‘म रक्सी, चुरोट र सुर्ती खान्न’

कान्तिपुर संवाददाता

(लमजुङ) — प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले स्वस्थ रहन ५ प्रतिबद्धता गराएका छन् । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, बेंसीसहर नगरपालिका, स्थानीय तहका स्वास्थ्य प्रमुख, अस्पतालका प्रमुख तथा चिकित्सक, सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिलगायतलाई उनले शपथ खुवाएका हुन् । 

लमजुङको बेंसीसहरस्थित जिल्ला स्वास्थ्य कार्यालयमा आयोजित कार्यक्रममा धूमपान र मध्यपान नगर्न सहभागीलाई शपथ खुवाउँदै प्रमुख जिल्ला अधिकारी । तस्बिर : आश गुरुङ/कान्तिपुर 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकालेको ‘मेरो वर्ष’ पुस्तिकामा ‘म रक्सी, चुरोट र सुर्तीजन्य पदार्थ खान्न’ भन्ने शपथ रहेको छ । मेरो वर्ष पुस्तिकाअन्तर्गत मेरा ५ प्रतिबद्धता, स्वास्थ्य जीवनको आवश्यकता शीर्षकमा स्वस्थ रहन ५ प्रतिबद्धताको आवश्यक रहेको उल्लेख छ ।

Citizen


म नियमित व्यायाम गर्छु, म स्वस्थ र पोषिलो खाना खान्छु, म नियमित स्वास्थ्य परीक्षण गराउँछु र म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहन्छु भन्ने वाक्य लेखिएको छ । प्रजिअ ढकालले सबै पढेर सहभागीलाई शपथ खुवाएका हुन् । ‘हामीले आजदेखि रक्सी, चुरोट र सुर्तिजन्य पदार्थ नखाने प्रतिबद्धता जनाएका छौं । यो एक खालको कसम हो । हामीले कसम खाएका छौं’ उनले भने, ‘आफू स्वस्थ रहन प्रतिबद्धता र आफ्नो प्रतिबद्धतामा कार्यान्वयनको खाँचो छ ।’ स्वास्थ्य कार्यालयमा बिहीबार आयोजित कीटजन्य रोगहरू तथा कुष्ठरोगसम्बन्धी सरोकारवाला संस्थासँगको समन्वयात्मक बैठक तथा अभिमखीकरणअघि सहभागीलाई शपथ खुवाइएको हो ।

स्वास्थ्य कार्यालय लमजुङका प्रमुख केशवप्रसाद चापागाईंले रक्सी, चुरोट र सुर्तीजन्य पदार्थ नखाएमा जीवनशैली सुधार भई मधुमेह, मुटुरोग, क्यान्सर, दीर्घ श्वासप्रश्वास रोगजस्ता नसर्ने रोगको जोखिम कम हुने बताए । गौंडा प्राथामिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा. दीपक लोहलाले व्यक्ति, परिवार तथा समुदायको स्वास्थ्यका लागि धूमपान र मध्यपानबाट टाढै रहनुपर्ने बताए । लमजुङ मोडेल अस्पतालका निर्देशक डा. तिलकबाबु घिमिरेले धूमपान र मध्यपानबाट नसर्ने खालका तर जटिल समस्या देखिने भएकाले धूमपान र मध्यपान नगर्न सुझाए ।

बेंसीसहर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद तिवारीले ५ प्रतिबद्धताको पालना आफूले मात्रै नगरी आफ्ना कार्यालय, परिवारमा पनि लागू गर्नुपर्ने बताए । ‘म मेरो कार्यालय र परिवारमा सकेसम्म लागू गर्छु । लागू गर्न प्रतिबद्धताको खाँचो छ,’ उनले भने ।

प्रकाशित : चैत्र १, २०७५ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्

गर्भवतीलाई अण्डा

कान्तिपुर संवाददाता

बागलुङ — नियमित गर्भ परीक्षणका लागि आउने महिलालाई वडा कार्यालयले एक/एक क्यारेट अण्डा दिन थालेको छ । बागलुङ नगरपालिका–५ ले हरेक पटकको स्वास्थ्य परीक्षणमा गर्भवतीलाई नियमित अण्डा दिन थालेको हो । गर्भवती महिलाले गर्भधारणपछि प्रसूतिको अवस्थासम्म कम्तीमा चारपटक स्वास्थ्य परीक्षण गराउनुपर्छ । 

उनीहरूको शरीरमा पोषणको मात्रा पुर्‍याउन सजिलो होस् भनेर वडा कार्यालयले विनियोजन गरेको स्वास्थ्यको बजेटबाट यो सेवा दिएको हो । चालु वर्षका लागि वडाले ५० हजार रुपैयाँ यो शीर्षकमा छुट्याएको वडाध्यक्ष शिवप्रसाद सापकोटाले बताए । सुआहारा कार्यक्रमले महिलाको स्वास्थ्य सुधारका लागि नियमित पोषण खुवाउने परामर्श गर्दै आएको थियो ।

चालु वर्षका लागि भने बजेट छुट्टयाएर अण्डा वितरण गर्न थालिएको हो । स्थानीय स्वास्थ्यचौकी र नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनले यो अभियानमा सघाएका छन् । अहिलेसम्म यो वडाले २७ महिलालाई नियमित अण्डा दिइएको स्वास्थ्यचौकी प्रमुख महेन्द्र शर्माले बताए ।

यो सेवा पाउन थालेपछि सदरमुकामस्थित बागलुङ बजारम डेरा लिएर बसेका, माइतमा बसेकाहरू पनि अण्डा पाउने आसले नियमित स्वास्थ्य परीक्षणका लागि आएको शर्माले बताए । यो सेवाले गर्भवतीहरूमा नियमित स्वास्थ्य परीक्षण गर्ने बानीको विकास गरेको स्थानीय भगवती रेग्मीले बताइन् । ‘सेवा सुविधा पाउने आसले नियमित परीक्षणमा आएकी हुँ’ उनले भनिन्, ‘स्वास्थ्यकर्मीले हरेक दिन सागपात, गेडागुडी र दूध तथा माछामासु खान पनि सल्लाह दिएका छन् ।’ महिलाको पेटमा गर्भ बसेदेखि बच्च जन्मेको दुई वर्षसम्म उचित पोषणको मात्र पुर्‍याउन सकियो भने शिशुको बौद्धिक र शारीरिक क्षमता राम्रो बन्ने शर्माले बताए ।

प्रकाशित : चैत्र १, २०७५ ११:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्