१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

पलायो मोटर चढ्ने रहर

आश गुरुङ

लमजुङ — गाउँभाचोकको डाँडामा आएर हेर्दा बूढापाका रिंगटा लागेर हेर्न सक्दैनन् । करिब ८ सय मिटरको बेंसीसहरबाट हेर्दा मर्स्याङ्दी पारिपट्टिको उकालोको टुप्पोमा देखिन्छ गाउँभाचोक । करिब १ हजार ६ सय मिटरको भाचोक डाँडा हेर्दा आकाशतिर फर्किनुपर्छ ।

पलायो मोटर चढ्ने रहर

करिब २ घण्टा लगाएर स्थानीय सीधै ओरालो बेंसीसहर झरे पनि ढुंगामाटोसँग नाकै ठोक्किने उकालो चढ्न युवालाई कस्सिएर ३ घण्टा लाग्छ । समस्या बालबालिका र बूढापाकालाई । गाउँभाचोक नगरपालिकामै परे पनि भौगोलिक हिसाबले स्वास्थ्य र शिक्षाबाट टाढा छ ।


गाउँमा ५ कक्षा पढेपछि आधारभूत शिक्षा पूरा गर्न तथा सिटामोल किन्नसमेत बेंसीसहर आसपास धाउनुपर्छ । बेंसीसहर नगरपालिका–१० मा पर्ने गाउँभाचोकमा मोटरबाटो निर्माण गरिएसँगै सवारी साधन गुड्न थालेपछि स्थानीय ६७ वर्षीर्या दिलकुमारी गुरुङले दंग परेकी छन् ।


‘गाउँमा मोटर चल्छ भनेर कहाँ पत्याउनु ? मैले त पत्याएकै थिइन’ उनले भनिन्, ‘बच्चाहरूले गाडी आयो, गाडी आयो भन्ने सुन्दा नचाहिने कुरा नगर भनेर लखेटें । अहिले त आफ्नै आँखाले देखें ।’ उमेर छँदा बेंसीसहर देखेकी उनले हिँड्न नसक्ने भएपछि बेंसीसहर देखिकी छैनन् । ‘अब कहिले हो कहिले, मोटर चढेर बेंसीसहर जान मन छ ।’


६६ वर्षीया मेनकुमारी गुरुङका अनुसार बेंसीसहर जाँदा–आउँदा दिन सकिन्थ्यो । साँझ थकित भएर सकसले गाउँ आइपुग्थ्यो । ‘हिँड्ने बाटो अप्ठ्यारो थियो । भीरभीरै बाटो खनेर ल्याएको भन्ने सुन्दा छक्क परेकी छु ।’ यसअघि हिँडेरै बेंसीसहर आवतजावत गर्ने गरेका उनले गाडीमै बेंसीसहर आउजाउ गर्ने सोच बनाएको बताइन् ।


स्थानीय हिमज्योति प्राविका प्रधानाध्यापक मोतीप्रसाद गुरुङका अनुसार कोही बिरामी परेमा बोकेरै बेंसीसहर ल्याउने लाने गर्नुपर्थ्यो । कतिलाई डोकोमा बोकेर लाने ल्याउने गरिएको थियो । अब यो समस्या टरेको उनले बताए । ‘अब गाउँसम्म मोटरबाटो बन्यो । नियमित गाडी चल्दा त्यसमै लाने ल्याउने गर्न पाइयो । तत्काल बिरामी भइहाले पनि गाडी बोलाएर लान सकियो’ उनले भने । बेंसीसहर झर्नमात्रै २ देखि साढे २ घण्टा लाग्ने बेंसीसहर मोटर चलेपछि १ घण्टामै पुग्न सकिने उनले बताए ।


‘अब गाडी नचल्दाको जस्तो दुःख भएन । सहजै आउजाउ गर्न पाएका छौं’ उनले भने । उनका अनुसार गाउँ सुन्दर ठाउँमा भए पनि कोही आउने थिएनन् । कहिलेकाहीं आउनेले कति राम्रो गाउँ भन्थे । ‘अब गाउँमा सीधै मोटर चलेपछि पर्यटक आउन सक्नेछन् । हामी होमस्टे बनाउन जुट्नेछौं’ उनले भने ।


रातोमाटो–गाउँभाचोक मोटरबाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष खिमप्रसाद गुरुङका अनुसार स्थानीयले करीब १ दशकअघिदेखि गाउँमा मोटरबाटो पुर्‍याउने सोच बनाएका थिए । उनका अनुसार आर्थिक वर्ष २०६८/०७९ मा तत्कालीन बाँझाखेत गाविसबाट ३ लाख रुपैयाँ बजेट विनियोजन गरी बेंसीसहरदेखि ५ किलोमिटर ३ सय मिटर टाढा रातामाटोसम्म ट्रयाक खुलाइएको थियो ।


कुन्मुखोलासम्म करिब २ किलोमिटर बाटोको ट्रयाक खोल्न आव २०७१/०७२ मा तत्कालीन सांसद जमीन्द्रमान घलेको पहलमा १ लाख ५० हजार रुपैयाँ विनियोजन भएको थियो । रकम अभाव भएपछि सडक निर्माण अघि बढ्न सकेको थिएन । चालु आब २०७५/०७६ मा बेंसीसहर नगरपालिकाले ४ लाख २८ हजार रुपैयाँ र वडा नं. १० बाट ५ लाख रुपैयाँ बजेट विनियोजन गरी बाँकी सडक निर्माण पूरा गरेको उनले बताए । रातामाटादेखि गाउँभाचोकसम्म ४ किलोमिटर ३ सय मिटर छ ।


गाउँसम्म मोटरबाटो पुर्‍याउन करिब १५ लाख रुपैयाँ सरकारी खर्च भएको छ । स्थानीयले ६ लाख रुपैयाँ जुटाएको थियो । बेंसीसहरबाट सीधै गाउँसम्म मोटरबाटो नजोडिँदा स्थानीय माझगाउँ, पुरानो दुवार, हिलेटक्सार, चिती, तिलाहार हुँदै बेंसीसहर आउजाउ गर्न बाध्य थिए । यसरी यात्रा गर्दा उनीहरूलाई आधा दिन लाग्थ्यो । कहींकतै सडक साँघुरो भएकाले दुर्घटनामा जोखिम थियो । ‘हामीले जसोतसो बेंसीसहरबाट गाउँमा मोटरबाटो बनाउन सफल भएका छौं । हाम्रा लागि यही ठूलो कुरा हो,’ अध्यक्ष गुरुङले भने ।


बेंसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालका अनुसार नगरपालिकाका हरेक गाउँ सीधै बेंसीसहर जोड्न सडक निर्माणकार्य भइरहेको छ । सडक पूर्वाधारको विकास नभएसम्म गाउँको विकास नहुने भन्दै सडकलाई प्राथमकितामा राखेर योजना बनाएको उनले बताए । ‘हाम्रो जस्तो मुलुकमा, भौगोलिक क्षेत्रमा विकासको पहिलो आधार भनेको सडक हो । सडक पुगेमा मात्रै अन्य विकास सहज र सजिलो हुन्छ, छिटै हुन्छ’ उनले भने, ‘सडक पुगे मात्र स्थानीयलाई सहज हुन्छ । स्थानीय उत्पादनले बजार पाउँछ ।’

प्रकाशित : चैत्र ९, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?