विजयपुर पुल : विकल्पमा बेलिब्रिज

दीपक परियार

लेखनाथ — स्टिल बिम चर्किएपछि धराप भएको पोखरा प्रवेश मार्गको विजयपुर पुलको विकल्पमा बेलिब्रिज राखिने भएको छ । पृथ्वीराजमार्गबाट पोखरा प्रवेश गर्ने पुलको मर्मत अवधिभर बेलिब्रिज राख्ने सडक डिभिजन पोखराले तयारी गरेको हो । 

विजयपुर पुल : विकल्पमा बेलिब्रिज

कार्यालयले सडक विभागसँग दुई लेनको बेलिब्रिज माग गरेको छ । डिभिजनल प्रमुख हरिकुमार पोखरेल मर्मत गर्न एक महिनाभन्दा बढी लाग्ने भएकाले सवारी आवागमनमा बाधा नपुर्‍याउन बेलिब्रिजको तयारी गरिएको बताउँछन् । ‘मर्मतका लागि भार शून्य बनाउँदा सवारी आवतजावतमा समस्या हुन्छ,’ उनले भने, ‘अन्य वैकल्पिक व्यवस्था नभएकाले बेलिब्रिज राख्नुपर्छ ।’


विजयपुर खोलामा हाल चर्किएका क्रस मेम्बरमा ‘स्प्लाइसिङ’ गर्ने कार्य भइरहेको छ । क्रस मेम्बर र बटम कर्डका ११ ठाउँमा चिरा परेका छन् । पुल मर्मतका क्रममा भार कम गराउन हेभी लोड भएका सवारीलाई डाइभर्सन प्रयोग गर्न दिइएको छ । पुलभन्दा दुई सय मिटरमाथि ह्युमपाइप राखेर डाइभर्सन तयार गरिएको छ । पोखरा भित्रिने र बाहिरिने १० टनभन्दा बढी तौल भएका सवारीले डाइभर्सन प्रयोग गर्छन् । डिभिजनल प्रमुख पोखरेल लामो समय डाइभर्सन प्रयोग गर्न नमिल्ने भएकाले बेलिब्रिज विकल्प भएको बताउँछन् ।

मुख्य पुलको मुनिबाट मध्यभागमा फलामे पिल्लरले सहायता दिएर मर्मत चलेको छ । चितवनको जलप नेपाल कम्पनीका कामदारले काम गरिरहेका छन् । चर्किएका ११ ठाउँमा ‘स्प्लाइस’ थपिनेछन् । चर्किएको स्थानमा दुवैतिरबाट स्टिल पाता थपेर नटबोल्टले कस्ने कार्यलाई ‘स्प्लाइसिङ’ भनिन्छ । पुलमा रंगरोगन गर्ने क्रममा दुई हप्ताअघि कामदारले चर्किएको देखेपछि सडक डिभिजन कार्यालयलाई खबर गरेका थिए । कार्यालयले एक हप्ताअघिदेखि मर्मत थालेको हो ।


पुल नै भत्काउनुपर्ने जोखिम

काठमाडौंको पुलचोक इन्जिनियरिङ क्याम्पसका सिभिल विभाग प्रमुख डा. भरत मण्डलको टोलीले गत साता पुलको अवलोकन गरी फर्किएको थियो । क्याम्पसको टोली बुधबार पुनः आएर विस्तृतमा अध्ययन गर्नेछ । पुलको अन्य स्थानमा पनि क्षति भए–नभएको हेर्न स्टिल अल्ट्रासाउन्ड मेसिन नेपालमा छैन । टोलीले क्रेन प्रयोग गरी पुलको क्रस मेम्बर र बटम कर्डलाई नजिकबाट नियाली फोटो र भिडियोको माध्यमबाट अध्ययन गर्नेछ ।


डिभिजन सडक कार्यालय पोखराका प्रमुख हरिकुमार पोखरेल एक महिनाभित्र अध्ययनको निष्कर्ष निस्कने बताउँछन् । ‘अहिले भइरहेको मर्मत काफी हुने हो कि होइन भन्ने उक्त अध्ययनपछि मात्रै थाहा हुन्छ,’ उनी भन्छन्, ‘मर्मतले नधान्ने हो भने जोखिम लिन सकिँदैन । पुल नै भत्काउनुपर्ने पनि हुनसक्छ ।’ उनका अनुसार स्टिल स्ट्रक्चर पुलमा यस्तो समस्या नितान्त नौलो हो । पुलको डिजाइन गर्दा र अहिलेको लोडमा फरक परेकाले समस्या आएको हुन सक्ने उनको अनुमान छ ।


पुलको डिजाइन हुँदा भार बहन क्षमता ७० टन थियो । सडक डिभिजनले गरेको अध्ययनअनुसार हाल दैनिक ६ हजार सवारी पुलबाट ओहोरदोहोर गर्छन् । हाइड्रोपावरलाई आवश्यक सामग्री पुलबाटै ओसारपसार हुन्छ । टनका टन तौल हुने त्यस्ता सामग्री बोक्ने सवारी गुड्दा पुलमा क्षति पुग्छ ।


आधा घटेर ठेक्का

विजयपुर पुल बनाउन ठेकेदार कम्पनलीले सरकारी लागत अनुमानभन्दा आधा घटेर ठेक्का लिएको खुलेको छ । काठमाडौंका बीटी, इलाइट, बीपी र एड्भेन्चर कम्पनीको ज्वाइन्ट भेन्चरले पुल बनाएको हो । सडक विभागले पुल बनाउन ७ करोड ४७ लाख ६९ हजार रुपैयाँको लागत इस्टिमेट गर्‍यो ।


उनीहरूले ३ करोड ७० लाख ७६ हजार रुपैयाँमा पुल निर्माणको जिम्मा लिए । पुल बनाउन २०६० जेठ १५ मा सम्झौता भएको थियो । सुरुमा दुई वर्षभित्र निर्माण गरिसक्नुपर्ने सम्झौतामा थियो । उक्त अवधिमा निर्माण नसकिएपछि पुनः म्याद थपिदाँ २०६५ जेठमा मात्रै पुल सञ्चालनमा आयो । पुलको डिजाइन भने नेपाल इन्जिनियरिङ कन्सल्टेन्सीले गरेको हो ।


गण्डकी प्रदेशका अर्थ तथा विकास सभापति दीपक कोइराला घटिघटाउमा ठेक्का दिने प्रक्रियाले गुणस्तर कमजोर हुने डर रहने बताउँछन् । ‘सरकारी लागत इस्टिमेटभन्दा आधा नै घटेर ठेक्का लिँदा कम्पनीले कस्तो काम गर्लान् ?,’ उनी भन्छन्, ‘त्यसरी भएको कामको गुणस्तर परीक्षण जुन प्रक्रियाबाट हुँदै आएको छ त्यो पनि शंकास्पद छ ।’


उनले छानविन समिति नै बनाएर पुलको कमजोरी पत्ता लगाउने र कोही दोषी पाइए कारबाही अघि बढाउनुपर्ने पक्षमा आफू रहेको जनाए । हालै विजयपुर पुलको निरीक्षण गरेपछि उनले विजयपुर पुलको मर्मतलाई महत्त्व दिन संसद्मा ध्यानाकर्षण गराएका थिए । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समेत पुलको निरीक्षण गरी छिट्टै काम सक्न निर्देशन दिएका थिए ।

प्रकाशित : चैत्र ५, २०७५ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?