१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

भिरालोमा अम्रिसो खेती

नवलपुर — केही वर्षअघिसम्म पहाडको सुन भनेर चिनिने अदुवाले राम्रो बजार भाउ पाउन छाडेपछि पूर्वी नवलपरासीको पहाडी भेगका स्थानीय व्यावसायिक अदुवासँगै अम्रिसो खेतीतर्फ आकर्षित भएका छन् । खोरिया फाँडेर लगाएको मकै र भटमासले वर्षको तीन महिना पनि खान नपुग्ने भएपछि जिल्लाको पहाडी क्षेत्रमा व्यावसायिक अम्रिसो खेतीतर्फ आकर्षित भएका हुन् । 

भिरालोमा अम्रिसो खेती

‘सुरुका केही वर्ष अदुवाले हाम्रो दैनिक जीवनमा नै सुधार ल्यायो तर अहिले नबिकेर घरमा नै राख्नुपर्ने अवस्था आएको छ ।’


धौवादीका देवबहादुर पुलामीले भने, ‘भिरालोमा अदुवा, बेसार, भट्ट, तरुल मात्र हुन्छ । यतिले गुजारा चलाउन गाह्रो छ । अदुवा बेचेर छोराछोरीको पढाइदेखि घर खर्च राम्रै चलेको भए पनि बिचौलियाको कारण सस्तोमा बेच्नुपर्ने बाध्यता आएपछि अम्रिसो पनि लगाउन सुरु गरेको हो ।’


आफ्ना पुर्खाले भीरपाखामा रहेको अम्रिसो काटेर कुचो बनाउने गरेको थाहा भए पनि यसलाई नै व्यावसायिक खेतीका रूपमा विकास गर्न सकिन्छ भन्ने कुरा भने स्थानीयलाई पत्तो थिएन । गाउँमा आयआर्जनका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्था र सामुदायिक वनले अम्रिसो खेतीबाट समेत आम्दानी लिन सकिन्छ भन्ने थाहा पाएपछि पहाडका भीरपाखा र खाली स्थानमा अहिले अम्रिसोले ढाकेको छ । रुचाङका हेमन्त मगरले सुरुमा अम्रिसो लगाउँदा सबैले उनलाई गाली गरेका थिए ।


तर अहिले सबैका कान्लामा हरियाली भएको छ । ‘कुनै पनि कुराको सधैं माग हुँदैन, त्यसैले वैकल्पिक उपाय सोच्नुपर्दोरहेछ,’ मगरले भने, ‘अदुवा मात्रै भनेर बस्दा जीविका चलाउनै गाह्रो हुन थालेपछि सबैले अदुवासँगै अम्रिसो लगाउन थाल्यौं ।’ गोडमेल गर्नु नपर्ने, औषधि तथा सिँचाइको समेत आवश्यकता नपर्ने हुँदा किसान यसतर्फ आकर्षित भएका हुन् ।


बजारका लागि कुचो बनाएर कावासोती, नारायणगढ , बुटवल र काठमाडौंसम्म स्थानीय आफैंले लगेर बेच्ने गरेका छन् । धौवादी, रुचाङ, डाँडाझेरीका किसानले अम्रिसोको घाँस, दाउरा, कुचो तथा भूक्षय समेत रोकिने हुँदा किसानहरू यसतर्फ आकर्षित भएका हुन् । खोरिया फँडानी छाडेर नगदेबालीतर्फ स्थानीय आकर्षित भएपछि आर्थिक आम्दानीसमेत बढेको छ ।

प्रकाशित : चैत्र ५, २०७५ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?