कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

अझै चल्दैछ भूकम्पपछिको प्राविधिक सर्वेक्षण

प्रतीक्षा काफ्ले

(स्याङ्जा) — विनाशकारी महाभूकम्प गएको चार वर्ष पुग्नै लाग्दा प्राविधिक सर्वेक्षण अझै जारी छ  । पुनर्निर्माण प्राधिकरणले छुट तथा पुनः जाँच सर्वेक्षण गर्न खटाएका प्राविधिक यतिबेला पीडितका बस्तीमा पुनः पुगेका छन्  ।

प्राधिकरणको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारतर्फको जिल्ला आयोजना कार्यान्वयन इकाइका अनुसार जिल्लाका ११ वटै स्थानीय तहमा प्राविधिक खटाइएको छ । तालिम दिएर प्राविधिकलाई सर्वेक्षणमा खटाइएको इकाइ प्रमुख प्रवीण ढकालले बताए । पुनर्निर्माणमा खटिएका प्राविधिकले तोकिएबमोजिम सेवा, सुविधा नपाएको भन्दै बीचको समयमा काम छाडेका थिए । प्राविधिकले काम छाडेपछि भूकम्पपीडितले पाउने अनुदान वितरणमा समेत समस्या भएको ढकालले बताए । ढकालका अनुसार प्राविधिकका माग सम्बोधन गरेपछि पुनः अन्तिम पटक फिल्डमा खटाइएको हो । अबको सर्वेक्षणमा छुट भएमा सम्बोधन गर्न नसकिने बताउँदै ढकालले वास्तविक पीडित पहिचान गरी सम्बोधन गनिने बताए ।

‘नक्कली पीडित बढी समेटिएका छन्’ उनले भने, ‘वास्तविक पीडित छुटेका छन् । यिनीहरूलाई पहिचान गरी केन्द्रमा सिफारिस गर्नेछौं । विदेशी डोनरहरूको पनि यो अन्तिम फोकस हो । सरकारले समेत प्राविधिक अन्तिमपल्ट भनेर सेवा–सुविधासहित पालिकामा खटाएको हो ।’ प्राविधिकलाई दैनिक ९ सय रुपैयाँ भत्ता दिइएको छ । दिनमा ८ वटा घर अनिवार्य सर्वे गर्नुपर्ने हुन्छ । वडाध्यक्ष र वडासचिवसँग सहकार्य गरी प्राविधिकले पीडितको पहिचान गर्नेछन् । पुनर्निर्माण प्राधिकरणले देशभर चैत १५ देखि २०७६ वैशाख मसान्तसम्म सर्वेक्षण र लगत संकलन सक्ने तयारी गरेको थियो । समन्वय इकाइले १८ र १९ गते दुई दिन तालिम दिएको छ । तालिमपछि प्राविधिक आफ्नो सरसामान लिएर पालिका खटिने इकाइले बताएको छ । प्राविधिककै कारण छुट तथा पुनः जाँच सर्वेक्षण पटक–पटक प्रभावित भएको छ । भूकम्पपीडित भए पनि लाभग्राही सूचीमा नाम समावेश नभएको भन्दै गुनासो गर्नेको संख्या बढेपछि अन्तिम पटक पुनः सर्वेक्षण गर्न लागिएको हो । इकाइले १५ जना प्राविधिकलाई तालिम दिएको थियो । तालिममा चापाकोट नगरपालिकामा कार्यरत प्राविधिकको भने सहभागिता थिएन ।

स्याङ्जामा ५ हजारजनाले गुनासो फारम भरेका छन् भने ५ सय बढ्न सक्ने प्राधिकरण इकाइ कार्यालयले बताएको छ । कार्यालयका अनुसार सर्वेक्षण भएर पनि लाभग्राहीको सूचीमा पर्न नसकेका र क्षति भएर वा चर्किएर कसैले संरक्षण नगरेकाहरूको गुनासो दर्ता भएको छ । अबको सर्वेक्षणमा प्राविधिक सुवासचन्द्र पौडेलले कोही नदोहोरिने र छुट नहुने बताए । स्याङ्जामा पुनर्निर्माण लाभग्राहीमा पर्नेको संख्या ८ हजार ७ सय ६६ र प्रवलीकरण लाभग्राहीको संख्या ५ सय ६७ गरी जम्मा लाभग्राही ९ हजार ३ सय ३३ रहेका छन् ।

यसैगरी पुनर्निर्माणमा परेका ८ हजार ४ सय १२ जनाले पहिलो किस्ताबापट रकम लगिसेका छन् । भने, ३ सय ५४ जना बाँकी छन् । यसैगरी प्रवलीकरणमा परेका ५ सय १ जनाले पहिलो रकम लगेका छन् भने ६६ जना बाँकी छन् । कार्यालयका अनुसार पुनर्निर्माणका लागि दोस्रो किस्ता लैजाने लाभग्राहीको संख्या ३ हजार १३ छ भने तेस्रो किस्ता लैजाने २ सय ९० जना रहेका छन् । यसरी नै प्रवलीकरणको सूचीमा रहेकाले दोस्रो र तेस्रो किस्ता नलगेको ढकालले जानकारी दिए । दर्ता भएका गुनासा फारममध्ये १ सय ८२ जनाका गुनासा फर्स्योट भइसकेको कार्यालयले जनाएको छ ।

चारजनाले फर्काए रकम
आँधीखोला गाउँपालिका–५ का दुर्गादेवी पौडेलको नाम भूकम्पपीडित लाभग्राहीको सूचीमा समेटिएको छ । पूर्णरूपमा घर भत्किएका उनी रातो कार्डधारी व्यक्ति हुन् । सरकारले भूकम्पपीडितलाई उपलब्ध गराएको ३ लाख रुपैयाँ प्राप्त गर्नेमध्ये परेका उनले पहिलो किस्ताबापत ५० हजार रुपैयाँ लगेका थिए । अन्यत्र पनि घरवास भएको र गाउँमा भत्किएको घर त्यति आवश्यक नठहरिए तापनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन इकाइबाट रकम लगेका उनले उक्त रकम फिर्ता गरेका छन् ।

उनीसँगै सोही ठाउँका कृष्णप्रसाद पौडेल पनि रातो कार्डधारी भूकम्पपीडित हुन् । उनी पनि ३ लाख रुपैयाँ पाउनयोग्य पीडित भएका कारण पहिलो किस्तास्वरूप ५० हजार रुपैयाँ लगेका थिए । इकाइ प्रमुख प्रवीण ढकालले घर बनाउनका लागि लगेको पहिलो किस्ताको रकम फिर्ता गराएको जानकारी दिए । उनका अनुसार जिल्लाभर पुनर्निर्माण लाभग्राहीको सूचीमा नाम समेटिएकामध्ये चारजनाले मात्र पहिलो किस्ताबापतको ५० हजार रुपैयाँ फिर्ता गराएका छन् ।

प्रकाशित : चैत्र २३, २०७५ १३:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?