कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

बोटेलाई एकीकृत बस्ती

प्रताप रानामगर

दमौली — तनहुँको व्यास–५ लुटेवराहमा निर्माणाधीन नमुना एकीकृत बस्ती तयारीको काम अन्तिम चरणमा पुगेको छ । जनता आवास कार्यक्रममार्फत बोटे समुदायका लागि निर्माण गरिएको बस्तीका घरहरू छिटै सम्पन्न हुने भवन डिभिजन कार्यालय गोरखाका प्राविधिक शंकर गैरेले बताए ।

बोटेलाई एकीकृत बस्ती

‘निर्माण अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘अब शौचालय र झ्यालढोका राख्ने काम मात्र बाँकी छ ।’ यही असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । शौचालय र झ्यालढोका नबनेकाले अन्तिम किस्ता रकम भुक्तानी नदिएको उनले बताए । घर र शौचालय निर्माण सम्पन्न गरेपछि सबै रकम भुक्तानी हुन्छ ।


लुटेवराहसहित व्यास नगरपालिकामा कार्यक्रमअन्तर्गत विपन्न बोटे समुदायका ४३ घरलाई दुई कोठे पक्कीघर निर्माण गरिरहेको छ । सबै घरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । व्यास नगरपालिकाको वडा नम्बर ५ मा मात्र १५ घरपरिवारका लागि कार्यक्रममार्फत घर निर्माण भइरहेको छ । त्यस्तै व्यास–१० मा ८ र ७ मा २० घर निर्माणाधीन छन् । कार्यक्रमले आगामी असारभित्र निर्माण सम्पन्न गरी समुदायलाई घर हस्तान्तरण गर्नुपर्नेछ । तर, वर्ष दिन ढिलाइ भएको छ । अर्थ मन्त्रालयले बजेट राखिदिएन ।


संघीय संरचनाका कारण बजेट निकासीमा समस्या देखिएकाले वर्ष दिनपछि मात्र बजेट आएको उनले बताए । घर निर्माणका आधारमा लाभग्राहीले रकम किस्ता दिने व्यवस्था छ । ‘शौचालय निर्माण काम सम्पन्न भएको छैन,’ उनले भने, ‘अन्तिम किस्ता रकम निकसा नगरेका हौं ।’ शौचालय निर्माण सम्पन्न भएपछि मात्र अन्तिम किस्ता रकम निकासा हुन्छ । घर र शौचालय निर्माणपछि जनता आवास कार्यक्रममार्फत निर्माण गरेको नमुना एकीकृत बस्ती र घर समुदायलाई हस्तान्तरण गर्ने योजना छ ।


पैसा साथमा नभएकाले चर्पीको पूरा बनाउन नसकेको स्थानीय धनमाया माझीले बताइन् । ‘अन्तिम किस्ता रकम पाउन शौचालय बनाउनुपर्छ, उनले भनिन्, ‘सिमेन्ट र बलुवा किन्ने पैसा पनि छैन ।’


चर्पीको खाल्डो खनेर ढुङ्गाको गारो राख्ने काम मात्र भएको छ । तर, चर्पीको घर बनाउने पैसा नै छैन । अन्तिम किस्ता रकम स्वरूप ३३ हजार २ सय ५० रुपैयाँ बाँकी छ । त्यो पैसा पाए त चर्पी बनाएर सकिने उनले बताए ।


खरले छाएको र चिमले बारेको घरमा बस्दै आएका बोटे समुदाय जनता आवास कार्यक्रमले घर बनाइदिएपछि उत्साहित छन् । सुरक्षित घरमा बस्न पाउँदा खुसी लागेको स्थानीय रूपा बोटेले बताइन् । ‘खरले छाएको झुपडीमा बर्स्दै आएका थियौं,’ उनले भनिन्, ‘अब नयाँ पक्की घरमा बस्न पाउने भयौं ।’


सरकारले एकै ठाउँमा घर बनाइदिएको छ । घरको डिजाइन एउटै छ । टिनको छाना पनि एउटै रंगका छन् । हेर्दा पनि रमाइलो र राम्रो लागेको छ । पक्की घरमा सुरक्षितसँग बस्न पाएकाले एकदम खुसी लागेको उनले बताइन् । खरले छाएको सानो झुपडीमा बस्दै आएका उनीहरू बर्खामासको झरी र हिउँदको चिसोले लुगलुग काम्दै रात–दिन बिताउँदै आएका थिए ।

प्रकाशित : चैत्र ९, २०७५ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?