कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नगर बसमा ‘यात्रा कार्ड’ तयारी

भीम घिमिरे

पोखरा — सम्झौताअनुसार बेलैमा काम भइदिए अबको २ महिनापछि पोखराका नगर बसमा नियमित यात्रा गर्नेले भाडामा नगद पैसा तिर्नुपर्ने छैन  । खुद्रा भएन वा भाडा बढी लिएको भन्दै बसका चालक/सहचालकसँग हुने विवाद हट्नेछ  ।

नगर बसमा ‘यात्रा कार्ड’ तयारी

बसले निश्चित बिसौनीबाहेक घरैपिच्छे रोकेर झर्न भने दिने छैन । बैंकको डेबिड/क्रेडिट कार्डजस्तो ‘स्मार्ट टिकट’ चढदा र उत्रँदा बसभित्रको सेन्सर उपकरणलाई देखाइदिए ‘जीपीएस ट्रेकेर’ का आधारमा यात्रा गरेको दूरी बराबरको भाडा सफ्टवेयरले असुल गर्नेछ । काठमाडौंमा साझा र दिगो यातायातले प्रयोगमा ल्याएको सेवा नै पोखरामा पनि नगर बसमा लागू गर्ने तयारी गरिएको हो ।


महानगर क्षेत्रभित्र दैनिक सञ्चालनमा रहेका करिब आठ सयवटा बसमा प्रविधि जडान र सञ्चालनका लागि आइतवार महानगरपालिका, बस व्यवसायी र प्रविधि प्रदायक कम्पनी एन–क्लाउडबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । मेयर मानबहादुर जिसी, एन–क्लाउडका कार्यकारी प्रमुख दीपेन्द्रनारायण श्रेष्ठ र यातायात व्यवसायीहरूले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

‘यो पोखराका लागि नयाँ हुनेछ तर काठमाडौंमा साझा र दिगो यातायातले प्रयोगमा ल्याइसकेका छन्,’ श्रेष्ठले भने, ‘बढीमा हजार रुपैयाँसम्म कार्डमा रहन्छ । त्यो पैसा रहुन्जेल जीपीएसका आधारमा यात्रा गरेको दूरीको भाडा काटिन्छ । क्यास लेनदेन गरिहरनु पर्दैन ।’ तयारीका लागि अब बसहरूका कर्मचारीलाई तालिम दिएर कार्ड सेन्सर डिभाइस दिइने उनले बताए । ‘सकभर आगामी वैशाखको दोस्रो सातादेखि सञ्चालनमा ल्याउने प्रयास छ,’ उनले भने, ‘हामीले कार्डलाई सुरुमा कम्तीमा १ सय ४० मा बेच्ने र यात्रीले जति हजार रुपैयाँ पनि रिचार्ज गर्न पाउने सुविधा राख्ने भनेका हौं । यातायात व्यवसायीहरू सुरुवातमा कार्ड फ्रिमा दिऊँ भन्दै हुनुहुन्छ ।’

यात्रीले डिभाइसमार्फत तिर्ने भाडाको रकम नेपाल बैंकको खातामा जम्मा हुने र त्यसैबाट सम्बद्ध व्यवसायीको खातामा ट्रान्सफर हुनुका साथै महानगरपालिकाले करकट्टी पनि गर्नसक्ने उनले बताए । यात्रीले चढदा र उत्रँदा बसभित्र उपलब्ध डिभाइसमा कार्ड देखाउनु पर्नेछ । यात्रा गरेको दूरी जीपीएस ट्रेकिङमार्फत रेकर्ड गरेर सफ्टवेयरले भाडा बराबरको रकम कार्डबाट घटाउनेछ । बसभित्रको डिभाइस ‘अफलाइन’ पनि चल्ने भएकाले त्यसले राख्ने हिसाब इन्टरनेट कनेक्सन भएसँगै मूल सर्भरमा जानेछ । ई–टिकेटिङ सिस्टम जडान र नियमित सुचारु गर्नका लागि कम्पनीले पोखराका प्रत्येक बसबाट २ हजार २ सय रुपैयाँका दरले खर्च असुल्ने सहमति भएको छ ।


पोखरामा रहेका नगर बस सञ्चालन गरिरहेका पृथ्वी बस समितिसहित पोखरा बस ब्यवसायी समिति, श्रृंगा यातायात, बेगनासताल बस सञ्चालक समिति, विन्ध्यवासिनी बस व्यवसायी समिति, पोखरा फेवा यातायात प्रालि र ट्याक्सी व्यवसायी समिति ई–टिकेटिङको प्रणाली लागू गर्न सहमत रहेको व्यवसायीहरूले बताए । पृथ्वीका अध्यक्ष ऐनकुमार शाहीले भने ‘यो सिस्टम सुरु भएपछि बसले तोकेको भन्दा बढी भाडा असुल्यो भन्ने पेसेन्जरको गुनासो हट्नेछ । हामीलाई पनि हिसाब सजिलो हुनेछ ।’ नयाँ प्रविधि भएकाले सिक्न केही समय लाग्ने भए पनि शिक्षित बेरोजगार र प्रविधि रुचाउने युवाहरूलाई व्यावसायीले दिने रोजगारीको क्षेत्र बढ्न सक्ने उनले बताए । महानगरमा ३३ वटा वडा छन् । सबै वडामा नगर बस पुग्छन् । सबैभन्दा धेरै नगर बस मुख्य बजार क्षेत्रका लागि चल्छन् ।


पोखराका मेयर जिसी नयाँ प्रविधि भित्र्याउने सहमतिसँगै महानगरले अब बस बिसौनीहरू व्यवस्थित गर्ने बताए । ‘अब बसले घरघरमा रोक्दैन,’ उनले भने, ‘स्टप निश्चित गरिएको ठाउँमा मात्रै बस रोकिन्छ ।’ व्यवसायीसँगको समन्वयमा लागू गर्ने तयारी गरिएको ई–टिकेटिङ नगरवासीका लागि लाभदायक हुने उनले बताए । सेवा सुरुवातको केही समय कार्ड जोकसैले उपयोग गर्नसक्ने नामबिनाका हुने भए पनि महानगरले वृद्धवृद्धाका लागि भने उनीहरूको परिचयसहितको दिनेगरी योजना बनाइरहेको छ । प्रविधि प्रदायक कम्पनीले पनि ‘यात्रा कार्ड’ लाई बस भाडामा उपयोगको अभ्याससँगै आवश्यकताअनुसार अन्य प्रयोजनमा पनि लेनदेनका लागि उपयोगी बनाउन सकिने जनाएको छ ।

प्रकाशित : चैत्र ६, २०७५ १२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?