कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

पाहुनालाई मकै र मही

चापाकोट देउराली सामुदायिक होमस्टेमा पुग्ने पाहुनालाई स्थानीय उत्पादनले स्वागत गरिने
दीपक परियार

लेखनाथ — पन्ध्र महिने नाति पिठ्युँमा बोकेर ६२ वर्षीया तुलसी पराजुली ठमठम उकालो चढिन् । गाउँमा आएका पाहुनालाई स्वागत गर्न हौसिँदै डाँडामा पुगिन् । उनीसँगै पुगेका महिला समूहले झोला फुकाए । फुला उठेका मकै बाटामा खन्याए । बाल्टिनभरि ल्याएको मही गिलासमा राखे । सबै पाहुनलाई बाँडे । पारिलो घाममा भोकभोकै उकालो ठडिएका पाहुनाले स्वाद मानेर खाए ।

पाहुनालाई मकै र मही

पोखरा महानगरपालिका–२३ को चापाकोट देउराली सामुदायिक होमस्टेमा पुग्ने पाहुनालाई स्थानीयले यसैगरी स्वागत गर्छन् । फेवातालको सिरानमा पञ्चैबाजा, फूलमालासँगै स्थानीय अर्ग्यानिक स्वाद चखाउँछन् । पोखराबाट शुक्रबार हाइकिङ गर्दै चापाकोट पुगेको टोलीले स्थानीयको न्यानो आतिथ्यता पायो । गण्डकी प्रदेश सांसद राजीव पहारीसहितको टोली स्वागत देखेर फुरुंग पर्‍यो । ‘पोखराबाट सामान ल्याएर पाहुनालाई खुवाएर पर्यटन हुँदैन,’ सांसद पहारीले भने, ‘यहींको अर्ग्यानिक उत्पादनमा जोड दिनुपर्छ ।’


चापाकोट, घडेरी र ओखलढुंगामा २० घरमा भदौदेखि होमस्टे सुरु भएको हो । आन्तरिक पाहुना फाट्टफुट्ट पुग्ने भए पनि विदेशी पर्यटकले होमस्टे चलेको छ । एकाबिहानै फेवामा देखिने सूर्योदयको प्रतिविम्ब हेर्न पर्यटक पुग्छन् । योग, ध्यान शिविरका लागि चापाकोट उपयुक्त छ । घडेरी लालीगुराँस आमा समूहकी अध्यक्ष कृष्णकुमारी पौडेल पाहुनाले स्थानीय उत्पादन नै खोज्ने बताउँछिन् । स्थानीयले पनि आफ्नै खेतमा फलेको धानको भात, सिजनअनुसारको सागसब्जी, मकै, कोदोको परिकारले पाहुनाको मन भर्छन् ।


चापाकोट देउराली सामुदायिक होमस्टेका अध्यक्ष विश्वराज पराजुलीका अनुसार गाउँले ६० पाहुना थेग्छ । होमस्टेलाई विस्तार गर्ने स्थानीयको योजना छ । ‘पोखराबाट नजिकै भएर पनि ओझेलमा परेको छ,’ उनी भन्छन्, ‘विस्तारै पाहुना बढ्ने आशा छ ।’

पर्यटन बोर्ड पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलिया पोखराबाट नजिक भएकाले चापाकोटमा पर्यटनको सम्भावना अधिक रहेको बताउँछन् ।


होमस्टेको दिगोपनमा ख्याल पुर्‍याउनु महत्त्वपूर्ण हुने उनको सुझाव छ । ‘बसाइँसराइ र युवा जनशक्ति विदेशिने समस्याले कृषि उत्पादनमा कमी भएको छ,’ उनी भन्छन्, ‘यो चुनौतीबीच धेरै उत्साहका साथ होमस्टे सुरु गर्ने र त्यति नै चाँडै बन्द हुने हुनु हुँदैन ।’ कार्यवाहक वडाध्यक्ष भरतराज भण्डारी बसाइँसराइ रोक्नु मुख्य चुनौती भएको बताउँछन् ।


होमस्टेसँगै चापाकोट पर्यटन प्रवर्द्धन समिति पनि गठन भएको छ । पोखरामा रहेका पर्यटनसँग सम्बन्धित विभिन्न संघसंस्थासँगको सहकार्यमा गाउँमा पर्यटक भित्र्याउन संस्था क्रियाशील छ । समितिका अध्यक्ष भीम पराजुली होमस्टेमार्फत स्थानीयको आयआर्जन वृद्धि गर्ने योजना सुनाउँछन् ।


चापाकोटले पाएन फेवाको फाइदा

करिब १२ सय मिटर उचाइमा रहेको चापाकोट पोखराबाट १२ किलोमिटरको दूरीमा छ । लेकसाइडबाट मोटरमा फेवातालको सिरान ठूलाखेतसम्म पुगिन्छ । त्यहाँबाट एक घण्टा उकालो हिँडे चापाकोट पुगिन्छ । असलचौर, चापाकोट, घडेरी र ओखलढुंगामा स्थानीयको बसोबास छ । महानगरको वडामा कच्ची मोटरबाटो पुगेको छ । कालोपत्रे भने एक बित्ता पनि छैन ।


फेवातालबाट लेकसाइड, ड्यामसाइड, खहरे, खपौंदीलगायत तल्लो तटीयक्षेत्रका बासिन्दाले प्रशस्त लाभ लिएका छन् । उपल्लो तटीय क्षेत्रकाले खासै फाइदा लिन सकेका छैनन् । फेवाबाट फाइदा नपाउनेमा चापाकोट पनि पर्छ । सांसद राजीव पहारी उपल्लो तटीय क्षेत्रमा विकास नभई फेवाताल नजोगिने बताउँछन् । ‘लाभको समान बाँडफाँड हुनु आवश्यक छ,’ उनी भन्छन्, ‘त्यसका लागि तल्लो तटीय क्षेत्रका बासिन्दाले मन फराकिलो बनाउनुपर्छ ।’


चापाकोट पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष भीम पराजुली चापाकोट र ठूलाखेतको बीचमा खहरे खोला बढ्दा बर्खामा स्थानीय उत्पादन पोखरासम्म लैजान धौ हुने बताउँछन् । भन्छन्, ‘खोलामा पक्की पुल नहुँदा कहिले खोला घट्ला र पारि जाउँला भनेर कुनुपर्छ ।’ फेवातालबाट हुने आम्दानीको निश्चित प्रतिशत पोखराका व्यवसायीले उपल्लो तटीय क्षेत्रलाई छुट्याउनुपर्ने उनको तर्क छ ।

प्रकाशित : चैत्र ९, २०७५ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?