अघि बढेन नमूना सहर योजना

प्रकाश बराल

बागलुङ — मध्यपहाडी लोकमार्गका १० सहरलाई व्यवस्थित र नमुना बनाउने सरकारी योजना बुर्तिबाङमा अस्तव्यस्त भएको छ  । केन्द्रीय बजेट र कार्यक्रममार्फत सञ्चालित नमुना सहरी आयोजनाले चालु वर्ष कुनै काम गरेको छैन  ।

अघि बढेन नमूना सहर योजना

(बागलुङ) : मध्यपहाडी लोकमार्गका १० सहरलाई व्यवस्थित र नमुना बनाउने सरकारी योजना बुर्तिबाङमा अस्तव्यस्त भएको छ । केन्द्र्रीय बजेट र कार्यक्रममार्फत सञ्चालित नमुना सहरी आयोजनाले चालु वर्ष कुनै काम गरेको छैन ।
क्षेत्राधिकारबारे पटक–पटक विवाद आउँदा नगरपालिकासँगको दूरीसमेत बढेको छ । नगरभित्रको ढल निकास र सडक चाक्लो बनाउन, व्यवस्थित बसपार्कजस्ता काम अलपत्र परेपछि सम्बन्धसमेत चिसिएको हो । डीपीआर बनाएको दुई वर्षमा पनि कामले गति नलिएपछि नगरप्रमुख रुष्ट छन् । ‘हामीले गर्न नपाउने, उनीहरू काम नगर्ने, जनताले सास्ती खेपेका छन्’ ढोरपाटन नगरप्रमुख देवकुमार नेपालीले भने, ‘हिलो, धूलो र अस्तव्यस्त नगर बनाएर छाड्ने प्रवृत्ति राम्रो भएन ।’ आयोजनाले हात झिक्ने हो भने आफैं डीपीआर बनाएर लगानी गर्ने उनले बताए ।
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमार्फत व्यवस्थित र स्मार्ट सिटी बनाउने अभियान पाँच वर्षअघि नै सुरु भएको हो । त्यसका लागि साना सहरी आयोजनाका लागि सहरी विकास तथा भवन कार्यालयमार्फत झन्डै २० अर्बको बजेट खर्चने योजना छ । कम्तीमा १ लाख जनसंख्यालाई व्यवस्थित सहरमा राख्ने लक्ष्यसमेत छ । तर हालको ३० हजार जनसंख्या रहेको नगरलाई समेत कसरी व्यवस्थित बनाउने भन्ने तयारी नभएको नेपालीले टिप्पणी गरे । मुख्य बजारभित्र खाल्डाखुल्डी, फोहोर पानी सडकमै बग्ने र फोहोरमैला बढी देखिन्छ ।
सडक, खानेपानी, विद्युत्, उद्योग, व्यवसाय स्थापना र सञ्चालन गर्ने आयोजनाको लक्ष्य हो । २०८० सालसम्ममा यो सहर व्यवस्थित र स्मार्ट सिटी बन्नुपर्ने सरकारी लक्ष्य भेट्न कामै नभएको स्थानीयको पनि गुनासो छ । हालको बसपार्क अतिक्रमणमा परेपछि छुट्टै स्थान खोजेर सार्ने तयारी पनि पूरा भएको छैन । ‘हामीले केही जग्गा व्यस्थापन गरिसकेका छौं, थप्ने प्रयासमा छौं,’ आयोजनाका प्रमुख आशिष अधिकारीले भने, ‘उपभोक्तामार्फत गर्ने काम होइन, ठेक्का लगाउने प्रक्रियाले ढिलाइ भएको हो ।’ चालु वर्षका लागि २५ करोड रुपैयाँको पूर्वाधार काम गर्न ठेक्का प्रक्रिया सुरु भएको उनले बताए । ‘धेरै काम छ, असारसम्म प्रक्रया टुंगो लागेपछि मात्र काम देखिन्छ’ उनले भने, ‘नगरभित्रको ढल व्यवस्थापन र सरसफाइमा भने मिलेर काम गर्नुपर्नेछ ।’ तत्कालको आवश्यकतामा नगरपालिकाले र दीर्घकालीन योजना आयोजनाबाट गर्ने उनले बताए ।
