कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

छिटो घर बनाउनेलाई ढिलो अनुदान

प्रकाश बराल

बागलुङ — भूकम्पले भत्काएको घर बनाउन बडीगाड गाउँपालिका ५ का गणेश थापाले सहयोग खोजेनन् । आफैं बनाए । थातबास अहिले व्यवस्थित छ । 

लाभग्राहीमा सूचीकृत भए पनि उनले पुनर्निर्माण प्राधिकरणबाट पाउने पैसा नपाएको गुनासो गरे । बस्ने ठाउँ अभाव भएपछि हतारहतार बनाएको घरको ऋण तिर्न उनले पाउने पैसाको खोजी गरिरहेका छन् । तर तोकिएको मापदण्ड नपुगेको भन्दै प्राधिकरणले किस्ता दिन आनाकानी गरेको छ ।


थापा जस्तै अहिले जिल्लामा १ सय ७० भन्दा बढी घर यस्तै समस्यामा छन् । ती घरलाई अनुदान उपलब्ध गराउन तोकिएको मापदण्ड पुग्नुपर्ने प्राधिकरणको व्यवस्था छ । ‘केही घरको अवस्था विश्लेषणका लागि पठाएका छौं,’ प्राधिकरणको बडिगाड गाउँपालिका हेर्ने इन्जिनियर रक्षा श्रेष्ठले भनिन्, ‘स्वीकृति आयो भने के गर्ने भन्ने यकिन हुन्छ र अनुदान दिन सकिन्छ ।’ उपभोक्ताले घर बलियो बनाएर बसेकै भए पनि प्राधिकरणले तोकेका ७ प्रकारका डिजाइनमध्येको एक डिजाइन हुनै पर्ने बाध्यात्मक व्यवस्था छ ।


लाभग्राहीले भने किस्ता पाउन झन्झट भएको भन्दै काम सकेर पनि अनुदान नपाएको टिप्पणी गरे । ‘मैले घर बनाउँदा ५ लाख खर्च गरेको छु,’ थापाले भने, ‘अनुदान पाउनका लागि मैले के गर्नुपर्छ भन्ने सल्लाह पाउन सकेको छैन ।’ घरमुलीको मृत्यु भएकाले नामसारी गर्नुपर्ने, सामान्य डिजाइन फेर्ने वा रेक्ट्रोफिटिङ गर्नुपर्ने कुराले अधिकांशको अनुदान रोकिएको हो ।


यस्तै समस्या बडिगाडकै पञ्चवीर थापाको पनि छ । उनले पहिलो किस्ता रकम पाए पनि अन्य काम झन्झट भएकाले कामै छाडेको बताए । प्राधिकरणले भने कामै नगरेको भेटिएमा पहिलो किस्ता लगेकालाई फिर्ता गराउने तयारी समेत गरेको छ । ‘राज्यले जिम्मा लिएको होइन, नागरिकलाई सहयोग र साथ दिएको हो,’ प्राधिकरणका जिल्ला आयोजना प्रमुख राम आशिष साहले भने, ‘कामै नगरेको, मापदण्ड पालना नगरेको वा बेवास्ता गरेको भए त फिर्ता गर्नुपर्ने हुन्छ ।’ काम गरे पनि सामान्य त्रुटि भेटिएमा मर्मत गर्न सकिने, रेक्ट्रोफिटिङ गर्न सकिने जस्ता उपाय उनले बताए ।


प्रािधकरणले मूल्यांकन र अनुगमनको क्रममा लाभग्राहीको जस्तै इन्जिनियरको पनि गुनासो सुन्नुपरेको छ । गाउँमा खटिएका अधिकांश इन्जिनियरले सेवा सुविधा नपाएकाले घरघरमा पुगेर हेर्न नसकेको टिप्पणी पनि गरे । ‘समयमा तलब पाइएको छैन, दैनिक फिल्ड जानुपर्छ भत्ता पनि पाइएन,’ एक इन्जिनियरले भने । प्राधिकरणले उनीहरूको समस्या सम्बोधन गर्न पहल गरेको साहले बताए ।


२०७२ सालको भूकम्पले बागलुङका २ हजार ३ सय ७५ घर पूर्ण क्षति भएका थिए । कम क्षति भएका जिल्लामा परेकाले कार्यक्रम ढिला सुरु भएको शाह बताउँछन् । तीमध्ये अहिलेसम्म २ हजार १ सय १० घरले सम्झौता गरेका छन् । २ सय ७० घरले सम्झौता पनि नगरेका हुन् । ती सबैले पहिलो किस्ता लगे पनि दोस्रो किस्ता लैजानेमा १ हजार १४ घर मात्र छन् ।


तेस्रो किस्ता लैजाने ५ सय ४९ घर पुगेको उनले बताए । जिल्लाभित्र चालु वर्ष ४० वटा विद्यालय र बुर्तिवाङदेखि तमानखोला जाने एक सडकको १० किमि खण्ड पुनर्निर्माणको काम भइरहेको छ । ती पूर्वाधार बनिसकेपछि आगामी वर्ष थप विद्यालय निर्माण गरिने जिल्ला आयोजना अनुगमन समितिका संयोजक राजेन्द्र ढुंगानाले बताए ।

प्रकाशित : चैत्र ३, २०७५ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?