कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जलजला आलुको ब्लक क्षेत्र

दिप्ती सिलवाल

पर्वत — जिल्लामै अत्यधिक आलु उत्पादन हुने क्षेत्रका रूपमा परिचित जलजला गाउँपालिका–९ बनौंलाई आलुको ब्लक क्षेत्र घोषणा गरिएको छ । आलुको उत्पादन र क्षेत्र विस्तार गर्दै किसानको आयआर्जन बढाउने उद्देश्यले गाउँपालिकाको सिफारिसमा कृषि ज्ञानकेन्द्र पर्वतले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनासँगको सहकार्यमा ब्लक घोषणा गरेको हो ।

जलजला आलुको ब्लक क्षेत्र

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका अनुसार ब्लक घोषणा हुन कम्तीमा सय हेक्टर क्षेत्रफलमा खेती गरिएको हुनुपर्छ । बनौंका वडाध्यक्ष गौबहादुर पुर्जाका अनुसार करिब ५ सय रोपनीमा आलुको व्यावसायिक खेती हुँदै आएको छ । समुद्र सतहबाट १२ सयदेखि ३२ सय मिटरको उचाइसम्म फैलिएको भूभाग रहेको बनौंको १५ सयदेखि २५ सय मिटरको उचाइमा आलु खेती हुन्छ ।


ब्लक घोषणा भएसँगै बनौंको आलु उत्पादन बढाउनका लागि चालु वर्ष २५ लाख बजेट विनियोजन भएको छ । विनियोजित बजेटबाट किसानलाई खनजोतका लागि मिनी ट्रेलर, सिँचाइको व्यवस्था, उन्नत जातका आलुको बीउ, रोगकीरा नियन्त्रण र मलखादको व्यवस्थापनलगायतमा लगानी गरिने कृषि ज्ञानकेन्द्रका प्रमुख वासुदेव रेग्मीले बताए । ‘ब्लक भनेको विशेषगरी उत्पादन बढाउने वैज्ञानिक व्यवस्था हो,’ रेग्मीले भने, ‘त्यसका लागि घोषणा गरिएको बालीमा फोकस गरेर लगानी गर्नुपर्छ ।’ उत्पादन बढेर बिक्रीको समस्या भए भण्डारणगृहको समेत निर्माण गर्नुपर्ने रेग्मीले बताए ।


यहाँका किसानको पुर्ख्यौलीदेखिकै मुख्य बाली आलु नै हो । खाद्यान्नमा सबैभन्दा धेरै उत्पादन दिने आलुको उत्पादकत्व पनि अन्यत्रको भन्दा यहाँ अधिक छ । स्थानीय किसानका अनुसार प्रतिरोपनी १२ देखि १५ मुरीसम्म आलु उत्पादन हुन्छ । ‘एक रोपनीमा एक मुरीसम्म लगाउन मिल्छ,’ किसान डिलकुमारी पुनले भनिन्, ‘राम्रो हुँदा १५ मुरीसम्म फल्छ ।’


आलुको ब्लक घोषणा भएसँगै किसानहरू व्यावसायिक खेती विस्तारमा लागेका छन् । योपल्ट हिउँदमा चार पटकसम्म हिमपात भएपछि बनौंको सबैजसो बारीमा आलु लगाउन थालिएको वडाध्यक्ष पुर्जाले बताए । सक्रिय किसानले आलुको ब्लक सञ्चालक समितिसमेत गठन गरेका छन् ।


अगुवा किसान डिलकुमारी पुनको संयोजकत्वमा गठित हम्पाल आलुबाली सञ्चालक समितिले ब्लकका लागि आउने बजेट खर्चको योजना बनाउँछ । अध्यक्ष पुनका अनुसार समितिले सिँचाइको व्यवस्थापन, आलुको बीउ, रोग–कीराको निवारण, सिँचाइपोखरी तथा पाइप वितरणका काम गर्नेछ । त्यसबाहेक सम्बन्धित प्राविधिक, ज्ञानकेन्द्र र प्रधानमन्त्री आधुनिकीकरण परियोजना कार्यालयसँग समन्वय गरेर आलुको उत्पादन बढाउन समितिले काम गर्नेछ ।


बनौंमा उत्पादित आलु जिल्लाभर र जिल्लाबाहिरसमेत तरकारी, खाद्यान्न र बीउका लागि उपयोग हुँदै आइरहेको छ । स्थानीयका अनुसार यहाँ उत्पादित वर्षे आलु हिउँदे बीउका लागि जिल्लाको कुश्मा, ज्ञादी, फलेवासलगायतमा बिक्री हुन्छ । बनौंमा उत्पादित आलु जिल्लाभर र जिल्लाबाहिरसमेत तरकारी, खाद्यान्न र बीउका लागि उपयोग हुँदै आइरहेको छ ।


स्थानीयका अनुसार यहाँ उत्पादित वर्षे आलु हिउँदे बीउका लागि जिल्लाको कुश्मा, ज्ञादी, फलेवासलगायतमा बिक्री हुन्छ । त्यसबाहेक बागलुङ र पोखरासम्मका उपभोक्ताले माग गर्छन् । ‘बेसिजनमा पाथीको २ सय रुपैयाँसम्ममा घरबाटै बिक्छ,’ किसान गंगाबहादुर खोरजाले भने, ‘गाउँमा के खेती हुन्छ भन्नेबारे सबैले बुझिसकेका छन् ।


उत्पादन बढेसँगै अब बजारको पनि खोजी बढाउनुपर्छ ।’ यहाँ अहिलेसम्म खुमलटार सेतो र जनकदेव आलु उत्पादन हुँदै आएको छ । ब्लक घोषणा भएसँगै नयाँ र उन्नत जातको खेती गर्न प्राविधिकले किसानलाई सुझाएका छन् । मोदी गाउँपालिकाको हलजुरे, म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नागी र राम्चे समेटेर ४ सय हेक्टर जमिन थप गरी आलु खेतीको ब्लक घोषणा गर्न सरोकारवालाबीच छलफल भइरहेको वडाध्यक्ष पुर्जाले बताए ।

प्रकाशित : फाल्गुन ३०, २०७५ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?