आयोजनाले गर्ने भनेको मुख्य सडकहरूको सुधार कार्यक्रम पनि अगाडि बढ्न सकेको छैन । निसीभुजी क्याम्पसदेखि भवरेटा, छरछरे जाने सडक, भवरेटादेखि बिसमोर जाने सडक स्तरोन्नति गर्ने योजना अहिलेसम्म सुरु नभएको हो । टारी–कुतथाप्ला सडक पनि आयोजनाबाट गर्ने भनिए पनि काम नभएपछि यात्रीले सास्ती खेपेका छन् । ती सडक समयमा मर्मत नगरे वर्षातमा बजार क्षेत्रमा पहिरो खस्ने खतरा बढी छ । गत वर्ष खसेको पहिरोले यहाँका दर्जन घर पुरिएका थिए । आयोजनाले गर्ने भनिएको खानेपानी आयोजनासमेत सुरु नभएपछि नगरपालिकाले दुई करोडको आयोजनाको तयारी गरेको छ । हुन्द्रफेंदीदेखि ल्याएर पानी खुवाउने योजनाअनुसार प्रारम्भिक चरणको काम थालिएको प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले बताए । ‘प्रदेश सरकारको साझेदारीमा योजना निर्माणको काम थालिएको हो’ पोखरेलले भने, ‘तत्कालका लागि डेढ करोड खर्च गर्ने र आगामी वर्ष थप ५० लाख खर्चेर बजारवासीलाई स्वच्छ पानी खुवाउने योजना छ ।’ छरछरे र चिप्लेटीबाट ल्याएको खानेपानीले थेग्न नसकेपछि नगरपालिकाले योजना थपेको हो ।
अधिकारीले भवरेटा सडकमा कल्भर्ट निर्माणको काम वर्षातअघि नै गर्ने बताए । अन्य पूर्वाधारका लागि भने केही वर्ष लाग्ने उनको भनाइ छ । आयोजनाबाट ढिलइ हुने भएपछि नगरपालिकाले यहाँको प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालको रूपमा विकास गर्ने पहल थालेको छ । बजेटसमेत विनियोजन गरेर अपरेसनसहितका सेवा विस्तार गर्न स्वास्थ्यकर्मी खटाएको उनले बताए ।
बडिगाड खोलाले बजारको पश्चिम दक्षिण क्षेक्रमा धेरै कटान गरेको छ । वर्षातमा यो त्रम अझै बढ्ने खतरा छ । आयोजनाले पक्की तटबन्ध, व्यवस्थित ढल निकास र सरसफाइका कार्यक्रम गर्नुपर्नेमा काम अलपत्र पारेको नेपालीले आरोप लगाए । आयोजनामार्फत १ हजार रोपनी जमिन खरिद गर्ने, त्यहाँ व्यवस्थित बस्ती विकासको नमूना र काम गर्ने योजना अझै पूरा नभएको हो । अहिलेसम्म १ सय रोपनी जमिन मात्र खरिद गरेको अधिकारीले बताए । ‘आयोजनाले सूचना प्रकाशित गरेर घरटहरा भत्काउने योजना बनाएका थियौं तर पक्की घर बनाइसकेकालाई हटाउने काम
जटिल भयो’ अधिकारीले भने, ‘स्थानीयको सहकार्यले मात्र यो काम सम्भव छ ।’ नगरपालिका र परियोजनाको क्षेत्राधिकार विवादले काममा ढिलाइ भएको उनले स्वीकारे । नगर प्रमुख नेपालीले भने सहकार्य गर्दा ४ महिनामा सकिने काम वर्षौंदेखि अलपत्र भएको आरोप लगाए । ‘बजार क्षेत्रमा ढल निकास र कालोपत्रे पहिलो चरणमा गर्न दबाब दिएको छु’ नेपालीले भने, ‘कामको बहानामा मन्त्रालय धाउने प्रवृत्ति बढी छ ।’ बजारको आकर्षण दिन नसक्दा गरेका धेरै काम ओझेलमा परेको उनले गुनासो गरे ।
यसअघि नै साँघुरा सडक बनेकाले एकैपटक चाहेजस्तो काम गर्न नसकेको स्थानीय मेषलाल शर्माले बताए । नगरपालिकाले भवन निर्माण संहिता र सडक मापदण्ड समयमा नल्याएकाले कतिपय काम ढिलाई भएको उनले टिप्प्णी गरे । शर्मा नगरविकास समितिका पूर्वअध्यक्ष हुन् । मध्यपहाडी लोकमार्ग आयोजनाले भने सदरमुकामदेखि ९३ किमि पश्चिमको बुर्तिबाङ बजारसम्मको अधिकांश सडक स्तरोन्नति गरिसकेको छ । धेरै स्थानमा कालोपत्रेसमेत भएकाले दस घण्टा लाग्ने सडक चार घण्टामा छोट्टिएको छ ।

प्रकाशित : चैत्र १५, २०७५ १३:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?