लिपि सिक्दै गुरुङ समुदाय

बिना थापा

कास्की — ठूलो स्वरले बोलेमात्रै सुन्छन्, आँखा कमजोर भएका छन् । तर, पनि आफ्नो भाषाको लिपि सिक्ने रहर देख्दा लाग्छ, उनमा युवा जोस र जाँगर छ । तमु ह्युल छोंजधी गुरुङ राष्ट्रिय परिषद् गण्डकी प्रदेशको आयोजनामा पोखरामा भएको दुईदिने खेमा (लिपि) प्रशिक्षणमा भेटिएका म्याग्दी दरबाङका ८२ वर्षीय भक्तबहादुर गुरुङको जाँगर रहरलाग्दो छ । 

लिपि सिक्दै गुरुङ समुदाय

‘पहिले पहिले हाम्रो भाषाको लिपि हुन्छ/हुँदैन होला भन्ने लाग्थ्यो तर, लिपि बनेको सुनेपछि सजिलो/गाह्रो कस्तो होलाजस्तो लागेको थियो,’ उनले भने, ‘सिक्ने अवसर मिलेको छ । खुसी छु ।’ भाषा जान्नेले लिपि सिके धेरै सजिलो हुने अनुभव भएको उनले बताए । ‘अहिलेका युवा पुस्ताले सिक्नुपर्छ,’ उनले भने, ‘उनीहरूले सिके भने भाषा र लिपिको आयु बढ्छ ।’


कान र आँखाको राम्रो भर नभए पनि आफू रहरले सिक्न आएको उनले बताए । सिकेका कुरा ६/७ जनालाई भए पनि सिकाउन सकियो भने संख्या बढ्दै धेरै जना जानकार हुने उनको भनाइ छ । ‘मलाई बोल्न आउँदैन, अब नामचाहिं गुरुङ लिपिमा लेख्न सिकियो,’ तनहुँको म्याग्देकी दीपा गुरुङले भनिन्, ‘पहिला भाषा सिक्ने, जानेपछि मात्रै लिपि लेख्ने तालिम लिन पाए राम्रो हुने बुझेँ ।’


लिपि सिकाउने तालिम एकमहिने हुनुपर्ने उनले बताइन । कास्कीकी खिमा गुरुङ जातजातिको भाषा र लिपि प्रवर्द्धनका लागि तीनै तहका सरकारले चासो लिनुपर्ने बताउँछिन् । ‘भाषा संरक्षण गर्नका लागि लिपि सिकाइनुपर्छ,’ उनी भन्छिन्, ‘यो कुनै संस्थाको बलमा मात्रै गर्न गाह्रो छ ।’ हालसम्म भइरहेका प्रयास समुदायको मात्रै रहेकाले सरकारहरूले सघाउने कार्यक्रम ल्याउनुपर्ने उनले बताइन् ।


शनिबार सम्पन्न दुईदिने तालिममा विभिन्न जिल्लाबाट सहभागी भएकाहरूमध्ये थोरैले लिपिको ज्ञान अरूलाई पनि दिन सक्ने भएको बताएका छन् । ‘पहिलो पटक गाह्रो भएको थियो, यो पटक सजिलो लाग्यो,’ छोंज धीं स्याङ्जाका अध्यक्ष रवि गुरुङले भने, ‘म अब गुरुङ लिपि अरूलाई पनि सिकाउन सक्छु ।’


कुनै पनि तालिममा सिकेका कुरा अरूलाई सिकाउने गरे आफैंलाई लाभ हुने तमु भाषा तथा खेमा (लिपि) का अभियन्तासमेत रहेका प्रशिक्षक भीम गुरुङले बताए । ‘लिपि भाषा विकासको आधार हो,’ उनले भने, ‘भाषालाई लिपिबद्ध गरायो भने दीर्घकालीन हुन्छ । त्यसैले प्रशिक्षणको अभियान चलाएका हौं ।’ उनका अनुसार तमू लिपिको अवधारणा २५ वर्षअघि आएको थियो ।


प्रदेशस्तरीय तालिममा ११ जिल्लाका ४० जनाको सहभागिता रहेको छोंज धी कास्की सचिव आशबहादुर गुरुङले बताए । दुईदिने तालिम शनिबार सम्पन्न भएको हो ।

प्रकाशित : चैत्र २४, २०७५ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?