गणित विषयमा त्रुटि नै त्रुटि
पोखरा — एसईई अन्तर्गत गण्डकी प्रदेशमा अनिवार्य गणित विषयमा थुप्रै त्रुटि रहेको पाइएको छ । गणित शिक्षा परिषद् कास्कीले प्रश्नपत्रमा ८ वटा त्रुटि रहेको भन्दै यसले परीक्षार्थीको मानसिक स्वास्थ्यमा असर गरेको जनाएको छ । गणित विषयको परीक्षा गत बुधवार भएको थियो ।
परिषद्का अनुसार पहिलो प्रश्नमै नेपालीलाई अङ्ग्रेजीमा उल्था गर्दा त्रुटि भएको छ । नेपालीमा वार्षिक जनसङ्ख्या वृद्धिदर ५ प्रतिशत भनिएकोमा अङ्ग्रेजीमा भने वार्षिक शब्द छुटेको छ ।
त्यसै गरी अंकन गरिएको भुजाको लम्बाइ र देखाउन खोजिएको अङ्क लगायत त्रुटि भएको परिषद्का कास्की अध्यक्ष वेदप्रसाद शर्माले बताए । उनका अनुसार प्रस्ट अर्थ दिने नभई दोहोरो अर्थ दिने भाषा प्रयोग गरिएको, आयातको क्षेत्रफल १४४० वर्गमिटर र परिमिति ७० मिटर दिएर समस्यालाई समाधान गर्न नसकिने गरी गल्ती अङ्क राखिएको छ । साथै धेरै उत्तर आउने खालको रहेको र फेरी वर्ग बनाउन भनिसकेपछि किन ? भनेर औचित्यहीन प्रश्न गाँसिएको शर्माले बताए ।
यस्तो त्रुटिपूर्ण प्रश्नपत्रका कारण विद्यार्थीले गुमाउन पुगेको अङ्क पुनः प्राप्त गर्नसक्ने खालको अंकन योजना बनाइ उत्तरपुस्तिका परीक्षणको परिषद्ले माग गरेको छ । आगामी दिनमा यस्ता गल्ती नदोहार्याउन, त्रुटि गर्नेलाई कारबाहीको समेत माग गरिएको छ ।
‘यस्तो त्रुटिले परीक्षाको वैधता र विश्वसनीयता समाप्त हुने र परीक्षार्थीको मानसिक स्वास्थ्यमा समेत प्रतिकूल असर पर्नेतर्फ सम्बन्धित पक्षले ध्यान पुर्याएको देखिएन’ राष्ट्रिय परीक्षा बोर्ड, पोखरा कार्यालयलाई लेखिएको ध्यानाकर्षण पत्रमा भनिएको छ ।
गणित शिषा परिषद् कास्कीले एसईई अन्तर्गत गण्डकी प्रदेशमा अनिवार्य गणित विषयमा फेला पारेको त्रुटि ।
परिषद्ले शनिवार तयार गरेको पत्र आइतबार मात्रै बोर्डमा बुझाउने छ । पत्रमा शिक्षा विकास तथा समन्वय कार्यालय कास्की, सामाजिक विकास मन्त्रालय गण्डकी र पोखरा महानगरपालिका शिक्षा विभागलाई बोधार्थ दिइएको छ ।
प्रकाशित : चैत्र १६, २०७५ १७:१३