२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

एसईई परीक्षा : परीक्षार्थी र शिक्षकलाई पोसाक अनिवार्य

शिक्षक, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष साथै निरीक्षकले पोसाक नलगाएमा केन्द्रमा बस्न नपाउने
आश गुरुङ

लमजुङ — आगामी आइतबारदेखि हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईमा परीक्षार्थी र शिक्षकलाई लमजुङमा विद्यालय पोसाक अनिवार्य गरिएको छ । 

एसईई परीक्षा : परीक्षार्थी र शिक्षकलाई पोसाक अनिवार्य

विद्यालय पोसाक नलाएका परीक्षार्थीले परीक्षा दिन पाउने छैनन् भने शिक्षक, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष साथै निरीक्षकले पनि केन्द्रमा बस्न पाउने छैनन् । परीक्षा हलभित्र मोबाइल लैजान पूर्णरूपमा निषेध लगाइएको छ ।


सहायक केन्द्राध्यक्ष, परीक्षार्थी र निरीक्षकले पनि भित्र मोबाइल बोक्न पाउने छैनन् । केन्द्राध्यक्ष र निरीक्षणमा जाने व्यक्तिले मोबाइल बोक्न पाउने भए पनि साइलेन्स मोडमा राखेको हुनुपर्छ । कसैले पनि गेसपेपर तथा सोही प्रकृतिका पकेट बुकहरू बिक्रीवितरण गर्न पाउने छैनन् । परीक्षा लक्षित फोटोकपी तथा फ्याक्स गर्न पाउने छैनन् ।


जिल्लास्थित स्थानीय तहका प्रमुख तथा उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षभन्दा तल्लो मर्यादाक्रमका सबैलाई प्रवेशमा रोक लगाएको छ । शिक्षा समन्वय समिति, सुरक्षा निकायका प्रमुखबाहेक असम्बन्धित व्यक्तिले परीक्षा केन्द्रमा प्रवेश गर्न पाउँदैनन् । परिचयपत्र अनिवार्य गरिएको छ ।


शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयले सबै लक्षित ८ बुँदे आचारसंहितालाई केन्द्राध्यक्षमार्फत परीक्षा केन्द्रमा पठाएको छ । इकाइ प्रमुख नारायण रेग्मीका अनुसार परीक्षा केन्द्र वरपर भीडभाड, सामाजिक–सांस्कृतिक तथा राजनीतिक प्रकृतिका कार्यक्रम गर्न साथै माइक तथा हल्ला हुने अन्य उपकरण प्रयोग गर्न पाइने छैन ।


शिक्षा समन्वय समितिको अनुमतिबिना परीक्षा सञ्चालन सहयोग समिति, समन्वय समिति, विव्यस तथा शिक्षक अभिभावक संघका पदाधिकारी वा सामाजिक व्यक्तिलाई प्रवेशमा रोक लगाएको उनले बताए । परीक्षा केन्द्र वरिपरि भीडभाड, जम्मा, होहल्लाजस्ता कार्य गर्न पाइने छैन ।


परीक्षा केन्द्र तथा छिमेकी विद्यालयका शिक्षक परीक्षा समयमा केन्द्र वरिपरि नरहन र आफ्नो विद्यालयमा अनुपस्थित हुने काम नगर्नसहितको विशेष जानकारीसहितको फ्लेक्स परीक्षा केन्द्रमा पठाएको इकाइ प्रमुख रेग्मीले बताए । ‘परीक्षामा गर्न नहुने भनेर रोक लगाएका कुनै पनि कार्य गर्न पाइने छैन । गरेमा कानुनबमोजिम कारबाही हुन्छ,’ उनले भने ।


उनका अनुसार परीक्षा बिथोल्ने अमर्यादित कार्य गर्दा शिक्षा ऐन २०२८ को विपरीत हुने भएकाले उक्त कार्य गरेमा सोही ऐनको दफा १७, १ (क) को क, ग, ङ तथा च अनुसार कसुर हुने र कसुरको मात्रा हेरेर १ लाख रुपैयाँसम्म जरिवाना, ६ महिनासम्म कैद वा दुवै सजाय हुने उनले बताए ।शिक्षा समन्वय समितिमा मंगलबार केन्द्राध्यक्षलक्षित अभिमुखीकरणमा प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले परीक्षालाई अमर्यादित गतिविधि कसैबाट भएमा कानुनले कसैलाई नछाड्ने बताए ।


‘परीक्षा भनेको गुणस्तर नाप्नका लागि हो । चिट चोरेर गुणस्तरीय भइँदैन’ उनले भने, ‘कसैले चिट चोरेको र चोर्न लगाएको थाह पाएमा परीक्षा केन्द्रमा जो कोही होस् कानुनी दायरमा ल्याइनेछ, सजायको भागीदारी हुनैपर्छ ।’ बेंसीसहर नगरपालिका शिक्षा शाखा प्रमुख उपसचिव गोविन्दराज पोखरेलले परीक्षा परीक्षाजस्तो हुनुपर्ने बताए ।


‘पढ्ने र पढाउने बेलामा ध्यान नदिने । परीक्षा दिने विद्यार्थी चिट चोर्ने, शिक्षक, अभिभावक चोराउँदै हिँडेर फाइदा कसलाई हुन्छ ?’ उनले भने । चोरेर बढी नम्बर ल्याए पनि यसले व्यक्ति, समुदाय, राष्ट्र कसैलाई पनि फाइदा नपुग्ने उनले बताए ।


शिक्षा विकास तथा समन्वय इकाइका अनुसार यस वर्ष सामुदायिक ७९ र निजी २१ गरी १ सय विद्यालयका २ हजार ९ सय ९० परीक्षार्थीले एसईई दिँदैछन् । १ हजार ६ सय १४ छात्रा र १ हजार ३ सय ७६ छात्र छन् । ग्रेड वृद्धिका लागि ३० जना परीक्षार्थी सहभागी हुनेछन् ।


सहायक केन्द्राध्यक्ष २१ जना तोकिएका छन् । २ सय ५० परीक्षार्थीभन्दा बढी केन्द्र रहेका ३ केन्द्रमा सहायक केन्द्राध्यक्ष थप गरिएको कार्यालयका प्राविधिक सहायक सुरेन्द्र मण्डलले बताए । सहायक कर्मचारी र कार्यालय सहयोगी १/१ जना छन् । १८ परीक्षा केन्द्रमा १ सय ५० जना निरीक्षक रहने कार्यालयले जनाएको छ । हरेक केन्द्रमा १५ जना सुरक्षाकर्मीमा दरले २ सय ७० प्रहरी खटिनेछन् ।

प्रकाशित : चैत्र ७, २०७५ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?