विद्यार्थीबाटै ‘नो जंक फुड’

कान्तिपुर संवाददाता

नवलपुर — पूर्वी नवलपरासीको केउरेनीस्थित नेपाल माविका विद्यार्थीले ‘स्वच्छ खाना, स्वस्थ जीवन’ कार्यक्रमअर्न्तगत ‘नो जंक फुड’ अभियान सुरु गरेका छन् ।

बजारको खानेकुराभन्दा छोराछोरीलाई घरमा नै उपलब्ध खानेकुरा पठाउन विद्यार्थीको समूहले घरघरमा पुगेर अभिभावकलाई आग्रह गर्ने गरेका छन् । घरबाट सजिलै स्कुल पठाउन कस्तो खाजा र कसरी बनाउने भन्ने बारेमा परिकारको प्रदर्शनी पनि गर्ने गरेका छन् ।

Citizen


बालबालिकाले बजारका अखाध्यवस्तु मिसाइएको खानेकुरा खानाले मानसिक तथा शारीरिकरूपमा असर पुग्ने भन्दै घरमै उपलब्ध खानाका परिकार खान प्रेरित गर्न खानाका परिकारको प्रदर्शनी गरेका हुन् ।

ब्रिटिस काउन्सिलअन्तर्गतको इन्टरनेसनल स्कुल अवार्डमा सहभागी भएको विद्यालयका विद्यार्थीले विभिन्न गतिविधि गर्दै आएका छन् । विद्यालयका प्रधानाध्यापक शिवप्रसाद देवकोटाले विद्यार्थीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गराउन र अनुभव साटासाट गर्न अवार्ड कार्यक्रममा सहभागी भएको बताए । ‘यो कार्यक्रमले विद्यार्थीमा उत्कृष्ठ सिकाइ अभ्यास, अनुभव साटासाट गर्न, स्वच्छ जीवनका लागि विद्यार्थीलाई घरायसी खाजाका लागि प्रेरित गर्ने र व्यक्तित्व विकासमा सहयोगपुर्‍याएको छ ।’

विद्यार्थीहरूले अभिभावकका घरघरमा पुगेर आफ्ना छोराछोरीलाई कस्तो खाना खुवाउनुहुन्छ ? खाजामा के पठाउनुहुन्छ भन्ने स्थलगत अध्ययन गरेका थिए । कक्षा ९ मा अध्ययनरत छात्रा सविना काफ्लेका अनुसार घरघरमा पुगेर तथ्यांक संकलन गरिएको र बजारका खानेकुराभन्दा घरमानै उपलब्ध खानेकुरा प्रयोग गर्न सुझाव दिइएको बताइन् ।

नेपाल माविले मात्र होइन जिल्लाका अन्य विद्यालयका विद्यार्थीले पनि यसलाई अभियानकै रूपमा चलाएका छन् । देवचुली नगरपालिका–७ रामवासको भीमसेन आदर्श माविका विद्यार्थीले पनि आफ्ना अभिभावक र विद्यार्थीका लागि घरमा नै कसरी खाजा तयार पार्न सकिन्छ भन्नेबारे जानकारी दिने गरेका छन् ।

अभिभावकले पठाउन सजिलो हुने र विद्यार्थीले स्वादिलो मान्ने भएकाले बजारमा सजिलै पाइने प्याकेटका तयारी खानेकुरा खाजाका रूपमा प्रयोग गर्नाले बालबालिकालाई स्वास्थ्यमा असर गर्दछ । शिक्षकको आँखा छलेर लुकीलुकी बजारका तयारी खाजा अखाद्य रंग तथा अन्य तत्वहरूले कलिला बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर गर्दछ ।

विद्यालयहरूले जंक फुड निषेध गरिएको छ भनेर भने पनि क्यान्टिनमा नै यस्ता जंक फुड बेचिरहेका हुन्छन् । नाराकारूपमा मात्र सीमित यस कार्यलाई व्यवहारमा नै उतार्नका लागि पूर्वी नवलपरासीको देवचुलीका बालबालिकाले भने अभियान नै चलाएर घरमा नै बालबालिकाका लागि कसरी पौष्टिक खाजा तयार पार्न सकिन्छ भन्नेबारे जानकारी गराउने गरेका छन् ।

केन्द्रदेखि नै विद्यालय हाता र वरपर विद्यार्थीका लागि जंक फुड बेच्न नपाइने भन्ने अभियान चले पनि कतिपय अभिभावक आफैंले छोराछोरीलाई बजारमा पाइने तयारी खाजा पठाउने गर्दछन् ।

देवचुली नगरपालिका शिक्षा शाखाका प्रमुख मोती रिजालले विद्यार्थी र सहभागीलाई स्वच्छ खाना र यसले पार्ने प्रभावका विषयमा प्रशिक्षण दिइने गरेको र अभिभावलाई पनि घरमै उपलब्ध खानेकुरा खाजाका लागि पठाउन आग्रह गर्ने गरेको बताए ।

प्रकाशित : चैत्र ७, २०७५ ०९:३८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

अभिभावकले चलाएको विद्यालय

कान्तिपुर संवाददाता

बागलुङ — घरपायक नभएकाले यामबहादुर रोकाले छोराछोरीलाई दैनिक डेढ घण्टा पैदल दूरीको विद्यालयमा लैजाने र ल्याउने गर्थे । बाटोको बीचमा जंगल थियो । अभिभावकका साथ लागेर नगएसम्म बालबालिका विद्यालय पुर्‍याउन कठिन थियो ।

