन् । ‘सरकारको सानो सहयोग पाएमा गाउँलेले विकासका सबै काम गर्न सक्छन् । हिजो डुम्रेबाट बेंसीसहर सडक ल्याउँदा होस् वा बेंसीसहरबाट गाउँमा सडक ल्याउँदा होस्, गाउँले सबै जुटेका थिए । सबै जुटेर श्रमदान गरेका थिए,’ उनले भने ।


भुजुङ गाविसका तत्कालीन गाविस अध्यक्ष नारायणबहादुर गुरुङका अनुसार गुरुङ समुदाय सामाजिक कार्य र विकासका लागि स्वतःस्फूर्त खटिन्छन् । कसैलाई सहयोग गर्नुपरेमा, आपत्विपत्मा हारगुहार गर्न, असहाय तथा दीनदुःखीको सेवा गर्नु स्थानीय धर्म अर्थात् पुण्य सम्झन्छन् । ‘गाउँमा, अझै गुरुङ समुदाय यस्ता कार्यमा एकजुट छन् । अरू समुदायले पनि सिक्न आवश्यक छ,’ उनले भने ।

प्रकाशित : फाल्गुन २६, २०७५ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?