कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पढ्नै नपाई एसईई

विद्यार्थी स्वाध्ययन र आंशिक पढाइको भरमा
घनश्याम खड्का

म्याग्दी — आगामी आइतबारदेखि एसईई परीक्षा सुरु हुँदैछ । म्याग्दीका केही सामुदायिक विद्यालयका विद्यार्थी भने विज्ञान विषयको पाठ्यपुस्तक अध्ययन नै नगरी परीक्षामा सहभागी हुँदैछन्  ।

अध्यापन गराइएका विद्यालयले पनि पूरै पाठ्यक्रम सिध्याउन पाएका छैनन् । उक्त विषय पढाउने शिक्षक फेला पार्न नसकेपछि जिल्लाका दर्जनभन्दा बढी दुर्गम भेगका विद्यालयमा विज्ञानको पूरै वा आंशिक रूपमा अध्यापन भएको छैन । केही विद्यालयले योग्यताको शिक्षक नपाएपछि एक एउटा योग्यताका शिक्षक नियुक्त गरी अर्कै कम योग्यताका शिक्षकबाट काम चलाएका छन् ।

एसईईमा जिल्लाका २ हजार २ सय ४२ विद्यार्थी सहभागी हुँदैछन् । ‘जिल्लाका धेरै सामुदायिक माविहरूमा विज्ञान र गणित विषयको पूर्ण पाठ्यभारको अध्यापन भएको छैन । विद्यार्थी स्वअध्ययनको भरमा एसईईमा सहभागी हुँदैछन्,’ जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख दलबहादुर थापाले भने, ‘केही विद्यालयले तल्लो योग्यतामा अध्ययनरत विद्यार्थीलाई केही समयका लागि ल्याएर पनि विज्ञान विषय कामचलाउ अध्यापन गराएका छन् । हामीले पनि बीएससी वा बीएड साइन्स भनेर पेलेनौं, आईएससी मात्र भए पनि खुला राखेका छौं ।’

विज्ञान विषय अध्यापन गराउने शिक्षक नपाउँदा मालिका गाउँपालिका–५ देवीस्थानको गौवमवस्त माध्यमिक विद्यालय, रघुगंगा–७ चिमखोलाको अमर मावि, बेनी–३ भकिम्लीको जयन्ती मावि, अन्नपूर्णका पाउद्धार, टिकोट र आदर्श माविका करिब तीन सयजना विद्यार्थीले विज्ञान विषय पूरा पढ्नै नपाएको स्थिति छ ।

कक्षामा आंशिक पढ्न पाए पनि उनीहरू यतिबेला परीक्षा दिने तयारीमा छन् । बर्सेनि एसईई परीक्षामा कुनै न कुनै विद्यालयका विद्यार्थीले विज्ञान विषय अध्ययन/अध्यापनबिनै सामेल हुनु यहाँ नौलो मानिन छाडेको छ ।

शिक्षक उपलब्ध भएका विद्यालयमा पनि कुनै न कुनै महिना शिक्षकको ‘ग्याप’ हुने गरेको छ । दरबन्दी भए पनि शिक्षक नपाइने मात्र होइन एकजना पनि शिक्षक दरबन्दी नभएका २० वटा माविलाई झन् समस्या छ ।

जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा विज्ञान र गणित विषयका शिक्षक नपाइएको सँधै पिरलो भइरहन्छ । खाना, बस्न र तलबमै अतिरिक्त सुविधा थप्दासमेत दुर्गमका विद्यालयले विज्ञान विषयका शिक्षक पाएका छैनन् ।

‘हामी दुर्गमका विद्यालयमा विज्ञान विषयका शिक्षक नै पाउँदैनौं । बल्लतल्ल तल्लो योग्यताका भए पनि शिक्षक खोज्यो, उनी पनि ६ महिना, वर्षदिनमै काम छाडेर जान्छन् । हैरान छौं,’ पाउद्धार माविकी प्रधानाध्यापक थममाया शेरपुजामगरले भनिन्, ‘एउटा शिक्षकको वर्षभरिको तलब बराबरको खर्च शिक्षक खोज्दै खर्च हुन्छ । कोरा विद्यार्थी परीक्षामा सहभागी गराउनुभन्दा अभरमा अर्को विषयका शिक्षकले भए पनि काम चलाएका छौं । खासमा विद्यार्थी स्वअध्ययनको भरमा परीक्षामा सहभागी हुँदैछन् ।’

