कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

महिलाबाट पुरुष पिडित

प्रतीक्षा काफ्ले

स्याङ्जा — महिलाबाट हिंसा बेहोर्नुपरेको दाबी गर्दै स्याङ्जा जिल्ला अदालतमा एक जनाले श्रीमतीविरुद्ध सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेका छन् । 

परपुरुषसँगको सम्बन्ध रहेको आरोप लगाउँदै उनले दिएको निवेदन महिना दिनअघि दर्ता गरेको जिल्ला अदालतले जनाएको छ । उक्त मुद्दा फर्छ्योट नहुँदै त्यस्तै अर्को मुद्दा दर्ता भएको छ । गत भदौदेखि मुलुकी देवानी ऐन र मुलुकी देवानी कार्यविधि चलनमा आएयता उनीहरूले मुद्दा दर्ता गरेका हुन् ।


नयाँ कानुन कार्यान्वयन भएसँगै पुरुषले पनि जिल्ला अदालतमा सिधै मुद्दा दर्ता गर्न सक्ने प्रावधान छ । मुलुकी ऐन अर्थात् पुरानो कानुनबमोजिम पुरुषले श्रीमतीविरुद्ध मुद्दा हाल्नुपरेमा वडा, गाविस/नगरपालिका कार्यालय हुँदै अदालत जानुपर्थ्यो ।


जिल्ला अदालतको अभिलेखअनुसार मुद्दा दर्ता गर्नेमा महिलाकै संख्या बढी छ । चालु आर्थिक वर्षमा मात्रै १ सय ७८ वटा मुद्दा दर्ता भएका छन् । जसमध्ये १ सय ३३ वटा मुद्दा महिलाले र ४५ वटा मुद्दा पुरुषले मात्र दर्ता गरेको जिल्ला अदालतका स्रेस्तेदार अर्थात् सूचना अधिकारी नन्दप्रसाद आचार्यले जानकारी दिए । कुल मुद्दामध्ये एक सय ३१ वटा मुद्दा फैसला भइसकेका छन् भने फैसलाका लागि ३१ वटा मुद्दा तम्तयारी अवस्थामा रहेको आचार्यले बताए ।


फैसला गरिएका मुद्दाअन्तर्गत २ वटा पुरुषले दर्ता गरेको मुद्दा रहेका छन् । गत आर्थिक वर्षमा २ सय ३० वटा मुद्दा दर्ता भएका थिए । कुल दर्तामध्ये २ सय १२ वटा फैसला भएका थिए । भने, एकवटा मुद्दा चालु आर्थिक वर्षका लागि सरिआएको अदालतले जनाएको छ । मुलुकी देवानी (संहिता) ऐन २०७४ र मुलुकी देवानी कार्यविधि (संहिता ऐन २०७४) को दफा ९४ मा पतिले सम्बन्धविच्छेद गर्न सक्ने अधिकारी खुलाइदिएकाले पुरुषले अदालतमा मुद्दा दर्ता गर्ने क्रम दिनानुदिन बढ्दो रहेको अदालतका स्रेस्तेदार आचार्यले बताए ।


कानुनले पत्नीको मञ्जुरीबिना पनि पतिले सम्बन्धविच्छेद गर्न सक्ने बाटो खुलाइदिएको अदालतका वैतनिक वकिल दुर्गानारायण ढकालले बताए । नयाँ ऐनको दफा ९५ लाई आधार मानेर पत्नीले पनि पतिको मञ्जुरीबिना नै सम्बन्धविच्छेद गर्न सक्ने कानुनी प्रावधान छ ।


‘पुरुष अन्यायमा छैनन् भन्न मिल्दैन,’ स्रेस्तेदार आचार्यले भने, ‘पुरानो कानुनबमोजिम पुरुष अदालतमा आउनका लागि लामो प्रक्रिया अपनाउनुपर्थ्यो । विभिन्न प्रक्रिया पार गरेपछि अदालत आउने नियम भएकाले यो प्रक्रिया झन्झटिलो मानेर बस्थे । तर, अहिले नयाँ कानुनले पुरुषले पनि सिधै अदालतमा मुद्दा दर्ता गर्न सक्ने र श्रीमतीको मञ्जुरीबिना सम्बन्धविच्छेद गर्न सकिने भएकाले पुरुषले दर्ता गरेका मुद्दाको संख्या पनि बढेको हो ।’


यसरी नै पीडित पुरुष बाहिर निस्किए भने मात्रै पनि पुरुष निवेदक भएका मुद्दाको संख्यामा ह्वात्तै वृद्धि आउने उनले बताए । अदालतका अनुसार श्रीमती परपुरुषसँग अर्को सम्बन्ध गाँसेको, अर्कै पुरुषसँग वैवाहिक सम्बन्धमा गाँसिएको, दुवै जनाले एकल जीवन बाँच्ने निर्णय गरेको जस्ता कारण देखाउँदै सम्बन्धविच्छेद गर्न आउँछन् । वैतनिक वकिल ढकालले समाजमा अधिकांश पुरुष पीडित रहेको बताए । ‘इज्जत जाने डरले अझै पनि सानो कुरामा पुरुषले मुद्दा मामिलो गर्न खोज्दैनन्,’ उनले भने, ‘मुद्दा दर्ता नगर्दैमा पुरुष पीडित छैनन् भन्न सकिंदैन । पीडित भएर पनि बाहिर नआएका हुन् । अन्यायमा परेका महिला पुरुष जोकोही भए पनि संविधानले प्रस्टसँग अधिकार खुलाइदिएको छ । यसकारण पुरुष न्यायको ढोकासम्म आउन थालेका हुन् ।’ लामो प्रक्रियाको अन्त्यसँगै पुरुष अदालत आउने क्रम बढेको उनले बताए ।

प्रकाशित : चैत्र १०, २०७५ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?