ज्याग्दीखोला करिडोर डीपीआर तयार

प्रतिक्षा काफ्ले

(स्याङ्जा) — जिल्लाको दक्षिण भेगको विकासको प्रमुख मेरुदण्ड मानिएको ज्याग्दीखोला करिडोर निर्माणका लागि डीपीआर तयार भएको छ । उक्त करिडोर नवलपरासीको सुस्ता र मुस्ताङ हुँदै चिनियाँ नाका कोरला जोड्ने छोटो दूरीको हुने प्राविधिक बताउँछन् । डीपीआर तयारीसँगै निर्माण कार्य पनि थालिएको छ । 

ज्याग्दीखोला करिडोर डीपीआर तयार

तनहुँको शुक्लागण्डकी नगरमा पर्ने दुलेगौंडादेखि स्याङ्जाको चापाकोट नगरको दामाचौरसम्म सडक निर्माणका लागि डीपीआर तयार पारिएको हो । सिद्धार्थ राजमार्गको वैकल्पिक रुट हुने भनिएको ज्याग्दी करिडोर स्याङ्जामा मात्र ४५ किलोमिटर पर्दछ । तनहुँको दुलेगौंडा हुँदै स्याङ्जा र पाल्पाको रामपुर जोड्ने यो करिडोरको २९ किमिका लागि डीपीआर तयार भएको बिरुवा गाउँपालिका–६ का वडाध्यक्ष कृष्ण क्षत्रीले बताए । ज्याग्दी करिडोरले गण्डकी र ५ नम्बर प्रदेशलाई जोड्छ ।


ज्याग्दी करिडोरले दक्षिणतर्फ तराईको नाका सुस्ता र उत्तरतर्फ मुस्ताङ् हुँदै चीनको नाका जोड्नुका साथै सबैभन्दा छोटो दूरीको करिडोरका रूपमा स्थापित हुने गण्डकी प्रदेश सांसद मीनप्रसाद गुरुङले जानकारी दिए । भौतिक पूर्वाधार तथा विकास संघीय मन्त्रालयबाट चालु आर्थिक वर्षमा करिडोरको ११ किलोमिटर सडक पिच गर्नका लागि १ करोड रुपैयाँ विनियोजन भएको गुरुङले बताए ।


यतिबेला करिडोरको काम धमाधम सुरु भइरहेको छ । जिल्लाका प्रदेश सांसदद्वय दीपक थापा र मीनप्रसाद गुरुङ साथै गण्डकी प्रदेशका भौतिक पूर्वधार तथा विकासमन्त्री रामशरण बस्नेतलेसमेत मंगलबार ज्याग्दी करिडोरको अवलोकलन गरी छोटो समयमा नै निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएका छन् । गण्डकी प्रदेशबाट पनि यसै वर्ष करिडोरका लागि २० लाख रुपैयाँ विनियोजन गरिएको भौतिकमन्त्री बस्नेतले कान्तिपुरलाई जानकारी दिए ।


यहाँका स्थानीयलाई हालै मात्र पनि सिद्धार्थ राजमार्ग हुँदै यात्रा गर्नुपर्ने बाध्यता छ । ज्याग्दी करिडोर निर्माण सम्पन्न भएसँगै सिद्धार्थ राजमार्गभन्दा छोटो दूरीमा यात्रा गर्न सकिने र यहाँ उत्पादित वस्तुको बजारीकरणमा सहज पुग्ने वडाध्यक्ष क्षत्रीले बताए । ‘अहिले यो ठाउँमा उत्पादित वस्तुले बजार देख्न पाउँदैन’ उनले भने, ‘बजारीकरणको सुविधा छैन । यसकारण पनि यहाँ बसोबास गर्ने मानिस आफ्ना घरपरिवारलाई पुग्ने मात्र खेती गर्दै आएका छन् । करिडोर बनेसँगै प्रत्येक घरधुरी व्यावसायिक उत्पादनमा जोडिन्छन् ।’


उनले स्याङ्जाको दक्षिणी भेग विकासमा पछाडि परेकाले नै यहाँका बासिन्दा बसाँइसराइ गर्ने क्रम ह्वात्तै बढ्दै गएको गुनासो गरे । ज्याग्दी करिडोरलाई बहुवर्षीय योजनामा लैजानका लागि फाइल तयार भइसकेको बिरुवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज आचार्यले जानकारी दिए । ‘द्रुत रूपमा निर्माण गर्नको लागी ज्याग्दी करिडोरलाई बहुवर्षीय योजनामा पार्नुपर्छ भनेर फाइल तयार गरियो’ उनले भने, ‘एकैपटक बजेट विनियोजन गर्दैमा विकास निर्माणका कार्यले गति लिन्छ भन्ने होइन । बहुवर्षीय योजना भयो भने मात्रै पनि छोटो समयमा गुणस्तरयुक्त बनाउन मद्धत पुग्छ ।’


बहुवर्षीय योजनाको फाइल बिरुवा गाउँपालिका हुँदै सडक डिभिजन कार्यालय पोखरा, पोखराबाट सोही फाइल सडक विभाग पुलचोक हुँदै अर्थ मन्त्रालयमा गएर थन्किएको आचार्यले जानकारी दिए । ज्याग्दी करिडोर सम्पन्न गर्नका लागि ४८ करोडको लागतमा स्टिमेट तयार गरी बुझाइएको उनले बताए । ८ मिटर चौडाइ कायम गरी निर्माण थालिएको ज्याग्दी करिडोर सम्पन्न भएपश्चात् दक्षिण भेगका जनता सिद्धार्थ राजमार्गमा झर्नुपर्दैन । रामपुर हुँदै मधेस र उत्तरको दुलेगौंडा हुँदै गण्डकी प्रदेश र संघीय राजधानी पुग्न सकिने उनले बताए ।


करिडोरले सिद्धार्थ राजमार्ग पनि छुन्छ । राजमार्ग छुँदै उमेशचन्द्र मार्ग हुँदै नागडाँडा–कार्कीनेटा सडक जोड्ने काम पनि गर्ने प्रदेश सांसद गुरुङ बताउँछन् । पर्वत, बागलुङ र म्याग्दी हुँदै छोटो दूरीमा मुस्ताङ् पुगिने भएकाले यस करिडोरलाई संघीय र प्रदेश दुवै सरकारले प्राथमिकताका साथ काम गरेको उनले जानकारी दिए । ज्याग्दी करिडोरलाई सपोर्ट गर्नको लागि गण्डकी प्रदेश सरकारको नयाँ योजनाअनुरूप शालिग्राराम करिडोरको पनि स्थापना गर्न थालिएको भौतिकमन्त्री बस्नेतले बताए । उनका अनुसार दुई प्रदेशका धार्मिक तथा पर्यटकीय गन्तव्यलाई मध्यनजर गर्दै नयाँ करिडोरको तय गरिएको हो ।


शालिग्रााम करिडोर नवलपरासीको त्रिवेणीधामबाट देवघाट हुँदै सुरु हुने मन्त्री बस्नेतले बताए ।


प्रकाशित : चैत्र १, २०७५ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?