सदरमुकाम बेनी सेरोफेरोका बाहेक जिल्लाका सबै विद्यालयले वर्षमा कुनै न कुनै महिना विज्ञान वा गणित विषयका शिक्षक भाग्ने समस्या झेल्दै आएका छन । जिल्लामा विज्ञान र गणित विषयका शिक्षक नपाउने वा नटिक्ने विकराल समस्या छ ।

दरबन्दीमा त विज्ञान शिक्षक अभाव छ, शून्य दरबन्दीका जिल्लाका १९ माविको अवस्था झन् नाजुक छ । अधिकांश दरबन्दीरहित माविमा तल्लो तहको शिक्षकले माथिल्लो तहमा अध्यापन गराउने मात्र होइन विज्ञान, गणितजस्ता विषयमा तल्लो तहको योग्यता भएका शिक्षकले माथिल्लो तहमा ‘कामचलाउ’ अध्यापन गराउँदै आएका छन् ।

गणित पढ्ने विद्यार्थी छैनन्

जिल्लाका ११ र १२ कक्षा सञ्चालन गरेका सबै २० वटा माविका ऐच्छिक गणित पढ्ने विद्यार्थी संख्या शून्य छ । दुर्गममा मात्र होइन सदरमुकाम बेनीको बेनी सामुदायिक विद्यालयमा पनि विद्यार्थी अभावमा ऐच्छिक गणित पढाइ हुँदैन ।

ऐच्छिक गणित विषय लिएर एसईई परीक्षामा सहभागी हुन लागेका ३ सय ४० जना विद्यार्थीमध्ये ६२ सामुदायिक माविबाट जम्मा १ सय १५ जना मात्र ऐच्छिक गणित लिएर सहभागी हुँदैछन् । नपाइनुभन्दा त्यही पनि राम्रो ठानेर बसेको छ समुदाय ।

दुर्गमका विद्यालयमा गणित र विज्ञान विषयका शिक्षक नपाउँदा यी विद्यालयबाट एसईई उत्तीर्ण गरी ११ र १२ मा भर्ना हुने विद्यार्थी बर्सेनि गणित र विज्ञान विषयमा शून्य हुन थालेको छ । म्याग्दी क्याम्पसले गरेको एक सर्वे अध्ययन अनुसार धौलागिरि गाउँपालिकाभित्रका विद्यालयबाट पछिल्ला केही वर्षदेखि गणित र विज्ञान विषय लिएर उपल्लो तहमा अध्ययन गर्ने योग्यताप्राप्त गरेका विद्यार्थी छैनन् ।

जिल्लाका सबै स्रोत माविका कक्षा ११ र १२ मा ऐच्छिक विषय अध्ययन गर्ने विद्यार्थी शून्य भएपछि स्नातक र स्नाकोत्तर तहको अध्यापन गराउने म्याग्दी बहुमुखी क्याम्पसको मानविकी र शिक्षा संकायमा गणित विषय स्थगित भएको छ ।

निजी तथा सामुदायिक विद्यालयबाट ऐच्छिक विषय लिएर एसईई उत्तीर्ण गर्ने विद्यार्थी सहरका कलेज जाँदा गाउँमा समस्या भएको हो । जिल्लामा कक्षा ११ र १२ मा विज्ञान विषय अध्यापन गराउने सदरमुकाम बेनीको प्रकाश माविलाई समेत विद्यार्थी पुर्‍याउन समस्या भएको छ ।

‘सवै स्रोत विद्यालयमा ऐच्छिक गणित विषयका विद्यार्थी नआएपछि संकटमा परेको छ,’ म्याग्दी बहुमुखी क्याम्पसका गणित शिक्षक नारायण सुवेदीले भने, ‘समयमै गणित, विज्ञान पढ्ने विद्यार्थी उत्पादनमा लागिएन भने जिल्लाको शैक्षिक वातावरण पूरै गडबडी हुन्छ । शैक्षिक संकटको संघारमा छौं । जिल्लाबाट गणित वा विज्ञान विषय लिएर बीएससी, बीएड वा बीएअध्ययन गर्ने विद्यार्थी नै छैनन् ।’

प्रकाशित : चैत्र ८, २०७५ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?