कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

शिक्षा र स्वास्थ्यमा गाउँलेको लगानी

बागलुङ — गाउँपालिकाभित्र शिक्षा, स्वास्थ्य र केन्द्रको भवन बनाउन यहाँका बासिन्दाले करोडौं रुपैयाँको जग्गा दान दिएका छन्  । बडिगाड गाउँपालिकाको भवन निर्माण, केन्द्र नजिकै अस्पताल र क्याम्पस निर्माणका लागि स्थानीयले ४६ रोपनी जमिन दान गरेका हुन्  ।

शिक्षा र स्वास्थ्यमा गाउँलेको लगानी

गाउँपालिका भवन निर्माणका लागि ग्वालीचौरको खार बजारमा जग्गाधनीहरू मिलेर साढे नौ रोपनी जमिन उपलब्ध गराएको स्थानीय गुणनिधि घिमिरेले बताए ।

झन्डै ३ करोड ६५ लाख रुपैयाँ मूल्यांकन गरिएको यो जग्गामा गाउँपालिकाले नक्सांकन गरेर अत्याधुनिक भवन बनाउने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले बताए । यहाँ कम्पाउन्डसहितको अत्याधुनिक भवन बनाउन आगामी आर्थिक वर्षदेखि बजेट विनियोजन सुरु हुन्छ’ सुवेदीले भने, ‘जग्गादाताको सम्मान र रेकर्ड राख्ने व्यवस्था पनि थालिसकेका छौं ।’

अहिले गाउँपालिका कार्यालय र विषयगत शाखाहरू सबै भाडाको घरमा बस्दै आएका छन् । मासिक ३५ हजार रुपैयाँ भाडा तिरेर गाउँपालिकाले दैनिक कार्यलय सञ्चालन गर्दै आएको छ । गाउँपालिका केन्द्रमै १५ शय्याको अस्पताल बनाउने योजना छ ।

हाल रहेको स्वास्थ्यचौकीलाई स्तरोन्नति गर्दै अस्पताल सञ्चालन गर्ने योजना अगाडि सारेपछि स्थानीय जग्गावालाले १३ रोपनी जमिन उपलब्ध गराएका छन् । उक्त जग्गाको प्रचलित मूल्य साढे तीन करोडकै भएको अध्यक्ष मेयरसिंह पाइजाले बताए ।

‘गाउँपालिका केन्द्र व्यवस्थित बनाउने, स्वास्थ्यको अवस्था सुधार गर्ने र सुविधा गाउँ भित्राउने अभियानमा गाउँलेको ठूलो साथ पाएका छौं’ पाइजाले भने, ‘साथ दिनेलाई धन्यवाद र सम्मान मात्र गर्न सकिन्छ, अरू दिन सकिएको छैन ।’ यहाँ अस्पताल बनाएर कम्तीमा एकजना डाक्टर रहने व्यवस्था भए गाउँलेको लाखौं रुपैयाँ जोगिने उनले बताए ।

भौगोलिक कठिनाइले यहाँका धेरै बिरामीलाई डोकोमा बोकेर सडकमा ल्याएपछि अस्पताल लैजाने बाध्यता छ ।

यहाँकै भानु माविकै नाउँमा भानु क्याम्पस बनाउने योजना गाउँपालिकाको छ । विशेषगरी कृषि, भेटेरिनरीलगायतका प्राविधिक शिक्षा पढाउने लक्ष राखेपछि गाउँपालिकालाई गाउँलेहरूले १३ रोपनी जमिन निःशुल्क उपलब्ध गराएका छन् ।

यो जग्गामा प्राविधिक धारको क्याम्पस चलाउने योजना बनाइएको स्थानीय हरि आचार्यले बताए । आगामी आर्थिक वर्षदेखि बजेट विनियोजन गरेर क्याम्पस सञ्चालनको अभियान थालिने योजना छ । ‘कृषि र पशुपालनमा अहिले पनि धेरै युवाहरू रोजगार छन्’ पाइजाले भने, ‘क्यामपस सञ्चालन गर्न सकियो भने यहाँका किसानले अत्याधुनिक फर्म सञ्चालन गर्न सक्नेछन् ।’

व्यावहारिक काममा प्राविधिक ज्ञान थपियो भने राम्रो फाइदा लिन सकिने उनले बताए । यहाँकै रणसिंकिटेनीमा एक सयवटासम्म भेडा पाल्ने किसान छन् ।

त्यस्तै मकै, गहुँ, कोदो र जौजस्ता फसल यहाँ बढी फल्छ । ताजा तरकारीमा पनि किसानहरू आर्कषित भएका छन् । गाउँपालिकाले प्राविधिकहरू नियमित बस्ने बनाएको छ ।

प्रकाशित : चैत्र ८, २०७५ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?