१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

सानो पुँजी घरखर्चमै ठिक्क

लगानी गर्ने पैसा उपलब्ध भए स्वरोजगारमा सक्रिय रहने दिदीबहिनीको प्रतिबद्धता
विना थापा

कास्की — काम गर्ने इच्छा र जाँगर नभएको होइन । आमा समूहबाट ऋण ल्याएर उनले बाख्रापालन गरेकी छन् । तर, जति आम्दानी उतिनै खर्च छ । पोखरा–११ काहुँडाँडाकी गुमा बस्नेत भन्छिन् , ‘सोनो पुँजीबाट गरेको आम्दानी घरखर्चमै ठिक्क हुन्छ । धेरै लगानी गरेर काम गर्न मन भए पनि केही भइहाले ऋण तिर्न नसकिने पो हो कि भन्ने डर लाग्छ ।’

सानो पुँजी घरखर्चमै ठिक्क

स्थानीय क्रिशत्ति आमा समूहमा आबद्ध महिलाहरू मासिक थोर–थोरै रकम बचत गर्छन् । त्यही बचतबाट जम्मा हुने रकम समुहले परम्परागत कृषिकर्मका लागि ऋण दिन्छ । सस्तो ब्याजमा यसरी परिचलन गरिने ऋणको रकम धेरै छैन । समूहबाट सापटी ल्याएर बाख्रापालन गरेका महिलाहरू आफ्नो समूहको सामान्य बचतले मात्रै आयआर्जन बढाउने काम गर्न गाह्रो परेको सुनाउँछन् । ‘महिना–महिना किस्ता बुझायो, बचेको पैसा चियापानीलाई मात्र ठिक्क हुन्छ,’ बस्नेतले भनिन्, ‘स्थानीय तहबाट हाम्राजस्ता समूहलाई अनुदानको व्यवस्था भए धेरै बाख्रा पाल्न रहर गर्ने हामीजस्ता महिलालाई ठूलो भरथेग हुने थियो ।’


समूहबाटै सापटी लिएकी लक्ष्मी रायमाझीले पनि बाख्रा पालेकी छन् । ‘घरखर्चको तीन भागमा एक भाग मात्र धानेको छ,’ उनी भन्छिन्, ‘हामीलाई लगानी गर्ने पैसा पर्याप्त भइदिए बाख्रा थप्ने र तरकारी खेती लगाउन हिम्मत आउँथ्यो ।’ बाख्रापालकका लागि कहाँ लगेर बेच्ने भनेर बजारको समस्या छैन । बढेका खसीबोका घरघरबाटै खरिदबिक्री हुन्छन् ।


‘वर्ष दिन लगाएर हुर्कायो, आम्दानी र खर्च बराबरै भएजस्तो हातमा अलि ठूलो लगानी गर्न पैसा बच्दैन,’ उनी भन्छिन्, ‘सानो पुँजीले घर धान्दैन । बजारमा महँगी छ । खानेकुरा, केटाकेटीको स्कुल फी, लुगाफाटा भन्दाभन्दै जति आयो उति नै खर्च हुन्छ ।’ समूह–समूहमा मिलेर सानो पुँजीबाट व्यावसायिक कृषि र घरेलु उद्यम गर्न चाहने महिलाहरूलाई राज्यले सघाउने नीति लिनुपर्ने उनले बताइन् ।


‘समूहबाट पैसा ल्याएर सानो टनेलमा गोलभेडा लगाएकी छु । तर, ठूलो लगानी गरेजस्तो नहुने रहेछ, खासै खर्च टर्दैन,’ स्थानीय लक्ष्मी घिमिरे भन्छिन्, ‘अलि धेरै लगानी गरेर ठूलो व्यवसाय गर्न मन भए पनि हामी बैंकसँग कारोबार गर्न डराउँछौं । घरघडेरी राखेर ऋण लिन डरै हुन्छ । त्यसैले सानो–सानो लगानीका काममा समय बितेको छ ।’ सानो पुँजी लगानी गरेर थालेका कामले आफूहरूलाई व्यस्त बनाए पनि हात पर्ने आम्दानी देख्दा चित्त नबुझ्ने उनले बताइन् ।


