२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

डेढ दशकसम्म अधुरै सिटीहल

प्रतीक्षा काफ्ले

स्याङ्जा — पुतलीबजार नगरपालिका–१ मा सिटीहल निर्माण थालिएको डेढ दशक भए पनि पूरा भइसकेको छैन । अनुगमन गर्ने र कारबाही गर्ने निकायको कमजोरीका कारण सिटीहल बेवारिसे बनेको हो । 

डेढ दशकसम्म अधुरै सिटीहल

‘सिटीहल निर्माण भनेको ठगेर खाने माध्यम मात्र बनेको छ,’ स्थानीय दुर्गानारायण ढकालले भने, ‘कार्यक्रम सञ्चालनका लागि पनि व्यवस्थित छैन । निर्माण कार्य थालिएको धेरै वर्ष बितिसक्दा पनि काम अधुरै छ ।’


निर्माणाधीन अवस्थामा लामो समयदेखि रहेको सिटीहलको भित्र अँध्यारो छ, साउन्ड सिस्टम राम्रो छैन । ‘मञ्चबाट बोलिएको आवाज दर्शक दीर्घाबाट सुनिँदैन,’ ढकालले भने, ‘ठूलो धनराशि खर्च हुँदा पनि राम्रो किन बनाउन नसकेका होलान् ?’ सिटीहल निर्माणको योजनामा बर्सेनि बजेट पारिन्छ । निर्माण सम्पन्न भएको भन्ने नगरवासीले सुन्न पाएका छैनन् ।


सिटीहलको निर्माण २०६१ सालमा सुरु भएको थियो । इमानदार ठेकेदार र दक्ष प्राविधिक नहुँदा निर्माण गरिएको भवन बेवारिसे बनेको स्थानीयको आरोप छ । चौध रोपनीमा रहेको उक्त संरचनाका लागि २०६० मा ३ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण सम्झौता भएको थियो । पूर्वमन्त्री गोपालमान श्रेष्ठको पहलमा निर्माण प्रारम्भ गरिएको उक्त सिटीहल कांग्रेस सभापति तथा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरेका थिए ।


‘राहदानी बनाउने कार्य सुरु हुँदा ३ सयको दरले अतिरिक्त रकम उठाइन्थ्यो,’ साबिकको जिविसका योजना अधिकृत रहेका पुतलीबजार–५ का यामप्रसाद रेग्मीले भने, ‘त्यस रकममध्ये ४० प्रतिशत समाज कल्याणको क्षेत्रमा छुट्याउने निर्णय भएअनुसार सिटीहल बनाउने निर्णय भएको थियो ।’


उनका अनुसार हाल सिटीहल रहेको जग्गा स्वास्थ्य मन्त्रालयको स्वामित्वमा थियो । मन्त्रिपरिषद्बाट जिविसको नाममा हस्तान्तरण गरिएको थियो । उच्च शिक्षा तथा समाज कल्याण समितिबाट डिजाइन तयार पारिएको र केही रकम तत्कालीन जिविसबाट खर्च गरिएको रेग्मीले बताए ।


अहिले यहाँ सडक बालबालिका लुक्ने, फोहोर फ्याँक्ने, बिग्रिएका सवारीसाधन थन्क्याउने, सवारीसाधन पार्किङ गर्ने, फर्निचरको काम गर्ने, ढुंगा–बालुवा थुपार्ने र दिसापिसाब गर्ने थलो बनेको छ । यसका वरपरका बासिन्दा दुर्गन्धमा बस्न बाध्य छन् । हालसम्म यसतर्फ कसैको ध्यान नपुग्नु दुःखद भएको स्थानीय व्यवसायी रविन केसीले बताए ।


निर्माणाधीन संरचनाको रेखदेखको जिम्मेवारी सहरी विकास डिभिजन कार्यालय पोखरालाई छ । लापरबाहीका कारण प्रयोजन अनुसार सिटीहल बन्न नसकेको स्थानीय अगुवा बताउँछन् । ‘यो सिटीहलबाट नगरवासीलाई कुनै फाइदा छैन । बास्तविक डिजाइनअनुसार निर्माण नभएकाले यसप्रति हामी सन्तुष्ट छैनौं,’ केसीले भने, ‘जिल्लाको सदरमुकाममा जुन उद्देश्यले बनाउन लागिएको थियो, त्यो हुन सकेन । कुनै कार्यक्रम, सभा, भेला गर्नका लागि सदरमुकाममा अन्य कुनै ठाउँ नभएकाले सिटीहल सबैलाई प्रयोग गर्न सक्ने गरी बनाउन खोजिएको थियो । यसमा कसैले ध्यान नदिएका कारण सोचेजस्तो हुन नसकेको हो ।’


धेरै क्षेत्रफल ओगटेर बनाइएको भए पनि भवनको अहिलेसम्म कुनै प्रयोजन नभएको स्थानीय बताउँछन् । यसो त भवन अगाडिको खाली ठाउँ बेलाबेलामा विवाहको भोज र सार्वजनिक कार्यक्रमका लागि प्रयोग गरिन्छ । जिल्ला प्रशासनले कार्यक्रम सञ्चालनका लागि सीमित स्थान तोकेको छ, जसमध्ये सिटीहल पनि एक हो । कार्यक्रमका लागि तोकिएको स्थानमा नै आयोजना गर्न नखोजिने नागरिक समाजका अगुवा बताउँछन् ।


‘आमसभा गर्नका लागि समस्या थियो,’ पुतलीबजार–१ का वडाध्यक्ष निर्मलकुमार शेरचनले भने, ‘यसबाट समस्या हल हुन्छ भन्ने लागेर सिटीहल बनाउनतर्फ लाग्यौं । तर, सोचेजस्तो बनाउन सकिएन ।’ आफ्नो स्वामित्वमा नभएकाले पनि स्थानीय सरकारले चाहेर पनि केही गर्न नसकेको उनको भनाइ छ । आफ्नो ठाउँबाट जनप्रतिनिधिको नाताले सम्बन्धित निकायसँग घच्घच्याउने कार्य भने भइरहेको उनले बताए ।


सरोकारवाला निकायले ध्यान नदिएपछि स्थानीय मर्कामा परेको बताउँछन् । ‘डिजाइनअनुसार बनाएर भाडामा दिई व्यवस्थित गर्न सकिने थियो तर यसलाई सरोकारवाला निकायले चासो नदेखाएपछि अलपत्र परेको हो,’ स्थानीय दुर्गानारायण ढकालले भने । भवन हेर्दा ठूलो भए पनि प्रयोगमा ल्याउन नसकिने स्थितिको छ । जिल्ला सदरमुकाममा कुनै पनि कार्यक्रम आयोजना गर्नका लागि उपयुक्त ठाउँ नभएपछि यहाँका बासिन्दा समस्यामा छन् । जिल्ला समन्वय समितिले निर्माणका अधिकांश कार्य सम्पन्न भएको दाबी गर्छ । तर, यहाँका बासिन्दा यस भवनप्रति चिन्तित छन् ।


धेरै जग्गा ओगटेर पनि भनेजस्तो भवन निमार्ण नभएको गुनासो स्थानीयको छ । तत्कालीन जिविसले पर्खाल लगाउने कार्य जिम्मा लिएको थियो । भवन वरिपरि गार्डेन हुनुपर्ने, पार्क बनाउन सकिएको भए स्याङ्जावासीको हावा खाने र घुम्ने ठाउँ बन्ने केसीले सुनाए ।


प्रकाशित : फाल्गुन २७, २०७५ १२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?