कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

अचारमा सफल उद्यमी

प्रतीक्षा काफ्ले

स्याङ्जा — उनी उमेरले ३२ लागिन् । व्यवसायिक अनुभवका लागि उनले थुप्रै काममा हात हालिन् । तर, यतिबेला उनको परिचय अचारसँग जोडिएर आउँछ । भीरकोट–४ की चन्द्रकला रानाले केही वर्ष भारतमा कुकको काम पनि गरिन् । हिजोआज उनको व्यवसाय अचार बनाउने छ । परदेशको जागिरभन्दा स्वदेशकै कामले सुख मिल्ने ठानेर घर फर्किएको उनी बताउँछिन् ।

अचारमा सफल उद्यमी

‘आफ्नै गाउँ फर्किए पनि सुरुसुरुमा दिगो हुने व्यवसाय छनोट गर्न अलमल भयो,’ उनले भनिन्, ‘तीन वर्षयता अचार बनाइरहेकी छु ।’ उनको चन्द्रशोभा अचार उद्योग पुतलीबजार–३ कालीमाटीमा छ । जिल्लाभर अचार बनाएर व्यावसायिक तरिकाले बिक्रीवितरण गरिरहेको उद्योग उनको मात्रै हो । त्यसैले उनको परिचय अचारवाली उद्योगीका रूपमा भएको छ ।


उनका अनुसार महिला उद्यमी बन्ने सपना पनि पूरा भएको छ । अचार बनाउने ३ दिनको तालिमले आज व्यवसाय गर्न सफल भएको उनको अनुभव छ । ‘पुतलीबजार नगरपालिकाद्वारा ३ दिनको तालिम सञ्चालन गरिएको थियो’ उनले भनिन्, ‘तालिमपश्चात् मलाई आफ्नो ठाउँमा बसेर पनि केही गर्न सकिँदोरहेछ भन्ने लाग्यो । अहिले उनले धेरै कार्यक्रममा सफल उद्यमशील महिलाको रूपमा सम्मानित हुँदा र धेरै तालिम तथा अनुभव आदानप्रदान गर्न पाउँदा निकै खुसी लागेको बताइन् ।


‘धेरै महिलाको प्रेरणा बनेकी छु’ उनले थपिन्, ‘एक वर्ष पाटर्नरसिपमा उद्योग सञ्चालन गरेकी थिएँ । साथी र मेरो लगानीमा उद्योग सञ्चालनमा ल्यायांै तर उहाँ नियमित खट्नु भएन र मैले मात्र निरन्तरता दिएँ ।’ एक लाख रुपैयाँ लगानी गरेर उद्योग सञ्चालनमा ल्याएको उनले बताइन् । उनकोमा अहिले अमला, बयर, कोइरालाको फूल, निउरो, सिस्नु, लप्सीलगायत विभिन्न अचारका परिकार पाइन्छन् । विभिन्न मेला, महोत्सवमासमेत आफ्ना उत्पादन बिक्री तथा प्रदर्शनीका लागि लैजाने गरेको उनी बताउँछिन् ।


अचार बनाउनका लागि धेरै मेहेनत गर्नुपर्ने उनको अनुभव छ । सिजनमा पाइने विभिन्न कच्चापदार्थलाई स्टोर गरेर राख्नुपर्ने उनी बताउँछिन् । २ छोराछोरीकी आमा बनेकी रानाको श्रीमान् भने भारतमै रोजगार गर्छन् । घरमै धेरै अर्डर आउने भएकाले बजारीकरणको भने कुनै समस्या नभएको उनको भनाइ छ । उनका अनुसार ५० रुपैयाँदेखि ७ सयसम्मका अचार बिक्री हुन्छन् ।

प्रकाशित : फाल्गुन २९, २०७५ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?