कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

झोलुंगे पुलको लहर

१२० मिटर लम्बाइका १३ वटा र लामा अग्ला १५ पुल बन्दै 
घनश्याम खडका,

म्याग्दी — दिनहुँ स्कुल आउजाउ गर्दा गर्दा मञ्जु पुनलाई चार घण्टा लाग्थ्यो । रघुगंगा–१ का बेग र बान्दुक बस्ती जोड्न बेगखोलामाथि झोलुंगे पुल बनेपछि उनीसँगै महादेव मावि पढ्ने विद्यार्थीको यात्रा एक घण्टामा छोट्टिएको छ ।

झोलुंगे पुलको लहर

३ सय ६६ मिटर लम्बाइ र १ सय ४८ मिटर अग्लो झोलुंगे पुल निर्माणपछि स्कुले बालबालिका मात्रै होइन बेग र बान्दुकका गाउँलेलाई आउजाउको दूरी छोट्टिएर हाइसञ्चो भएको छ । भीर र बाढीको बाटो हिंड्दा हुने जोखिम घटेको छ ।


बेग–बान्दुक मात्र होइन ग्रामीण सडकको विस्तारसँगै जिल्लामा लामा र अग्ला प्रकृतिका झोलुंगे पुलको माग बढ्न थालेको छ । मोटरबाटो गाउँवस्ती उक्लेसँगै नयाँ बस्ती विस्तार हुन थालेका छन् । पुराना बजार ओझेल परेसँगै परम्परागत घोडेटो र गोरेटो बाटोसँगै पुराना झोलुंगे पुल पनि सार्नुपर्ने अवस्थामा छन् ।


नयाँ बस्ती र बजारसँग जोडिन गाउँले नयाँ ठाउँमा पुलको माग गरिरहेका छन् । जिल्लाका आधा दर्जन स्थानीय तहमा १ सय २० मिटर लम्बाइका १३ वटा झोलुंगे पुल निर्माणाधीन छन् । ट्रेलव्रिज सपोर्ट युनिट (हेल्भटास) अन्तगेत थप १५ वटा लामा र अग्ला पुल निर्माण भइरहेका छन् ।


‘झोलुंगे पुल अक्करे भीरको टुप्पोमा छरिएका बस्तीलाई जोड्ने भरपर्दो र सहज माध्यम हुन्,’ धौलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुनले भनिन्, ‘यस्ता पुलले धौलागिरीसमेत पर्यटकीय गन्तव्यमा आएका पर्यटकको यात्रालाई पनि सजिलो र सुरक्षित बनाएको छ ।’ पहिले पहिले झोलुंगे पुल आवश्यक नठानिएका स्थानमा पनि माग बढ्न थालेको छ । मोटरबाटोले नयाँ बस्ती, बजार विकास गरेको तथा गाउँपालिका केन्द्रसँग जोडिनेगरी सडक पूर्वाधार निर्माण भैरहेको छ ।


सदरमुकाम र सहरकेन्द्रित विकास मोडेल गाउँपालिका केन्द्रतर्फ सोझिन थालेका छन् । शिक्षा, स्वास्थ्यलगायतका आर्थिक लाभका सेवा लिन छिटोछरितो यात्राका लागि आवश्यक ठानिएका झोलुंगे पुलले दुई वा धेरै गाउँलाई जोड्ने माक्र हैन, आर्थिक, सामाजिक विकासमा सत्रिय पार्न सहयोग पुर्‍याएको छ ।


जिल्ला समन्वय समितिको अभिलेखअनुसार जिल्लामा रहेका एक सय ९१ वटा झोलुङ्गे पुल छन् । जिल्लामा अहिले २ सयभन्दा बढी झोलुंगेको माग छ । ‘पहाडका वल्लो डाँडा र पल्लो डाँडामा रहेका बस्ती जोड्न लामा प्रकृतिका झोलुंगे पुलको माग बढी छ,’ प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले भने, ‘धौलागिरी गाउँपालिकाको मुदी र खिबाङ जोड्न, अन्नपूर्ण गापाको नागी–राम्चे जोड्ने, रघुगंगाको पाखापानी र दर्मिजा जोड्ने, बेनी नगरपालिकाको रत्नेचौर र बागलुङ जोड्ने समेत तीन दर्जन झोलुंगे पुलको माग छ ।’


जिल्लामा प्रयोगमा रहेका अधिकांश झोलुंगेपुलहरू स्थानीय लोहारहरूले तयार पार्ने झोलुंगे पुलको रूपरेखा र डिजाइनमा आधारित छन् । बेनीको पश्चिम मंगलाघाटमा म्याग्दी नदीमाथि निर्मित र चालु अवस्थाको झोलुंगे पुल वागलुङ गल्कोटका लालबहादुर शेरचनले विसं १९२५ तिर म्याग्दीको रुमको खानीबाट निकालिएको फलामलाई साङ्लो बनाई निर्माण गरेका थिए ।


यो नै चालु अवस्थामा रहेको जिल्लाको सबैभन्दा पुरानो झोपु हो । नेपालमा आधुनिक झोलुंगे पुलको अवधारण भने डा. टोनी हागनले भित्राएको मानिन्छ । सुरुमा झोलुंगे पुलमा काठको प्रयोग गरिन्थ्यो तर हिजोआज वनविनाश रोक्न स्टिलका फ्ल्याक प्रयोग गरिन्छ । अझै दुर्गम गाउँहरूमा फाट्टफुट्ट काठको प्रयोग गरिन्छ । झोलुंगे पुलमा सस्पेन्सन, सस्पेन्डेड र ट्रसगरी तीन प्रकारका झोलुंगेपुल प्रचलनमा छन् ।


धेरै पहिलादेखि विभिन्न दाताहरूको सहयोगमा झोपु निर्माण भए पनि पछिल्लो चरणमा स्वीस विकास नियोगअन्तर्गतको हेल्भटासको आर्थिक सहयोगमा स्थानीय विकास मन्त्रालय/ट्रेल ब्रिज सपोर्ट युनिट (टीबीएसयू) ले सहयोग गर्ने गरेको छ । एक सय २० मिटरभन्दा छोटा दूरीका झोलुंगे स्थानीय सरकारले आफ्नै प्राविधिक स्रोत र साधनमा निर्माण गर्न सक्छन् । तर सोभन्दा लामा पुल भने टीबीएसयू आफैंले निर्माण गर्ने गरेको छ ।


ग्रामीण जनजीवनको प्रमुख आधार मानिएको झोलुंगे पुलले मानिसको जीवन सहज मात्र बनाएको छैन, त्यहाँको आर्थिक, सामाजिक विकासलाई समेत सहयोग पुर्‍याएको छ । हिंडेर तर्न नसक्ने नदी वा खोला पार गर्न र वल्लोपल्लो बस्तीसम्म छिटोछरितो यात्राका लागि बनाइएका झोलुंगे पुलले ग्रामीण भेगमा शिक्षा, स्वास्थ्य सेवालगायतका आर्थिक लाभ लिनमा सहयोग गरेको छ ।

प्रकाशित : चैत्र १०, २०७५ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?