अभिभावकले नभ्याएका दिन छोराछोरीको पढाइछुट्थ्यो । अभिभावकको भेलाले नजिकै विद्यालय खोल्ने निर्णय गर्‍यो ।

२०६७ सालमा अभिभावकले खोलेको युनिक आधारभूत विद्यालय हाल नामजस्तै नौलो मानिएको छ । हाल ७ कक्षासम्म पढाइ हुन्छ । काठेखोला गाउँपालिका–३ को उक्त विद्यालय गाउँपालिकाकै स्तरीय अध्यापन गराइने शिक्षालयमा दरिएको छ । ‘विद्यालय सञ्चालन मात्र गरेर नपुग्ने रहेछ । व्यवस्थापन, भवन निर्माण र गुणस्तरीय शिक्षाको चुनौती पनि अभिभावक मिलेरै पूरा गरेका छौं,’ रोकाले भने, ‘हाम्रो आश्यकताले खोलेको भएकाले विद्यालयका सबै गतिविधिमा साथ दिएका छौं ।’ बस्तीमै विद्यालय खुल्दा धेरै बालबालिकालाई सहज मात्रै भएको छैन, यहाँको स्तरीय शिक्षण पद्धतिले अरू बस्तीका बालबालिका पनि तानेको उनले बताए ।

शिक्षण सिकाइको मापन र अनुगमनका लागि सबै आउन सक्ने विद्यालय बनाउन लागिएको प्रधानाध्यापक भीमबहादुर हमालले बताए । ‘अभिभावक जाग्ने र शिक्षकले मेहेनत गर्दा छोटो समयमै सफल भएका छौं,’ उनले भने, ‘नयाँ विद्यालयमा पढाउँदा कसैले पछुतो मान्ने अवस्था आउन दिँदैनौं ।’ एक दरबन्दी र एक राहत शिक्षक पाएको यो विद्यालयमा अभिभावकले चन्दा उठाएर थप ७ जना शिक्षक राखेका छन् ।

संस्थागत विद्यालयले झैं नर्सरी र केजी कक्षा पनि सञ्चालन गरिएको छ । अंग्रेजी माध्यममा पढाइ हुन्छ । कक्षा १ देखि ३ सम्म ग्रेड शिक्षण प्रणालीका लागि थालनी भएको छ । २ हजार २ सय मिटर उचाइमा अवस्थित धम्जादेउरालीको चिसोमा पढ्ने बालबालिकालाई न्यानो कार्पेटमा बसेर पढ्ने व्यवस्थापनको काम सुरु गरिएको हमालले बताए ।

‘विद्यालय खोलेर गुणस्तर दिन थालेपछि बसाइँसराइ पनि रोकिएको छ,’ उनले भने, ‘गाउँको नजिकमा सामुदायिक विद्यालय नहुने बहाना बनाएर सहर पस्नेलाई रोक्न सकिएको छ ।’ केही समयअघिसम्म बसाइँसराइ अत्यधिक भएको धम्जा देउरालीमा अहिले गाउँलेहरू रोकिएका छन् । अन्यक्र विद्यार्थी घट्दै छन्, यहाँ बढ्नेत्रममा छन् । अहिले यहाँ १ सय ५० विद्यार्थी छन् ।

विद्यालयले दिवा छात्रावास पनि बनाएको छ । चन्दा र श्रमदानकै भरमा बनेको यो विद्यालयमा १० कोठा अभिभावकले बनाएका हुन् । विद्यालयले राम्रो प्रगति गरेको देखेर तत्कालीन जिल्ला शिक्षाले चार कोठे भवनका लागि अनुदान दिएको थियो ।

प्याकेटमा पाइने तयारी खानेकुरा प्रयोग नियन्त्रणका लागि विद्यालयमै खाजा र स्वच्छ पानीको व्यवस्थापन गरिएको छ । ‘अभिभावकहरू शिक्षाको गुणस्तर सुधार्न चिन्तित भएकाले हरेक वर्ष सुधारका कार्यक्रम ल्याएका छौं,’ शिक्षक हीरा भण्डारी भन्छिन्, ‘पुस्तकालय, प्रयोगशाला र खेलकुदका सामग्रीसमेत खरिद गरेर प्रयोगमा ल्याइएको छ ।’ विद्यालय नजिकैको ४० रोपनी सार्वजनिक जमिनमा खेल मैदानका लागि अभिभावकले गाउँपालिकासँग योजना मागेका छन् ।

शिक्षा, स्वास्थ्य र सडक पूर्वाधार पुर्‍याउन सकियो भने बसाइँसराइ रोकिने गाउँपालिका अध्यक्ष अमर थापाले बताए । ‘पैदल हिँडेर सदरमुकामबाट एक दिन लाग्ने धम्जा देउरालीमा अहिले दुईवटा मोटरबाटो पुगेका छन् । अझै विकासका योजना लैजाने तयारीमा छौं,’ उनले भने, ‘शिक्षा र स्वास्थ्य सेवा भयो भने गाउँ छाडेर जानेको लहर थामिन्छ ।’

शिक्षक दरबन्दी मिलान गरेर राम्रो शिक्षण गरेका विद्यालयलाई प्रोत्साहन गर्ने उनले बताए । धम्जामै स्वास्थ्य चौकी पनि सञ्चालनमा छ । झन्डै २ करोड लगानीमा स्वास्थ्यचौकीको नयाँ भवन बन्दैछ । त्यसले गाउँलेलाई उत्साह थपिएको स्थानीय प्रेमस्वरी श्रेष्ठले बताइन् ।

प्रकाशित : चैत्र ७, २०७५ ०९:३७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT