२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

एउटै वडामा दुई स्वास्थ्यचौकी

बागलुङ — दुईवटा गाउँबीचको विवादले तीन वर्षदेखि अलपत्र परेको यहाँका दुई स्वास्थ्यचौकीका भवन निर्माण सुरु भएको छ । संघीय र प्रदेश सरकारले छुट्टाछुट्टै जिम्मा लिएपछि काठेखोला–३ धम्जामा दुईवटा चौकी निर्माण थालिएको हो ।

एउटै वडामा दुई स्वास्थ्यचौकी

आर्थिक वर्ष २०७२/७३ मै पूरा हुनुपर्ने काम विवादले सुरु हुनै सकेको थिएन । संघीय सरकारले धम्जा देउरालीमा इलाका स्वास्थ्यचौकी र प्रदेश सरकारले सायकटेरामा सामुदायिक बहुद्देश्यीय भवनसहित स्वास्थ्य इकाइ बनाउने सहमति भएपछि विवाद सुल्झिएको हो । विवाद निरुपणपछि दुवै ठाउँमा शिलान्यास गरेर भवन निर्माण थालिएको छ । अघिल्ला वर्षको विनियोजित बजेट भने कामै नभएर फिर्ता भएको थियो ।


संघीय सरकारमार्फत देउरालीमा निर्माण गरिने स्वास्थ्यचौकीका लागि १ करोड ४५ लाख रुपैयाँमा जुम्ली आचार्य संयुक्त निर्माण सेवाले ठेक्का लिएको छ । डेढ वर्षमा निर्माण सक्ने यो चौकीमा १८ कोठा बन्नेछन् । यहाँ बर्थिङ सेन्टर, परामर्श केन्द्र, ल्याब र बिरामी जाँच्ने कोठाहरू रहनेछन् । यो केन्द्रले धम्जासहित ताराखोला गाउँपालिकाको अर्गल र अमरभूमिलाई पनि सेवा दिनेछ ।


स्थानीयले ४ रोपनी जमिन निःशुल्क उपलब्ध गराएपछि भवन निर्माणको बाटो खुलेको अध्यक्ष यामबहादुर श्रीषले बताए । ‘स्वास्थ्य संस्था भरपर्दो भएमा बसाइँसराइ रोकिन्छ’ उनले भने, ‘गाउँको साख जोगाउन पनि शिक्षा र स्वास्थ्य सेवा गुणस्तरीय बनाउनुपर्छ ।’ गण्डकी प्रदेशका भौतिक योजना तथा पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले भवन शिलान्यास गरेका छन् ।


धम्जाकै सायकटेरामा सामुदायिक स्वास्थ्य इकाइ निर्माणका लागि पनि स्थानीयले चार रोपनी जमिन उपलब्ध गराएका छन् । उक्त जग्गामा गण्डकी प्रदेश सरकारको २ करोड ६५ लाख रुपैयाँको लागतमा अत्याधुनिक भवन निर्माण गरिनेछ । यो भवन बनेपछि तंग्राम, धम्जा र भीमापोखराका बासिन्दाले स्वास्थ्य सेवा पाउनेछन् । तिलक निर्माण सेवाले ठेक्का लिएको भवन पनि डेढ वर्षमा सक्नु पर्नेछ ।


‘प्रभावकारी स्वास्थ्य सेवा नभएकाले सुत्केरी गराउन पनि जिप रिजर्भ गरेर उपचारका लागि सदरमुकाम लैजानुपर्थ्यो’ स्थानीय गोविन्द भण्डारीले भने, ‘अब यहींको सुविधाले महिला सुरक्षित बन्न पाउनेछन् ।’ वर्षात्मा जिप चल्न नसक्दा डोकोमा बोकेर सदरमुकाम लैजाने समस्या हट्ने उनले बताए । स्वास्थ्यकर्मी भए पनि भवन र उपकरण अभावमा यहाँको स्वास्थ्य अवस्थामा समस्या थियो ।


काठेखोला गाउँपालिकाका अधिकांश गाउँमा भौगोलिक कठिनाइले स्वास्थ्य सेवा प्रभावकारी थिएन । सबै स्वास्थ्यचौकीसम्म स्तरीय बाटो बनाएर नियमित स्वास्थ्य सेवा सञ्चालनमा सहयोग गर्ने जनप्रतिनिधिले पनि प्रतिबद्धता जनाएका छन् । ‘दुवै स्वास्थ्य संस्था बनिसक्दा दुवैतर्फका सडक स्तरीय बनाइने छ’ गाउँपालिका अध्यक्ष अमर थापाले भने, ‘सहजै उपचारका लागि जान सक्ने सडक र संस्थामा उपकरण खरिदमा सहयोग गर्छौं ।’ नियमित स्वास्थ्य सेवाका लागि गाउँपालिकाले स्वास्थ्यकर्मीलाई प्रोत्साहनका कार्यक्रम ल्याउने उनले बताए ।


जिल्लाका केही वडामा मात्र स्वास्थ्यचौकी निर्माण गर्न बाँकी छ । ‘विवाद भएका, जग्गा उपलब्ध गराउन नसकेका र प्राविधिक कारणले समस्या आएका स्थानमा भवन बन्न बाँकी छ’ जिल्ला स्वास्थ्यका वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपक तिवारीले भने, ‘चालु वर्ष पनि धेरै भवन बनिसकेपछि सेवा र उपकरणमा हामी अब्बल बन्छौं ।’ उनले प्राथमिक स्वास्थ्य केन्द्रझैं केही चौकी तहमा पनि डाक्टरसहितको उपचार सेवा विस्तार गर्ने योजना सुनाए ।

प्रकाशित : चैत्र ५, २०७५ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?