२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

हलगोरु नपाउँदा हैरानी

गोरु पाल्ने घट्नु र युवा जोत्न मन नगर्ने भएकाले बाँझो फोर्न हलगोरु पाउन समस्या
विना थापा

कास्की — बजार क्षेत्रमा हाते ट्र्याक्टरको उपयोग सुरु भएको छ । ट्र्याक्टर डाँडाका जग्गामा उक्लिसकेका छैनन् । बाँझो चिर्नका लागि अझै भर हलगोरुकै छ । आवश्यक पर्दा उतिखेरै पाइने हलगोरु हिजोआज सजिलै पाइँदैन । 

हलगोरु नपाउँदा हैरानी

‘अहिले एक महिनाअघिदेखि कुरा पक्का गरी राख्नुपर्छ,’ पोखरा काहुँका कृषक ४८ वर्षीय भक्तबहादुर थापाले भने, ‘जसले पहिला भन्यो, म त त्यसैकोमा जोत्न जान्छु, यो महिनाभरि प्याक छु ।’ गोरु पाल्ने घट्नु र युवाहरू जोत्न मन नगर्ने भएकाले यतिबेला बाँझो फोर्न चाहनेका लागि हैरानी रहेको उनले बताए ।


‘काहुँ एरियामा गाउँभरि जम्मा १५ घरमा मात्रै गोरु छन् । कसरी भनेको बेला गोरु पाउनु ?,’ उनले भने, ‘अनि महिलाले जोत्नु हुँदैन भनेर हलो छुने कोही छैनन् । बूढाखाडाले कहिलेसम्म थाम्ने ? मकै छर्नुअघि सबैलाई बाँझो फुटाउन धमाधम छ ।’ धेरै दूधका लागि उन्नत नश्लका पशुपालन गर्न अघि सरेका किसानले आफ्ना गोठका होलस्टेन र जर्सी गाईका बाछा घाँस खाने भएपछि टाढा कतै लगेर छाड्ने चलन छ । विकासे जातका बहरको जुरो नहुने भएकाले जोत्न योग्य मानिँदैन ।


‘म त १५ वर्षको उमेरदेखि हलगोरु नारेर बूढो भइसकें,’ थापाले भने, ‘अब खेतीपाती गर्ने ठाउँमा घर फलेको फलेकै छन् । गोरु खोज्ने दिन अब धेरै छैन जस्तो लाग्छ ।’ दिनभर जोतेको २५ सय लिँदै आएका उनी खेतीपातीका बेला मात्रै पाइने काम पनि सबैले भनेकै समयमा गर्न नभ्याइने बताउँछन् । ‘हामीले एक महिनाअघि भनेकाले ठिक्क समयमा मकै छर्न पायौं,’ काहुँडाँडाकी भवानी बस्नेत भन्छिन्, ‘कतिपयले गोरु नपाएर अलि पछि मकै छर्नुपर्ने अवस्था छ ।’


डाँडाको जग्गामा ट्र्याक्टर पुग्ने भए पनि कुना–कुनामा हलगोरुले जस्तो नजोत्ने उनले बताइन् । ‘गोरुले जोत्दा सियोमा मिलाएर मकै गेडा खसाल्न पाइन्छ,’ उनी भन्छिन्, ‘त्यही भएर पनि सानो बारीका लागि धेरैजसोले गोरु नै खोज्छन्, चाहिएका बेला झट्ट पाउन गाह्रो हुन्छ ।’ यतिबेला किसान खेतबारी जोतेर मकै छर्न थालेका छन् ।


जोत्न गोरु नपाएर हैरानी खेप्नुपरेको स्थानीय शान्ति भुजेलले बताइन् । ‘भन्न त पहिले भनेकी हुँ तर मैलेभन्दा पहिले अरूले भनिसकेका रहेछन्,’ उनले भनिन्, ‘गोरु नपाउनाले मकै पछौटे हुने भो ।’ वडाध्यक्ष मोहनकुमार बास्तोलाका अनुसार काहुँ क्षेत्रका गाउँमा ६ सय १० घरधुरी छन् । अधिकांशले खेत जोत्न हलगोरु नै लगाउँदै आएका छन् ।

प्रकाशित : चैत्र १६, २०७५ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?