शिविरमा बिरामीको ओइरो

पर्वत — नगरभित्रै विशेषज्ञ सेवा दिने उद्देश्यले आयोजना गरिएको शिविरमा करिब दुई हजार बिरामीको उपचार गरिएको छ । फलेबास नगरपालिकाले नगरकै बजेटबाट दीर्घरोगीको विशेष परीक्षण र चेकजाँच गर्न दुईदिने शिविर सञ्चालन गरिएको हो ।

फलेबास–५ खानीगाउँमा बृहत् स्वास्थ्य शिविर शुक्रबार र शनिबार सञ्चालन गरियो । फलेबास नगरपालिकाको आयोजना र चितवन मेडिकल कलेजको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको नगरपालिकाका प्रवक्ता टीकाराम गौंडेलले बताए ।


नगरपालिकाभित्रका सर्वसाधारणलाई लक्षित गरी आयोजना गरिएको स्वास्थ्य शिविरमा हाडजोर्नी, मुटुरोग, जर्नल मेडिसिन, स्त्रीरोग, बालरोगलगायत नाक, कान, घाँटीरोगका बिरामीको जाँच गरी निःशुल्क औषधि वितरण गरिएको फलेबास नगरपालिका नगरप्रमुख पदमपाणि शर्माले बताए ।


‘नगरभित्र गतिला स्वास्थ्य संस्था छैनन् । विपन्नले उपचार गर्न पैसाको बिटो बोकेर सुविधासम्पन्न अस्पताल जान सक्दैनन्,’ शर्माले भने, ‘खर्च अभावले रोग लुकाएर बस्न नपरोस् भनेर गाउँमै विशेषज्ञसहितको शिविर सञ्चालन गरेका हौं ।’ शिविरमा नगरका ११ वटै वडाबाट आउने बिरामीलाई यातायातको व्यवस्थासमेत नगरपालिकाले गरेको थियो ।


शिविरमा धेरैजसो हाडजोर्नी, मुटु र स्त्रीरोगीले जाँच गराएका चितवन मेडिकल कलेजका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. श्याम रेग्मीले बताए । शिविरमा चितवन मेडिकल कलेजका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. श्याम रेग्मीसहित अन्य विशेषज्ञ डाक्टरहरूले स्वास्थ्य परीक्षण गरेका थिए ।


फलेबास स्वास्थ्य शाखाका संयोजक विजय क्षत्रीका अनुसार स्वास्थ्यचौकीहरूमा आउने बिरामीको अवस्थालाई मध्येनजर गर्दै शिविरमा आउनेहरूका लागि उपचारको व्यवस्था गरिएको छ । उनका अनुसार गम्भीर रोगका बिरामीलाई सुविधासम्पन्न अस्पतालसम्म आउने–जाने खर्चको व्यवस्थासमेत गरिएको छ । शिविर सञ्चालन गर्नले आफूहरूलाई राहत मिलेको नगरवासीले बताएका छन् ।


शिविरमा नगरका ११ वटै वडाका नागरिकले स्वास्थ्य परीक्षण गराएको नगरपालिकाले जनाएको छ । बिरामीहरूलाई भिडियो एक्स–रे लगायतका प्राविधिक सुविधा स्थानीय धुलिखेल स्वास्थ्य केन्द्रले प्रदान गरेको थियो ।

प्रकाशित : चैत्र ३, २०७५ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?