कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेंसीसहर–चामे सडक खुल्यो

आश गुरुङ

लमजुङ — हिमपातले अवरुद्ध हिमाली जिल्ला मनाङ जाने एकमात्र बेंसीसहर–चामे सडक खुलेको छ । सवारी तथा पैदलयात्रीको आवागमन हुन थालेको छ ।

बेंसीसहर–चामे सडक खुल्यो

पछिल्लो समय ३ दिन लगातार हिमपात हुँदा फागुन १५ देखि मनाङको नासों गाउँपालिका ९, दानाक्युदेखि माथिल्लो क्षेत्रको सडक बन्द थियो । बेंसीसहरबाट करीब ४४ किलोमिटर सडकमात्रै सञ्चालनमा थियो । बेंसीसहर–चामे कूल ६५ किलोमिटर सडकमध्ये सबै सडक खुलेको स्थानीय प्रशासन तथा जनप्रतिनिधिले बताएको छ ।


चामेदेखि माथिल्लो भेग मनाङ ङिस्याङ गाउँपालिका १, भ्राताङ स्वर्गद्वारी नजिकैको करिव ८ किलोमिटर सडकसमेत खुलेको उनीहरूले बताएका छन् । बेंसीसहर–चामे सडकमा नियमित सवारी साधन चल्न थालेको चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेले बताए । ‘लामो समयको उकुसमुकुसपछि सहज महसुस गर्दैछौं’ उनले भने ।


अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय मनाङमा संरक्षण अधिकृत बाबुलाल तिरुवाका अनुसार अवरुद्ध दुई सातापछि खुल्दा राहत महसुस भएको छ । चक्रीय अन्नपूर्ण पदमार्गमा तल्लो क्षेत्रबाट पर्यटक आउन थालेका छन् । ‘अब चामे–बेंसीसहर आउजाउ सहज भएको छ’ उनले भने, ‘मंसिर–पुसमा जाडो छल्न सहरबजार झरेका मनाङी पनि गाउँ फर्किन थालेका छन् ।’ डीएसपी खड्गबहादुर खत्रीका अनुसार चामेको कोतो नजिकै तिर्चुङाल्डाको हिमपहिरो हटाउनुका साथै तिमाङ र थान्चोक बीच स्यार्क्युखोलाको पहिरो पन्छाएपछि बाटो खुलेको हो । हिमपातले सडकमा ढालेका रूख हटाउनुका साथै हिउँको थुप्रो पन्छाएको छ ।


उनका अनुसार सडकका ठाउँठाउँमा अझै हिउँ जमिरहेको छ । मौसम खुले पनि यसअघिका हिउँ जमिरहेकाले पछिल्लो समय ३ दिन परेको हिउँ त्यसमा थुप्रिएको छ । ‘हिउँ पग्लिँदै गएको छ । २/३ वटा मेशिन प्रयोग गरेर हिउँ फालियो । सुरक्षाका सबै निकाय

जुट्यौं । चामेसम्म सवारी साधन आउजाउ भएको छ,’ उनले भने । प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाका अनुसार हिमपातसँगै मनाङमा सडक मात्रै नभएर टेलिफोन, मोबाइल, विद्युत् सेवा बन्द भएको थियो । अहिले सबै खुल्न थालेकाले जनजीवन सामान्य बन्दै गएको छ । बिजुली र टेलिफोनले समय–समयमा ‘धोका’ दिइरहेको उनले बताए ।


मनाङमा गएको माघ ८ गतेदेखि निरन्तरजसो हिमपात भइरहेकोमा केही दिनयता मत्थर भएको छ । त्यसअघि पुस २२ गतेदेखि निरन्तर हिमपात भएर ४ दिनपछि मत्थर भएको थियो । माथिल्लो क्षेत्रका केही स्थानमा अहिले पनि छिटफुट हिमपात भइरहेको स्थानीय बताउँछन् ।


करिब १ महिना हिमपात भएर रोकिएपछि सडक खुलाइएकोमा सवारी साधन गुड्न थालेको १ सातापछि पुनः फागुन १५ देखि १७ गतेसम्म हिमपात भएको थियो । माथिल्लो क्षेत्रमा अझै सडक खुलेको छैन । पैदलयात्री जोखिम मोलेर हिँड्न बाध्य छन् । ‘हामी माथिल्लो क्षेत्रको सडक खुलाउने प्रयासमा छौं’ प्रजिअ देवकोटाले भने ।

प्रकाशित : फाल्गुन २८, २०७५ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?