१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

विसंगतिविरुद्ध गाउँपालिका

प्रकाश बराल

बागलुङ — समाजमा बढ्दो विसंगतिविरुद्ध यहाँको गाउँपालिकाले अभियान थालेको छ । बडिगाड गाउँपालिकाले समाजमा बढ्दो जुवातास, जाँडरक्सी, बालविवाह, दाइजो प्रथाविरुद्ध अभियान चलाएको हो । अभियानले अवैध रक्सी उत्पादन र बिक्री वितरण रोक्ने, अन्य विसंगतिमा प्रहार गरेर निस्तेज बनाउनेलगायत लक्ष्य राखेको छ ।

औपचारिक घोषणा कार्यक्रम गरेर गाउँपालिका अध्यक्ष मेयरसिंह पाइजाले गाउँपालिकास्तरीय अभियान पहिलो भएको दाबी गरे । ‘हामीले सुरु नगरे कसले गर्ने, अहिले सुरु नगरे कहिले गर्ने ?’ पाइजाले भने, ‘विकृति विसंगतिविरुद्ध लाग्न सकिएन भने भोलिको पुस्ताले दुःख पाउनेछ ।’ दुर्व्यसन बढ्दो दरमा भएकाले अब समयमै लाग्नुपर्ने भन्दै वडा, टोल, विद्यालय तथा स्वास्थ्य संस्थाबाट सामूहिक अभियान चालिने उनले बताए ।


आमा समूहलाई पनि यो अभियानमा जोडेर लैजाने प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले बताए । ‘हरेक वडामा निगरानी समूह बनाउने, गाउँपालिकाले पनि अनुगमन गर्ने र त्यसबाट सभ्य समाज निर्माण गर्ने लक्ष राखिएको छ’ सुवेदीले भने, ‘मदिरा नियन्क्रण, सडक अतित्रमणको क्रम रोक्ने र मापदण्ड पालनामा बाध्य पार्ने योजना पनि छ ।’


सुशासन कायम राख्ने कामका लागि पनि यो अभियान लक्षित भएको उनको भनाइ छ । बालविवाह गरेकै कारण धेरै किशोरकिशोरीले बीचैमा पढाइ छाड्ने दर बढ्दो छ । त्यसका लागि २० वर्षअघि विवाह गर्न नदिने, अभिभावकलाई सोहीअनुसारको प्रशिक्षण दिनेलगायतका काममा लाग्दा धेरै समस्या समाधान हुने पाइजाको भनाइ छ ।


‘विद्यालय पढ्ने उमेरका बालबालिकाले चुरोट, रक्सी पिउने, युवाहरू उत्पादनमूलक काममा नलागिकन अन्य दुर्व्यसनमा लाग्ने भयो भने हामीले समृद्धि ल्याउन सक्दैनौं’ उनले भने, ‘अब सबै विद्यालयमा शैक्षिक गुणस्तर बढाउने, स्वास्थ्यको सुधार गर्ने काम पनि थाल्नेछौं ।’ शिक्षकहरूले भने अभियान चलाउने नाउँमा कर्मचारी र जनप्रतिनिधिले भत्ता पचाउने काम गर्न नहुने टिप्पणी गरे ।


‘अभियान राम्रो छ तर एनजीओजस्तो भयो भने त्यसले राम्रो गर्दैन’ शिक्षक संघ गण्डकी प्रदेशका महासचिव सागर खरेलले भने, ‘सामाजिक अभियानकै रूपमा यो कामलाई अगाडि बढाउनुपर्छ ।’ घोषणा कार्यान्वयनमा आउने गरी संयन्त्र बनाउन उनले सुझाव पनि दिए ।


गाउँपालिकाले थालेको अभियानजस्तै यसअघि तमानखोला गाउँपालिकाले पनि बालविवाहविरुद्ध अभियान थालेको छ । गत वर्षदेखि थालिएको अभियानमा उमेर नपुगी विवाह गर्न खोजिएका धेरै किशोरकिशोरीलाई सम्झाएर विद्यालय पठाउने काम गरिएको अध्यक्ष जोकलाल बुढाले बताए । शिक्षाको गुणस्तर बढाउने, प्राविधिक शिक्षाको ज्ञान दिने र रोजगारमा आकर्षित गर्न सक्दा अभियान सफल हुने उनले सुनाए ।

प्रकाशित : चैत्र ११, २०७५ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?