हेमजाको पहिचान आलु गाउँ

बीउ र मजदुरको अभाव, सीप र प्रविधिको कमी, रोग र कमिलाको प्रकोप आलु उत्पादका मुख्य समस्या । कृषियोग्य जमिनमा घर बन्ने क्रमले उत्पादनमा ह्रास । राष्ट्रिय उत्पादन आँकडा प्रतिहेक्टर १३.८९ मेट्रिक टन भए पनि हेमजामा प्रतिहेक्टर २० टन उत्पादन ।
दीपक परियार

लेखनाथ — पोखरेली जेठोबूढो, जुम्लाको मार्सी, मार्फाको स्याउ, पाल्पाली ढाका, भोजपुरे खुकुरी आधुनिक ‘प्याकेजिङ’ नभएकै जमानामा ‘ब्रान्ड’ बनेका उत्पादन हुन् यी  । खुला बिक्री भएर पनि ब्रान्ड बनिरहेको अर्को उत्पादन हो, हेमजाको आलु  ।

हेमजाको पहिचान आलु गाउँ

पोखराबाट भूपि शेरचन राजमार्ग हुँदै पश्चिम लागे हेमजा पुगिन्छ । सडकका दायाँ–बायाँ लमतन्न खेतबारीमा मौसमैपिच्छेका खेती देखिन्छन् । यतिखेर आलुको सिजन छ । आलुको स्वाद भेउ पाउनेले अचेल भरसक हेमजाकै आलु खोज्छन् । सिजनमा छ्यापछ्याप्ती पाइए पनि अरू बेला भेट्न मुस्किल पर्छ । आलु उत्पादनमा ख्याति कमाएको हेमजाले ‘आलु गाउँ’ को पहिचान बनाएको छ ।


हेमजामा कहिलेदेखि आलु खेती हुन थाल्यो भन्ने प्रमाणिक इतिहास छैन । स्थानीय किसान धर्मराज बास्तोला मुस्ताङको लेतेबाट बर्खे सेतो आलु भित्रिएको सम्झन्छन् । उनका अनुसार घान्द्रुक र छोम्रोङको लेकबाट समेत त्यतिखेर बीउ ल्याइन्थ्यो । तीन दशकअघिबाट आलु खेतीले विस्तारै आकार लिँदै गयो । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले त्यतिबेला लुम्लेमा क्षेत्रीय कृषि अनुसन्धान केन्द्र खोलिसकेको थियो । मलिलो फाँटमा केन्द्रले दुई दशकअघि आफ्नो बाह्य अनुसन्धानस्थल स्थापना गर्‍यो । त्यसपछि बल्ल आलु खेतीमा व्यावसायिकता बढ्यो । अनुसन्धान केन्द्रले नै हेमजालाई आलु गाउँका रूपमा परिचित बनायो ।


हेमजाको अधिकांश फाँट अन्नपूर्ण नहरले सिँचेको छ । पोखरालाई चाहिने तरकारीको २५ प्रतिशत यहींबाट पूर्ति हुन्छ । आर्थिक वर्ष ०७३/७४ देखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन इकाइअन्तर्गत तरकारी सुपरजोन कार्यक्रम लागू भएको छ । नार्कअन्तर्गत स्थापित अनुसन्धान केन्द्रले वर्षौंदेखि आफ्नो बाली अनुसन्धान स्थलमार्फत आलु, ताजा तरकारीलगायत विभिन्न बालीमा अध्ययन अनुसन्धान गरी प्रविधि विस्तार तथा विकास गरेको छ ।


सरकारी तथ्यांकअनुसार आव ०७३/७४ मा नेपालभर १ लाख ९५ हजार २ सय ६८ हेक्टर क्षेत्रफलमा आलु खेती भएको छ । जसमा उत्पादन २७ लाख ३० हजार २ सय ९४ मेट्रिक टन छ । उक्त आँकडाले राष्ट्रिय उत्पादकत्व १३.८९ मेट्रिक टन प्रतिहेक्टर देखिन्छ । कास्कीको उत्पादकत्व १२.४ मेट्रिक टन प्रतिहेक्टर छ । तर, हेमजाको उत्पादकत्व भने राष्ट्रिय र जिल्लास्तरको भन्दा धेरै छ । हेमजामा ४ सय २५ हेक्टरमा हुने आलु खेतीको उत्पादकत्व झन्डै २० टन प्रतिहेक्टर छ । आलुमा मात्रै वार्षिक २० करोड रुपैयाँको कारोबार हुन्छ । अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत चन्द्रकान्त तिमिल्सिना उक्त उत्पादनमा सन्तोष मान्नुपर्ने अवस्था नभएको बताउँछन् । भन्छन्, ‘गुणस्तरीय बीउ, सिँचाइ, उचित मलखाद र अन्य आवश्यक प्रविधिको व्यवस्था गर्न सके २५–३० टन सजिलै उत्पादन हुन्छ ।’