विपन्न परिवारका महिलालाई खनखाँचोमा सजिलो र सानो पुँजीबाट गर्न सकिने व्यवसायलाई सघाउ पुग्छ भनेर तीन वर्षअघि समूह गठन गरेको अध्यक्ष चन्द्रा लामिछनेले बताइन् । ‘दिन बित्दै गयो, सापटी अलि धेरै चाहिन्छ भन्नेहरू धेरैजना हुनुभयो । हाम्रो बचत थोरै भएपछि ऋण लगानी कसरी धेरै हुनु,’ उनले भनिन्, ‘महिना–महिना संकलन हुने बचतले सबैलाई सापट दिन भाग पुग्दैन । तैपनि आलोपालो गरेका छौं ।’ समूहबाट ऋण सापट लिएर सानो पुँजीबाट बाख्रापालन, तरकारी खेती र सानो पसल चलाउने लगायत व्यवसाय गर्नेहरू २६ जना रहेको उनले बताइन् ।


‘एकपटक ऋण लिएर काम थालेपछि किस्ता तिर्दै गएकाको लगानी थप्ने हिम्मत बढ्ने रहेछ तर हाम्रो क्षमता सहकारी र बैंकजस्तो छैन,’ उनी भन्छिन्, ‘बैंक र सहकारीमा जान डराउनेहरू समूहबाट कारोबार गर्छन् । साहूसँग ऋण लिँदा पनि व्यवहारमा तल–माथि पर्ने डर हुन्छ । हाम्राजस्ता समूहलाई सरकारले सघाइदिए धेरै महिलाहरूले घरै बसेर आयआर्जनका काम गर्न ठूलो मद्दत पुग्थ्यो ।’ लगानी गर्न पुँजी धेरै नहुँदा पोखराको ठूलो बजारबाट आसपासका पशुपालक र तरकारी खेती गर्न चाहने साना किसान परिवारले लाभ लिन नसकेको उनले बताइन् ।


पोखरा महानगरपालिकाले हालै ‘उपप्रमुखसँगको महिला कार्यक्रम’ घोषणा गरेको छ । महानगरपालिकाको सामाजिक विकास शाखाकी महिला विकास अधिकृत कल्पना सापकोटा भन्छिन्, ‘यो कार्यक्रम महिलालाई आयआर्जनका काममा सघाएर आर्थिकरूपले सबल बनाउनकै लागि हो ।’


नौलो कार्यक्रम भएकाले विस्तारै वडा तहमा यसबारेको जानकारी पुगेपछि महिला समूह लाभान्वित हुने उनले बताइन् । ‘महिला सहकारीको सहकार्यमा उत्पादनमूलक उद्यम सञ्चालन, आर्थिक सशक्तीकरणका लागि उत्पादनमूलक व्यवसाय सञ्चालन, ५० महिला उद्यमी ५ सय रोजगारलगायतका विभिन्न शीर्षकका कार्यक्रमका लागि चालु वर्ष २ करोडको बजेट छ,’ उनले भनिन्, ‘अब महिला समूहहरूले आ–आफ्ना वडा कार्यालयको सिफारिसमा आफ्ना योजनाको आवश्यक कागजात लिएर आए सहयोग पाउँछन् ।’


त्यसरी आइपुगेका प्रस्तावित योजनामाथि उप्रमुख मञ्जुदेवी गुरुङको संयोजकत्वमा गठन भएको सात सदस्यीय कार्यसमितिको बैठकले सहयोग के कसरी र कति दिने भन्ने निर्णय गर्ने उनले बताइन् । ‘महानगर ठूलो छ, केही भागमा अझै जानकारी नपुगेको हुनसक्छ तर, जतिले योजना पेस गर्दैछन्, उनीहरूले सहयोग पाइरहेका छन्,’ उनले भनिन्, ‘कार्यक्रमले व्यवसाय गर्न इच्छुक तर आर्थिक अवस्था कमजोर भएका, एकल महिला, दलित, अपांगता भएकालाई सहयोग दिइरहेको छ ।’


सम्बद्ध वडाको सिफारिसमा आउने योजनाहरूमा हालसम्म ऊक्त कार्यत्रमबाट बजेटको ६० प्रतिशत लगानी भइसकेको उनले बताइन् । महानगरपालिकाले महिलाको आर्थिक सबलीकरणका लागि ल्याएको कार्यक्रमबारे आफ्नो क्षेत्रमा जानकारी पुर्‍याउने काम सम्बद्ध वडा कार्यालय र जनप्रतिनिधिको भएको उनको भनाइ छ ।

प्रकाशित : चैत्र १२, २०७५ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?