१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बर्डफ्लुको निगरानी

पर्वत — छिमेकी जिल्ला कास्कीको मादीमा बर्डफ्लुको संक्रमण देखिएपछि धौलागिरिका नाकामा कडाइ गरिएको छ । धौलागिरि प्रवेशद्वारका सबैजसो नाकामा निगरानी बढाइएको सरोकारवालाले बताएका छन् । बुधबार राति पर्वत भित्रिँदै गरेका करिब १४ हजार कुखुराका चल्ला नियन्त्रणमा लिएर फिर्ता पठाएको पर्वत प्रहरीले जनाएको छ ।

कुश्मामा भेटेरिनरी अस्पताल तथा पशु स्वास्थ्य सेवा विज्ञ केन्द्र बागलुङले बिहीबार अन्तरक्रियाको आयोजना गर्दै सरोकारवालालाई सतर्क गराएको छ । सहभागी पशुपक्षीविज्ञले संक्रमण धौलागिरिमा फैलन नदिन विशेष सतर्कता अपनाउनुपर्ने बताए ।


केन्द्र प्रमुख डा. नारायणप्रसाद शर्माले हालसम्म धौलागिरिका कुनै स्थानमा यो संक्रमण नदेखिएकाले अब पनि भित्रिन नदिन सबैजसो नाकामा कडाइ गर्नुपर्ने बताए । ‘हामीले बागलुङ र पर्वतका १२ स्थानमा परीक्षण गरेका थियौं,’ उनले भने, ‘हालसम्म कतै त्यस्तो संकेत देखिएको छैन । अब यो क्षेत्रमा भित्रिने सबै नाकामा सजगता अपनाउनुपर्छ ।’


उनले स्थलमार्गबाट धौलागिरि भित्रिने सबै नाका पर्वतमै भएकाले पर्वतका सरोकारवालाले उच्च निगरानी राख्नुपर्ने बताए । कास्की, चितवन र मकवानपुरमा अहिले संक्रमण देखिएकाले ती जिल्लामा नियन्त्रणमा नआएसम्म बाहिरि जिल्लाका पक्षी आयात नगर्न व्यवसायीहरूलाई आग्रह गरे ।


कुश्मा नगरपालिकाका पशु स्वास्थ्य संयोजक रामजी प्रसाद शर्माले पर्वतसहित धौलागिरिका नाका हुवास, कार्कीनेटा, डिमुवामा चेकपोस्ट राखेर बाहिरबाट पक्षी भित्रिन नदिने तयारी गरिएको बताए । जिल्ला समन्वय समितिका प्रमुख मनहर विश्वकर्मा पौडेलले उडेर आउने चराहको सम्पर्कबाट पनि बर्डफ्लु सर्नसक्ने भएकाले यस भोगका सबैजसो कुखुरा फर्ममा पनि निगरानी राख्नुपर्ने बताए ।


प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले प्रशासनले यसअघि नै सार्वजनिक सूचनामार्फत सबैलाई सतर्क हन आग्रह गरिएको बताए । उनले जिल्लामा आयात रोक्दा यहाँको उत्पादनले उपभोक्ताको माग नधान्ने भएकोले कास्कीबाहेक म्याग्दी र बागलुङबाट ल्याउँदा प्रतिबन्ध लगाउन नहुने बताए ।


उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले धौलागिरिमा बर्डफ्लु परीक्षण गर्ने कुनै आधार नभएकाले अनुमानका भरमा कुखुरा नष्ट गर्दा व्यवसायीलाई मार पर्ने बताए । ‘व्यवसायीले कति लगानी गरेर कसरी व्यवसाय गरेका छन् ? त्यो पनि ख्याल राख्नुपर्छ,’ उनले भने, ‘यहाँ परीक्षण गर्ने ल्याब छैन । ठाउँको ठाउँ कुखुरा समातेर नष्ट गर्दा व्यवसायीलाई ठूलो मार पर्छ ।’


व्यवसायी हिमाल केसीले स्थानीय उत्पादनले माग धान्न नसकिने बताए । ‘हामीले उपभोक्ताको माग धान्न सक्दैनौं,’ उनले भने, ‘नाकामा चेकपोस्ट राखेर राम्रो भए बाहिरबाट ल्याउन पनि दिनुपर्छ ।’ मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले धौलागिरि भित्रिने मुख्य नाका मोदी गाउँपालिकाको डिमुवामा चेकपोस्ट राख्नुपर्ने बताए ।


उपभोक्ता अधिकारकर्मी सूर्यप्रकाश पौडेलले केही व्यवसायीको फाइदाका लागि उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्नेगरी व्यवसाय गर्न दिन नहुने धारणा राखे । पशु चिकित्सक विमल शर्मा पौडेलले बर्डफ्लु नियन्त्रणका लागि २४ सै घण्टा निगरानी बढाइएको बताए । पर्वत अस्पतालका डाक्टर सन्तोषी थपलियाले कुखुरा फर्ममा काम गर्ने मजदुर र तिनका परिवारमा यो संक्रमण बढी हुने भएकाले उनीहरूबाहेक सामान्य उपभोक्ता डराइहाल्नुपर्ने अवस्था नभएको बताइन् ।


‘सामान्यतया ६० डिग्रीभन्दा बढी तापक्रममा पकाएर खाँदा चिन्ता मान्नुपर्दैन,’ उनले भनिन्, ‘बर्डफ्लुको संक्रमणले डराइहाल्नुपर्दैन ।’ सामान्य रुघाखोकीसँगै पेट दुख्ने समस्या बर्डफ्लुमा एकसाथ देखिने लक्षण भएकाले तत्काल स्वास्थ्य संस्थामा जान उनले आग्रह गरिन् ।

प्रकाशित : चैत्र ९, २०७५ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?