शक्तिपीठमा पूजापछि सुरु

बागलुङ — कालीका भगवतीलाई खुसी पारेपछि कुनै अनिष्ट हुँदैन भन्दै उनीहरूले रंगको पर्व मनाउने गरेको बूढापाका बताउँछन् । ‘शक्ती पीठलाई खुसी पारेपछि पर्व मनाउने नेवारहरूको चलन हो’ नेपाल भाषा मंकाखल बागलुङका पूर्वअध्यक्ष काजीगाउँले श्रेष्ठले भने, ‘पुरानो चलन थमाउन युवालाई जागरुक बनाउँदै छौं ।’ 

नेवारहरू भक्तपुरबाट बसाइँ सरेर आएको इतिहास छ । होलीकाको वधको खुसियालीमा मनाइएको पर्व भए पनि नेवारहरूले खुसीसँगै शक्तिपीठ पूजा गरेपछि होली मनाएको कथा जोडेका छन् ।


बसाइँ सरेपछिका धेरै संस्कृतिलाई बागलुङमा ल्याएर बचाउने प्रयास पनि गरेका छन् । उनीहरूले ल्याएका संस्कृतिहरू यहाँ जोगिएको अर्का संरक्षणकर्मी महेशचन्द्र प्रधान बताउँछन् । ‘राजबलि के हो ? राजबलि के हो ? राजबलि के द्वारे मचे होली’ राजबलि के हो ? ऋद्धि आए, सिद्धि आए, गणेश आए त मुसा चढी के । राम आए, लछुमन आए, दशरथ आए रथ चढी के । कालीकालाई बोका बलि दिएपछि यस्तै–यस्तै गीत गाएर बजार फर्कनेहरूले होली खेल्छन् । नेवारी परम्पराको धिमे बाजा बजाउँछन् ।


चोकचोकमा पुगेर सबैलाई रंग दलेर शुभकामना बाँड्नेले नारायण चोकमा भेला हुन निम्तो दिन्छन् । बलि दिएको बोकासहित कुखुरा, राँगालगायतको मासु छुट्टाछुट्टै पकाउँछन् । सामूहिक रूपमा भोजनको प्रबन्ध गरिएको हुन्छ । दिनभर होलीमा रमाएर फर्केपछि नारायणचोकमा बसेर प्रसाद स्वरूप मासु चिउरा खान्छन् ।


यो परम्परा विस्तारै लोप हुने देखेर संरक्षणका लागि प्रयास गरेको नेपाल भाषा मंकाखल बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताए । बागलुङमा राजभण्डारी, शाक्य, मलेपति र श्रेष्ठ जातका नेवारहरू छन् । उनीहरूले धेरैजसो चाड संयुक्त रूपमा मनाउँछन् ।


गाईजात्रा र होलीलगायतका पर्व सामूहिक हुन्छन् भने जोगी नाच शाक्यहरूको अगुवाइमा हुन्छ । हनुमान नाचमा श्रेष्ठहरूको अगुवाइ हुन्छ । हनुमान नाच्दा पँधेरा–धारामा पूजा हुन्छ । गाईजात्रा निकाल्दा नारायण मन्दिरमा पूजा हुन्छ ।


पूजा विधि संरक्षणको काम भने नेवार समुदायका अगुवाहरूले गर्दै आएका छन् । अगुवाइ गरेकाबाहेक सबै नेवारसहित अन्य जातिलाई पनि निम्तो दिइन्छ । ‘यस्ता चाड हाम्रो संस्कृति भएकाले बचाउने प्रयास गरेका छौं तर बुझाउने काम सबैलाई गर्छौं,’ राजभण्डारीले भने, ‘संस्कृतिहरू जति धेरै जोगाउन सकियो, हामी त्यसबाटै धनी बन्ने हो ।’ नेपालीपनका मौलिक पर्वहरू सबै मिलेर बचाउनुपर्ने उनले बताए । बाहुन, क्षत्री, नेवार, मगर, गुरुङ, अन्य जनजाति र दलित समुदायमा रहेका संस्कृतिलाई युवापुस्तामा हस्तान्तरण गर्न सबै जागरुक बन्नुपर्ने उनले सुझावसमेत दिए ।


जिल्लामा चलनमा रहेका धेरै संस्कृतिहरू लोप हुँदै गएको संस्कृतिविद् प्रेम छोटाको भनाइ छ । ‘चैतेदसैं मेलादेखि गलकोट, ढोरपाटन र धेरै क्षेत्रका संस्कारले एउटा–एउटा इतिहास र धर्म बोकेको छ’ छोटाले भने, ‘अब एउटा जात, भाषा नभनीकनै संरक्षणमा लाग्नुपर्छ ।’


छोटाले जिल्लाका धेरै संस्कृति, भाषा, लिपि र पत्रपत्रिकाका पहिलो अंकसमेत संग्रह गरेर राखेका छन् । उनले हनुमान नाचदेखि दर्जनभन्दा बढी संस्कृतिको पुस्तकसमेत लेखेर राखेका छन् । हातैले लेखेका पत्रपत्रिकासमेत उनको पुस्तकालयमा संग्रहित छ ।

प्रकाशित : चैत्र ७, २०७५ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?