कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

ज्याग्दीखोलामा पुल

कान्तिपुर संवाददाता

स्याङ्जा — बिरुवा गाउँपालिका–६ गैरीघाट ज्याग्दीखोलाको टारी झापुमा झोलुंगे पुल निर्माण हुने भएको छ । बिरुवा, हरिनास, चापाकोट र वालिङ गरी चारवटा स्थानीय तह जोड्ने मार्गको गौरीघाट पुलबाट ६ हजार जनसंख्या लाभान्वित हुनेछन् । 

ज्याग्दीखोलामा पुल

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले पुल निर्माणको शिलान्यास गरे । संघीय झोलुंगे पुल क्षेक्रगत कार्यत्रमद्वारा निर्माण गर्न लागिएको गौरीघाट पुल ६९ लाख १ हजार ७ सय ४३ रुपैयाँ ६२ पैसाको लागतमा बन्नेछ । पुलमा लगानी क्षेक्रगत कार्यत्रमको ९२ प्रतिशत, बिरुवा गाउँपालिकाको ६ प्रतिशत र उपभोक्ता श्रमदान २ प्रतिशत हुने जानकारी शिलान्यास कार्यक्रममा दिइयो ।


निर्माणका लागि बिरुवा गाउँपालिकाको खातामा संघीय सरकारद्वारा पहिलो किस्ताबापत विनियोजन गरेको २७ लाख रुपैयाँ पठाएको छ । पुलका लागि लठ्ठा र बुल्डगग्रिप केन्द्रले खरिद गर्नेछ भने स्टिलका सामान गाउँपालिकाले र निर्माण कार्य उपभोक्ता समितिले गर्नेछ । ९० मिटर लम्बाइ रहने पुल आगामी असार सम्ममा पूरा गर्ने लक्ष्य छ ।


पुलले ज्याग्दीखोलामा ओहोरदोहोर गर्न स्थानीयलाई सहज हुनेछ । ज्याग्दीखोलामा हालसम्म ८ वटा झोलुंगेपुल निर्माण भइसकेको बिरुवा–६ का वडाध्यक्ष कृष्ण क्षत्रीले बताए । उनका अनुसार ४ वटा अन्य पुल निर्माणका लागि सर्वेक्षण पनि भइसकेको छ । १/२ किलोमिटरको दूरीमा झोलुंगे पुल बनेको बताउँदै स्थानीय रामप्रसाद कोइरालाले भने, ‘भिरालो र उकालो जमिन भएकाले नै अझै पनि झोलुंगे पुल आवश्यक भएको हो तर आवश्यकता मोटरेबल पुलको भएकाले योजना निर्माण थाल्नुअघि पुनर्विचार आवश्यक छ ।’ झोलुंगे पुलको सर्वे, डिजाइन र सहकार्य अन्धाअन्धी सामुदायिक विकास केन्द्रले गर्ने भएको छ ।


केन्द्रका संयोजक एकनारायण सापकोटाले निर्माण थालनी भएको एक वर्षभित्र पुल तयार हुने बताए । पुल शिलान्यासका लागि पुगेका मन्त्री बस्नेतले बिरुवा–६ को जनप्रिय माविको ४० औं वार्षिकोत्सव समारोहको उद्घाटन पनि गरेका छन् । २०३६ सालमा स्थापना भएको जनप्रियमा ३ सय ५६ जना विद्यार्थी रहेको प्रधानाध्यापक भगवत भट्टराईले बताए ।

प्रकाशित : फाल्गुन ३०, २०७५ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?