५६७ मिटर अग्लो पुल बन्ने

प्रकाश बराल

बागलुङ — बांगेचौर र पर्वतको पाङ जोड्ने ५ सय ६७ मिटर लामो र अग्लो झोलुंगे पुल निर्माणको काम सुरु भएको छ । सस्पेन्सन ब्रिज विभागको ६ करोड ९१ लाख रुपैयाँमा ठेक्का पाएको थानी बीएलटी हिमसिखर संयुक्त निर्माण सेवाले सोमबारदेखि काम थालेको हो ।

दुई वर्षभित्र सक्ने यो पुल नेपालकै लागि नयाँ प्रविधिको हुने विभागका इन्जिनियर सागरराम नेपालले बताए । ‘नेपालमा अहिलेसम्म ३ सय ५० मिटर लामा पुल मात्र बन्ने गरेका थिए,’ उनले भने, ‘नेपाली प्रविधिले नबन्ने भएपछि प्राविधिक टोलीले चीनमा अध्ययन गरेर फर्केपछि चिनियाँ प्रविधि पनि ल्याउने भएको हो ।’ निर्माणका लागि विभागले ५० लाख रुपैयाँमा दुईवटा बिन्च मेसिन ल्याउन लागेको उनले बताए । ‘प्राविधिक रूपमा चुनौतीका बीच काम गरिँदैछ,’ उनले भने, ‘खरिद गरिएका मेसिनले यो पुल सफल भएमा देशभरका अन्य धेरै ठाउँमा पनि बनाउन सकिन्छ ।’


पाङबाट बागलुङ बजार आउनेले दैनिक एकदेखि डेढ घण्टा पैदल हिँड्न बाध्य छन् । दैनिक कार्यालय आउने, तरकारी र अन्नपात बिक्रीका लागि आउने किसानले पिठ्युँमा भारी बोकेर कष्टपूर्ण यात्रा गर्नुपर्छ । पाङदेखि मालढुंगा झर्ने गोरेटो बाटो भीरमा अत्यन्त जोखिम छ । भीरको बाटो र जंगलसमेत भएकोले महिला र बालबालिका एक्लै हिँड्न पनि सक्दैनन् । पुल बनेपछि यो समस्या हट्ने पाङका देवेन्द्र रिजालले बताए । कालीगण्डकी नदीमा बन्ने उक्त पुलले पर्यटकीय आकर्षणसमेत दिने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए ।


दशकअघिदेखि बागलुङ उद्योग वाणिज्य संघ, नगरपालिका, राजनीतिक दल र सामाजिक अगुवाले यहाँ पुल बनाउन पहल गरेका थिए । प्राविधिक समस्याले रोकिएको योजनाका लागि अर्थ मन्त्रालयले बजेट निकासा गरेर चिनियाँ प्रविधि ल्याउन सम्झौता भएपछि बाटो खुलेको हो । बागलुङदेखि पाङको अदुवाबारी जोड्ने अग्लो र लामो झोलुंगे पुल बनेपछि अहिलेसम्मकै परिचय समेत फेरिनेछ । अहिलेसम्म कतै बन्न नसकेको ५ सय ६७ मिटर लामो र १ सय ६० मिटर अग्लो पुलले परिचय बदल्ने जनप्रतिनिधि बताउँछन् ।


२०५९ सालमा प्रारम्भिक सर्भे भएको यो पुल प्रविधिकै कारण रोकिएको थियो यो पुलको कामबाहेक आसपासमा बनाइने पर्यटकीय आकर्षणका पूर्वाधारसमेतमा १० करोड खर्च हुने पौडेलले बताए । यो प्रविधि सफल भएमा देशभर धेरै काम गर्न सकिने ठेकेदार नरहरि खड्काले बताए । ‘प्रविधि सिक्नका लागि केही समय चिनियाँ प्राविधिक पनि बोलाउनुपर्छ’ खड्काले भने, ‘एउटा काममा ढिला भए पनि अरू धेरै काम अब सजिलै गर्न सकिने भयो ।’ २०७७ को असार मसान्तमा पुल सञ्चालन गर्ने उनले प्रतिबद्धता जनाए । यो पुलमा २२ वटा लट्ठा प्रयोग हुनेछन् ।


बागलुङ नगरपालिकाले यो पुललाई पर्यटकीय केन्द्र बनाउने तयारी गरेको छ । ‘खर्च बढी भएर केही छैन, हामीले देशभरका पर्यटक भिक्रने सहायक कार्यत्रम सञ्चालन गर्छौं’ नगरप्रमुख पौडेलले भने, ‘आकर्षक बत्ती जडान, दृश्यावलोकनसहित कसरी आकर्षण बनाउने भन्ने तयारीमा छौं ।’ यो पुलबाट धौलागिरि हिमाल, बागलुङकालिका र कालीगण्डकी नदीको बहावको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ । कालीगण्डकी कोरिडोर र मध्यपहाडी लोकमार्गको चौबाटोसमेत यो पुलबाट देख्न सकिन्छ ।

प्रकाशित : चैत्र ५, २०७५ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?