कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

'पानीको माग धान्न सकिएन’

प्रताप रानामगर

दमौली — भिमाद बजारमा वितरित खानेपानी तीनवटा छुट्टाछुट्टै मुहानबाट संकलन गरिन्छ । गिरोखोला, फाटेघाट र अँधेरी खोलाबाट संकलन गरेर वितरण हुँदै आएको पानी पर्याप्त छैन । खानेपानी नपुग्दा उपभोक्ता समितिका बैठकमा भनाभन चल्छ । 

‘तीनवटा मुहानबाट दैनिक पाँच लाख लिटर आउँछ, त्यसले नपुग्ने भयो,’ भिमाद खानेपानी उपभोक्ता समितिका सचिव चित्रबहादुर रानाले भने, ‘माग धान्न नसकेपछि नगरपालिकाले डिप बोरिङबाट पनि पानी थप्यो । त्यसले पनि पुगेको छैन ।’


बढ्दो जनघनत्वसँगै पानी फारु नगर्ने प्रवृत्तिले माग धान्न गाह्रो परिरहेको उनले बताए । भिमाद नगरपालिका कार्यालय परिसरमै डिप बोरिङ गरिएको छ । उक्त स्रोतबाट १ मिनेटमा १ सय २० लिटर पानी संकलन हुन्छ । नगरपालिकाको २० लाख र उपभोक्ता समितिको ७ लाख गरी २७ लाख रुपैयाँको लागतमा डिप बोरिङ गरिएको हो ।


‘खोला र मुहानको मात्रै वितरण हुँदाभन्दा डिप बोरिङले पानी नै पाइएन भन्ने गुनासो कम गराएको तर दिनदिनै बढेको मागलाई अहिले आपूर्तिले धान्ने स्थिति छैन,’ सचिव रानाले भने, ‘अहिले दैनिक सात लाख लिटर वितरण गरेका छौं । अर्को ठूलो आयोजना ल्याउनुपर्ने अवस्था छ ।’ भूमिगत स्रोतबाट निकालिने पानीमा आइरनको मात्रा बढी देखिएको छ । पानीमा आइरनको मात्रा सरदर ०.३ हुनुपर्नेमा १.५ छ । आइरनको मात्रा घटाउन प्रविधि ल्याउने तयारीमा समिति छ ।


खानेपानी पर्याप्त नभएको उपभोक्ता संगीता रानाले बताइन् । ‘खानेपानी पुग्नेगरी आउँदैन,’ उनले भनिन्, ‘एक दिन एक पटक मात्र धारामा २ घण्टाका लागि पानी आउँछ ।’ माझटार क्षेत्रमा पनि एउटै योजनाबाट पानी वितरण भइरहेकाले भिमादको मुख्य बजार क्षेत्रको माग धान्न गाह्रो परेको हो । भिमाद बजारमा खानेपानी उपभोक्ता १ हजार ४ सय ५८ घरधुरी छन् ।


नयाँ योजना अलपत्र

कदमे खोला खानेपानी योजना छिटो सम्पन्न भएको खण्डमा अहिलेजस्तो पानीको संकट हुँदैन । उक्त योजना पूरा भए २० वर्षका लागि भिमादलाई खानेपानी पर्याप्त हुने अनुमान छ । २८ करोड ९२ लाख लागत अनुमान गरिएको उक्त योजना निर्माणले गति लिएको छैन ।


यसको कारण न सरकारले पर्याप्त बजेट दियो, न त पहिलो चरणको काम जिम्मा लिएका ठेकेदारले नै ध्यान दिएर काम गरे । उपभोक्ताहरू ठेकेदार कम्पनी जुम्ली भैरव जेभीको लापरबाहीका कारण योजना अलपत्रमा परेको बताउँछन् । भिमाद बजारदेखि करिब सात किमि माथि निर्माण सुरु भएको योजना पूरा भएको छैन ।


पहिलो चरणका काम गर्न ४४ लाख रुपैयाँमा ठेक्का दिइए पनि ठेकेदारले झारा टार्ने काम मात्र गरेको भिमाद खानेपानी उपभोक्ता समितिका अध्यक्ष ऋषिराम रानाले बताए । ‘काम गर्न सुरु गरेको वर्ष दिन भयो,’ उनले भने, ‘तर, सात सय मिटर पाइपलाइन खन्ने काम मात्र भएको छ ।


त्योभन्दा प्रगति छैन ।’ तीन किमि पाइप लाइन खन्न बाँकी छ । पहिलो चरणमा खनेर पाइपलाइन राख्ने, इन्टेक र भल्भ चेम्बर पनि निर्माण गर्ने ठेक्का सम्झौता छ । योजनाको डीपीआरमै त्रुटि रहेको अध्यक्ष रानाले बताए । ‘तल मुहानबाट ल्याउनुपर्ने, माथि मुहान बनाएर ल्याउने डिजाइनमा छ,’ उनले भने, ‘भइरहेको काम पनि चित्तबुझ्दो छैन । डिजाइन सुधारेर बनाउन भन्ने हाम्रो माग छ ।’


२८ करोड ९२ लाख रुपैयाँ लागत आउने भनिएको योजनालाई सरकारले चालु वर्ष ६ लाख रुपैयाँ मात्रै विनियोजन गरेको उनले बताए । आवश्यक बजेट विनियोजन गरिदिन समितिले संघीय सरकारसँग अनुरोध गरेको छ ।

प्रकाशित : फाल्गुन ३०, २०७५ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?