हेमजामा उत्पादितमध्ये पोखरेलीले अत्यधिक मन पराउने आलुको जात हो, एमएस ४२ । तर उक्त जात सरकारबाट अनुमोदन भइसकेको छैन । त्यसबाहेक कुफ्रज्योति, खुमल लक्ष्मी, जनकदेव, खसमल सेतो र डेजिरे जाति किसानले लगाउँछन् । गण्डकी प्रदेशअन्तर्गत कृषि विकास निर्देशनालयका वरिष्ठ कृषि अधिकृत श्यामप्रसाद रिजाल प्रक्रिया नपुगे पनि अनुसन्धान गरिरहेको बीउ सिफारिस गर्नुपर्ने बाध्यता भएको बताउँछन् । ‘एउटा जातको बीउ सिफारिस हुन लामो समय लाग्छ,’ उनी भन्छन्, ‘बीउको अभाव हुने भएकाले एमएस ४२ अनुमोदनको क्रममा भए पनि सबैको सल्लाहमा सिफारिस गरेका हौं ।’


अनुमोदन कुरेर बस्दा विदेशी बीउमा भर पर्नुपर्ने समस्या ऊनी देख्छन् । हेमजामा हाल राष्ट्रिय आलुबाली विकास कार्यक्रम र राष्ट्रिय आलुबाली अनुसन्धान कायत्रमसँग समन्वय गरी पूर्वमूल बीउबाट विभिन्न पुस्ताको बीउ उत्पादन भइरहेको छ । यसको अगुवाइ हेमजाकै बहुउद्देश्यीय किसान सहकारी संस्था र देवीस्थान कृषि सहकारी संस्थाले गरेका छन् । पूर्वमूल बीउबाट विभिन्न पुस्ताको बीउ लुम्ले कृषि अनुसन्धान केन्द्रले उपलब्ध गराउँछ । त्यसो त आलुबाटै हेमजा चिनिए पनि यसको खास ‘ब्रान्डिङ’ हुन सकेको छैन । वरिष्ठ कृषि अधिकृत रिजाल ब्रान्डिङका लागि खुला बिक्री नगरी प्याकेजिङ गर्नुपर्ने तर्क राख्छन् । ‘पोखरादेखि काठमाडौंसम्म जुन पायो त्यही आलुलाई ‘हेमजाको आलु’ ट्याग लगाएर बेच्नेको कमी छैन,’ उनी भन्छन्, ‘यसलाई रोकिएन भने हेमजाकै आलुले बदनामी कमाउने सम्भावना हुन्छ ।’


आलुको प्रवर्द्धनमा एक दशकदेखि हेमजाका किसान कस्सिएका छन् । त्यसैको एउटा माध्यम बनेको छ, आलु महोत्सव । बहुउद्देश्यीय किसान सहकारी संस्थाले २०६६ फागुन १ मा एक दिने आलु महोत्सव गर्‍यो । दोस्रो वर्ष तत्कालीन हेमजा गाविसले आयोजना गर्‍यो । त्यसपछि भने स्थानीय विष्णुपादुका क्लबले आलु महोत्सव गर्दै आएको छ । यसवर्ष महोत्सवको दसौं संस्करण चैत २२ देखि २०७६ वैशाख १ सम्म हुँदै छ । अगुवा किसान धर्मराज बास्तोला महोत्सवले आलुको बजारीकरणमा सहयोग पुगेको बताउँछन् । ‘हेमजाको आलु भनेर राष्ट्रियरूपमै चिनाउन महोत्सवले सघाएको छ,’ उनी भन्छन्, ‘यसले किसानलाई उत्साहित बनाएको छ ।’ फ्राविधिक र किसानबीच अन्तरक्रिया हुँदा खेतीका त्रममा आइपर्ने समस्या समाधानमा सजिलो भएको उनको अनुभव छ । त्यसो त वर्षैभरि आलु सुरक्षित राख्न हेमजामा कोल्ड स्टोर छैन । कोल्ड स्टोर बनाउन पहल नभएको पनि होइन । तत्कालीन हेमजा गाविसले कोल्ड स्टोर बनाउन १३ रोपनी जमिन छुट्याएको थियो । कोल्ड स्टोर बनाउन निजी क्षेत्रलाई दिने भनियो । जग्गा हस्तान्तरणमा समस्या उत्पन्न भएपछि कोल्ड स्टोर बनेन ।


विष्णुपादुका क्लबका अध्यक्ष कृष्णबहादुर खडका कोल्ड स्टोर बनाउन पहल गर्नु महोत्सवको उद्देश्य भएको बताउँछन् । ‘कोल्ड स्टोर बनेपछि उत्पादित आलुको भण्डारमा सहज पहुँच हुन्छ,’ उनी भन्छन्, ‘यसले किसानमा उत्पादकत्व अझैं वृद्धि गर्न हौसला मिल्छ ।’ आयोजकले महोत्सवस्थलबाट ३२ रुपैयाँ प्रतिकिलोमा आलु किन्न पाइने व्यवस्था गरेको छ ।


हेमजाको आलु खेतीमा समस्या नभएको होइन । शुद्ध बीउको अभाव छ । मजदुरको अभाव छ । बेलाबेलामा डढुवा रोग र रातो कमिलाको प्रकोप देखिन्छ । सीप र प्राविधिक ज्ञानको कमी छ । त्योभन्दा धेरै चिन्ता खेतीयोग्य जमिन मासिँदै गएकोमा लिनुपर्ने बताउँछन्, क्लबका महासचिव वसन्तकुमार श्रेष्ठ । भन्छन्, ‘सहरीकरण यति तीव्र भएको छ कि भविष्यमा आलु होइन, घर फल्ने ठाउँको रूपमा चिनिने खतरा छ ।’

प्रकाशित : चैत्र २०, २०७५ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?