कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

सुध्रियो आनीबानी

आश गुरुङ

लमजुङ — भुजुङकी स्यानु विक ७१ वर्षकी भइन् । हिजोआज खान खानुअघि–पछि साबुनपानीले हात धुन बिर्सिंदैनन् । कुनै जमानामा शौचालय थिएन । घर नजिकै खोल्सीमा दिसापिसाव गरेर यतिको उमेर भएको बताउने स्यानुको घरमा अहिले शौचालय छ । शौचालयमा दिसापिसाव गर्ने बानी परेको छ उनलाई । पानी उमालेर मात्रै पिउँछिन् ।

सुध्रियो आनीबानी

‘घरआँगन पनि आफैं सफा राख्छु । डिँगा (चौपाय) को गोबर र बालबच्चाको दिसापिसावले फोहोर देखिने आँगन अहिले सफा छ,’ उनले भनिन् । फोहरलाई कुहिने र नकुहिने ठाउँमा फालेको उनले बताइन् ।


क्व्होलासोंथर गाउँपालिका–४ कै वागमती विकको परिवारले पानीलाई फिल्टर गरेर मात्रै पिउने गरेको छ । उनी पानी र खानेकुरा छोपेर राख्छिन् । बासी खाना खाँदैनन् । ‘हामी व्यक्तिगत सरसफाइमा ध्यान दिन थालेका छौं । घरआँगन सफा राखेपछि गर्मी लाग्दा माखा भन्किन छाडेको छ,’ उनले भनिन् ।


युम्बो विकास आमा समूहकी अध्यक्ष आशकुमारी गुरुङका अनुसार पहिले फोहर देखिने नानीबाबुहरू अहिले सफासुग्घर देखिन थालेका छन् । महिला दिदीबहिनी सफासुग्घर देखिएका छन् । ‘हामी गाउँटोल हप्ताको एकपटक सफा गर्छौं । घरआँगन सधैं सफासुग्घर राख्छौं,’ उनले भनिन् ।


लालीगुराँस युवा क्लबका अध्यक्ष नौराज गुरुङका अनुसार २०५० सालअघि गाउँको सरसफाइ अवस्था ज्यादै नाजुक थियो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय आएपछि सरसफाइमा स्थानीय अघि बढेको छ । अहिले सरसफाइ गाउँ बनाउन सफल भएको उनले बताए ।


वडास्तरीय गाउँस्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष एवं वडाध्यक्ष खिमबहादुर गुरुङका अनुसार हिजोआज व्यक्तिगत तथा वातावरणीय सरसफाइमा गाउँले अघि बढेका छन् । उनका अनुसार पहिलेदेखि सरसफाइका कार्यक्रम गरिए पनि २ वर्षदेखि पूर्ण सरसफाइ गाउँ बनाउन स्थानीय जुटेका थिए ।


अभियान सञ्चालनपछि गाउँ सफासुग्घर बनेको उनले बताए । उनका अनुसार सरसफाइका ६ सूचक पूरा भएपछि क्व्होलासोंथर गाउँपालिका–४ भुजुङ (साबिकको भुजुङ गाविस) लाई अघिल्लो साता पूर्ण सरसफाइ गाउँ घोषणासमेत गरिएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख बामदेव पौडेलले सरसफाइसम्बन्धी १४ बुँदे घोषणापक्रलाई निरन्तरता दिएमा व्यत्ति र समुदाय सफा रहिरहने बताए ।


भुजुङमा एक्यापको सहयोगमा स्थानीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले सफा र स्वच्छ घर अभियान सञ्चालन गरेको हो । अभियानअन्तर्गत भुजुङमा रहेका करिब ४ सय घरधुरीमा सरसफाइका सूचक पूरा भएको एक्याप भुजुङका कार्यालय प्रमुख राजेशप्रसाद गुप्ताले बताए ।


उनका अनुसार सरसफाइका सूचकअनुसार स्थनीयले शौचालयको प्रयोग, साबुनपानीले हात धुने बानी, सरसफाइयुक्त खाना, स्वच्छ पिउने पानी, घरआँगनको सरसफाइ र वातावरणीय सरसफाइमा ध्यान दिएका छन् ।


क्व्होलासोंथर गाउँपालिकाका अध्यक्ष प्रेम घलेका अनुसार गाउँपालिकाका ९ वडामध्ये भुजुङसहित ३ वडा पूर्ण सरसफाइ गाउँ घोषणा भइसकेका छन् । अन्य वडामा पनि सरसफाइका अभियान सञ्चालन भइरहेका छन् । घलेले स्वास्थ्य, सरसफाइ र वातावरणमा समृद्धि ल्याउनुपर्ने बताए । ‘वातावरणीय सरसफाइमा गाउँपालिकाको चासो छ । हामीले योजना बनाएर अघि बढेका छौं,’ उनले भने ।


जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेले सरसफाइलाई पर्यटन प्रवर्द्धनका कार्यक्रमसँग जोड्नुपर्ने बताए । उनका अनुसार सरकारले लिएको सरसफाइसम्बन्धी लक्ष्य पूरा गर्न हरेक नागरिकले आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने बताए । ‘सरसफाइ हाम्रै लागि हो । हामी आफ्नै लागि सरसफाइ हुन आवश्यक छ’ उनले भने, ‘हरेक सफा गाउँ पर्यटकको नजरमा पर्छन् । पर्यटन समृद्धिको आधार हो । सरसफाइले समृद्धि ल्याउन मद्दत पुग्छ ।’


एक्याप केन्द्रीय आयोजना प्रमुख राजकुमार गुरुङले पर्यटन प्रवर्द्धनका लागि सरसफाइ अत्यावश्यक रहेको बताए । ‘हामीले एक्याप क्षेत्रभित्रका सबै ठाउँमा सरसफाइ अभियान थालेका छौं । सरसफाइयुक्त गाउँ बनाएर पर्यटकीय गाउँ बनाउने नागरिकको अभियानमा हाम्रो सहयोग छ,’ उनले भने ।


सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारले नागरिकका स्वास्थ्य इज्यतसँग जोडिने भएकाले गाउँलाई सुन्दर बनाउन सरसफाइ निरन्तरता दिनुपर्ने बताए । सुआहारा कार्यक्रमका वातावरण अधिकृत रोशन चौलागाईंले सफा खाना र सफा वातावरणले मानिस निरोगी बन्ने बताए ।


दिगो विकास लक्ष्य अन्तर्गत नेपाल सरकारले सन् २०३० सम्ममा नेपाललाई पूर्ण सरसफाइको आवश्यक सूचक पूरा गरी पूर्ण सरसफाइ मुलुक घोषणा गर्ने लक्ष्य लिएको छ । नेपालको स्वास्थ्य क्षेक्रमा खुला दिसामुत्त अभियानपछिको दोस्रो अभियान पूर्ण सरसफाइ अभियान हो ।

प्रकाशित : चैत्र ९, २०७५ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?