सरौंदीमा आर्क प्रविधि पुल

फनिकुलर आर्क प्रविधिमा कम लागतमै आकर्षक पुल बन्ने
प्रतीक्षा काफ्ले

स्याङ्जा — कास्कीको भरतपोखरी र स्याङ्जाको टक्सार जोड्न सरौँदी खोलामाथि फनिकुलर आर्क प्रविधिबाट पक्की पुलको निर्माण गरिएको छ  । प्रदेश मन्त्रालयअन्तर्गत बनेको उक्त पुल नेपालमै नौलो प्रविधिको रहेको दाबी प्राविधिकको छ  ।

सरौंदीमा आर्क प्रविधि पुल

हेर्दा आकर्षक देखिने पुल कम लागतमा निर्माण गर्न सकिने प्राविधिक बताउँछन् । यसअघि चिनियाँ प्रविधिमा आधारित सर्कुरल र स्पान्ड्रेल आर्च ब्रिज बढी निर्माण भइरहेको भए पनि फनिकुलर आर्क नेपालमै पहिलोपटक प्रयोग गरिएको गण्डकीको भौतिक पूर्वाधार मन्त्रालयका इन्जिनियर सुमन गिरीले बताए ।


‘चिनियाँ प्रविधिबाट पोखरा–बागलुङ, मुग्लिन–नारायणगढ जोड्ने पुल निर्माण भएका थिए,’ उनले भने, ‘यो प्रविधिले पुल निर्माणमा ठूलो लागत लाग्छ । तर, फनिकुलर आर्क प्रविधिमा सस्तो लागतमा आकर्षक पुल बनाउन सकिन्छ ।’ प्रदेश सरकारमार्फत निर्माण गरिएका पूर्वाधारमध्ये टक्सारमा बनेको पुल पहिलो र उदाहरणीय रहेको उनले बताए ।


विशेषगरी नेपालजस्तो चट्टानी भू–वनोट गल्छी भू–धरातलका लागि उपयुक्त मानिने इन्जिनियर गिरीले जानकारी दिए । जिल्ला प्राविधिक कार्यालय प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास कार्यालय बनेपछि निर्माण भएको यो पहिलो पुल हो । निर्माण व्यवसायी भण्डार थोटुंगले पुल उद्घाटन भएको झन्डै ३ वर्ष लगाएर सम्पन्न गरेको मन्त्रालयले जनाएको छ ।


२०७३ साल असार ३ गते तत्कालीन विकास समितिका सभापति रवीन्द्र अधिकारीले शिलान्यास गरेको पुलको उद्घाटन गण्डकी प्रदेशका भौतिक पुर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले गरेका हुन् । अबका दिनमा प्रदेश सरकार खरायो गतिमा दौडने बताउदै उनले सुरुमा विकासको जग हाल्न समय लागेको भएता पनि अब विकासले गति लिने बताए ।

स्वीसअन्तर्गतको संस्थाको प्राविधिक सहयोगमा निर्मित पुलको लागत १ करोड ८० लाख रहेको इन्जिनियर गिरीले बताए । पुलले पोखराका निर्मलपोखरी, भरतपोखरी र स्याङ्जाको पुतलीबजार–६ टक्सार जोडेको छ ।

सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जादेखी पोखराको दुरी ३४ किलोमिटर पर्ने बताउदै गिरीले पुनः भने, ‘पुल निर्माण भएपछि पौवैगौडेका बासिन्दालाई पोखरा र पोखरेलीलाई पुतलीबजारसम्म पुग्न सहज हुन्छ । दुरीको हिसावमा १० किलोमिटर कम पर्न जान्छ । जसले स्थानीय उत्पादनलाई सहजै पोखरा पुर्‍याउन मद्दत पुग्छ ।’ कास्की र स्याङ्जाका गरी ४ वटा वडाका करीब १० हजार जनसंख्या यसपुलबाट लाभान्वित हुने गिरीले बताए ।


मन्त्रालयले कास्की र स्याङ्जा जोड्ने विभिन्न स्थानमा १९ वटा पुल निर्माण गरिरहेको छ । चालु आर्थिक वर्षमा कास्की र स्याङ्जामा ३२ वटा पुल निर्माण सुरु गर्ने योजना रहेको मन्त्री बस्नेतले बताए । उनका अनुसार ७ वटा पुल निर्माणका लागि टेन्डर भइसकेको छ । ३ वटा निर्माणधीन छन् भने २ वटा टेण्डरमा जाँदै छन् । बाँकी पनि यसै वर्ष थाल्ने योजनामा मन्त्रालय छ । भौतिक पूर्वाधार मन्त्रालयले प्रदेशमा पुल निर्माणका लागि यो आर्थिक वर्षका लागि ७५ करोड रुपैयाँ विनियोजन गरेको जनाएको छ ।

प्रकाशित : चैत्र १५, २०७५ १३:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?